आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसकी ज्याक माः तातयाना रुसकी दोस्रो महिला अर्बपती बनिन्, १५ वर्षअघि अंग्रेजी शिक्षिका थिइन्

सोमबार, १३ फागुन २०७५, ०८ : ४१
सोमबार, १३ फागुन २०७५

तातयाना बकलचुक (४३) रुसकी दोस्रो अर्बपती महिला बनेकी छिन् । उनी रुसको सबैभन्दा ठूलो अनलाइन रिटेल कम्पनी वाइल्डबेरिजकी संस्थापक र कार्यकारी अधिकारी हुन् ।

फोर्ब्सका अनुसार उनको कम्पनीको ‘भ्यालुएशन’ १ अर्ब डलर पुगेको छ । रुसकी सर्वाधिक धनाढ्य महिला एलेना बाटुरिना (५५) हुन् । उनको नेटवर्थ १.२ अर्ब डलर हुन् । एलेना मस्कोका पूर्व मेयरकी श्रीमती हुन् । उनको इन्भेस्टमेन्ट र रियल स्टेटको व्यापार छ ।

सात सय डलरमा व्यापार सुरु गरिन्, १५ वर्षमा अर्बपती बनिन्

बकदचुकले २८ वर्षको उमेरमा सन् २००४ मा आफ्नो फ्ल्याटबाट वाइल्डबेरिजको सुरुवात गरेकी थिइन् । त्यतिबेला उनी सुत्केरी बिदामा थिइन् । त्यतिबेला उनलाई महसुस भयो कि महिलालाई आफ्ना नवजात शिशुहरुका लागि कपडा खरिद गर्न कति गाह्रो हुन्छ । उनी यो समस्याको समाधान चाहन्थिन् । यसै सोचले उनलाई वाइल्डबेरिज सुरु गर्ने सोच बनाइन् ।

बकलचुकका श्रीमान् व्लादिस्लाव आइटी प्राविधिकको काम छोडेर श्रीमतीको व्यापारलाई साथ दिने निधो गरे । दुबैसँग करिब सात सय डलर थियो । सुरुवाती दिनमा ७० डलर प्रति दिनको हिसाबले विज्ञापनमा खर्च हुन्थ्यो ।

पहिलो कर्मचारीले पैसा चोरेका थिए तर संघर्ष जारी राखेः

बकलचुकले मद्दतका लागि काममा राखेका पहिलो कर्मचारीले पैसा चोरे । त्यो पैसा उनले उत्पादक कम्पनीलाई तिर्नलाई लागि राखेकी थिइन् । क्षतीको भरपाइका लागि बकलचुकले निकै संघर्ष गर्नु पर्यो तर ग्राहकबाट उनले लगातार विश्वास जितिरहिन् ।

सुरुवाती अवस्थामा अन्य कम्पनीबाट कपडा खरिद गरिन्, चार वर्षपछि सिधा डिलिङः

बकलचुकले सुरुवातमा जर्मनीको इ–कमर्स फर्म ओट्टोबाट कपडा खरिद गरिन् । ती खरिद गरेर अनलाइन बिक्रिका लागि राखिन् । उनी कुरियर र सरकारी पोस्टमार्फत अर्डर डिलिभर गर्थिन् । चार वर्षपछि उनले ओट्टोले सामान खरिद गर्नुको साटो सिधा ब्रान्डसँग डिलिङ सुरु गरिन् ।

रुसकी ज्याक माः

बकलचुकका चार सन्तान छन् । जेठो सन्तान जन्मेको एक महिनापछि उनले वाइल्डबेरिजको सुरुवात गरेकी थिइन् ।  यसअघि उनी अंग्रेजी शिक्षिका थिइन् । बच्चाको जन्मपछि पुनः शिक्षण पेशामा जान चाहन्थिन् । तर बच्चाको हेरबिचार गर्नलाई एकजना घरैमा हुनुपर्ने बाध्यता थियो । त्यसकारण पढाउनुको साटो वाइल्डबेरिजमा काम गर्न सुरु गरिन् । उनलाई रसकी ज्याक मा भनिन्छ ।

चीनका सर्वाधिक धनी ज्याक मा पनि सन् १९९९ मा ई–कमर्स कम्पनी अलिबाबाको सुरुवात गर्नुअघि अंग्रेजी शिक्षक थिए । यो वर्ष उनी रिटायर हुनेछन् । गत वर्ष उनले यसको अचानक घोषणा गरेका थिए । गत वर्ष उनले अलिबाबाको सिइओ हुनुभन्दा शिक्षक हुनु राम्रो भएको बताएका थिए । आफूले शिक्षकको भूमिका राम्रोसँग निभाउन सक्ने उनले बताएका थिए ।

सन् २०१८ मा हरेक दिन चार लाख अर्डर पूरा गरिन्, १.९ अर्ब डलरको आय

वाइल्डबेरिज आज १५ सय ब्रान्डको उत्पादन बेच्छ । यसमा कपडादेखि खेलौना, कस्मेटिक र घरेलु आवश्यकताका वस्तुहरु समावेश छन् । हरेक दिन २० लाखले वेबसाइट भिजिट गर्छन् । यसमा रुस, बेलारुस, कजाकिस्तान, अर्मेनिया र किर्गिस्तानका ग्राहक समावेश छन् । वाइल्डबेरिजले गत वर्ष हरेक दिन औसत ४ लाख अर्डर पूरा गरे । सन् २०१८ मा रेभेन्यु १.९ अर्ब डलर रह्यो । कम्पनीमा १५ सय कर्मचारी छन् ।

बकलचुक सार्वजनिक रुपमा निकै कम देखिन्छिन् । उनी निकै लजालु छिन् । इन्टरनेटमा उनका निकै कम तस्बिर छन् । गत वर्ष मात्रै उनले पहिलो अन्तरवार्ता दिएकी थिइन् ।

प्रतिस्पर्धा होइन, अरुबाट सिक्ने कोसिसः

उनका अनुसार इमान्दारिता र निष्ठा उनको कम्पनीको सबैभन्दा ठूलो विशेषता हो । उनले भनेकी थिइन्, ‘रुसको बजारमा मेरो कसैसँग पनि प्रतिस्पर्धा छैन । म सधैं अरुबाट सिक्ने कोसिस गर्छु ।’

उनले भनेकी थिइन्, ‘तपाईंलाई आफ्ना बच्चा र कर्मचारीसँग नजर जुधाउँदा लाज लाग्नु हुँदैन । तपाईंले जे गर्नहुन्छ, अन्तरआत्माको आवाज सुनेर गर्नुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप