नख्खु बम विष्फोट प्रकरण : किन मौन छ विप्लवको पार्टी ?
काठमाडौंँ– गत शुक्रबार काठमाडौको नख्खुस्थित एनसेल मुख्यालय परिसरसहित देशका विभिन्न स्थानमा लगभग एउटै समयमा बम विष्फोट र आगजनी भयो ।
जनयुद्धकालीन शैलीमा लगभग एउटै समयमा देशका विभिन्न भागमा भएको ‘अप्रेशन’ ले जनमानसमा त्रास फैलिनु स्वभाविक थियो । त्यसक्रममा नख्खुस्थित एनसेलको मुख्यालयमा भएको विष्फोटमा एक जनाको ज्यानै गयो भने दुई जना घाइतेको उपचार भइरहेको छ ।
घटना घटेको झण्डै ४८ घण्टा पछि सरकारले यसमा नेत्रविक्रम चन्द विप्लव समूहको हात रहेको बताएको छ । आइतबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले नामै लिएर नख्खु विष्फोटमा विप्लव नेतृत्वको पार्टीको संलग्नता रहेको सूचना आएको बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले समेत विष्फोटमा चन्द नेतृत्वको नेकपाकै हात रहेको हुनसक्ने संकेत गरेको थियो । प्रहरी रिपोर्टकै आधारमा गृहमन्त्रीले विष्फोटमा विप्लव समूहको संलग्नता रहेको बताएपनि गृहमन्त्री थापा र प्रहरी प्रशासनले विप्लव समुहले नै विष्फोट गराएको हो भन्ने प्रमाण भने सार्वजनिक गरेका छैनन् ।
एनसेल बम काण्डमा विप्लवको हात : गृहमन्त्री
विप्लवमाथि शङ्का गर्ने आधार
त्यसो त नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलमाथि यसअघि पनि आक्रमण गरेका धेरै उदाहरण छन् । त्यति मात्रै नभएर एनसेलले तिर्नुपर्ने लाभकरको प्रसङ्ग आएपछि सो पार्टीका भ्रातृ संगठनले लाभकर नतिरे भौतिक आक्रमण गर्ने चेतावनी दिएकाले पनि पछिल्लो घटनामा विप्लवको हात रहेको हुनसक्ने आशंका धेरैले यसअघि नै गरेका थिए ।

मलेसियास्थित एक्जिएटा कम्पनीको लगानी रहेको एनसेलले टेलिसोनेरियाको स्वामित्वमा रहेको बेला सरकारलाई पूँजीगत लाभकर नतिरेको विषयलाई लिएर विवादित बनेको थियो । गत माघ महिनामा मात्रै सर्वोच्च अदालतले सरकारलाई एनसेलसँग पूँजीगत लाभकर असुल्न निर्देशन दिएको थियो । विप्लव समूहले यो कम्पनीलाई केही समययता तारो बनाउँदै आएको थियो भने ७७ वटै जिल्लाका एनसेलका टावरहरु ध्वस्त पार्ने घोषणा नै गरेको थियो ।
किन मौन छन् विप्लव ?
आइतबार गृहमन्त्रीले नख्खु विष्फोटलगायत शुक्रबार ६ वटा प्रदेशमा भएका विष्फोट र आगजनीमा विप्लव समुहको संलग्नता भएको बताएपनि यसबारे विप्लव नेतृत्वको नेकपाले अहिलेसम्म आधिकारिक रुपमा जिम्मेवारी लिएको छैन । घटनापछि पार्टीका प्रायः सबैजसो नेता कार्यकर्ता सम्पर्कविहिन बनेका छन् । यसले पनि घटनामा विप्लवको हात रहेको भन्ने भनाइप्रति थप बल पुगेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वर्तमान व्यवस्थाकै विरोधमा छ । उसले वर्तमान संविधान र व्यवस्थाको नै विरोध गर्दै गत वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा समेत भाग लिएन । त्यसअघि २०७२ मा जारी संविधानको पनि विप्लव माओवादीले विरोध नै गर्यो ।
संविधान जारी भएपछि २०७३ जेठमा खुल्लामञ्चमा भएको एक कार्यक्रममा सो पार्टीका नेता चन्दले मुलुकमा समानान्तर सत्ता चलाउने घोषणा नै गरेका थिए । त्यसलगत्तै २०७४ मा भएको तीनै तहको निर्वाचनका बेला पनि विप्लव समूहले विभिन्न स्थानमा विष्फोट गराएको थियो ।
सो पार्टीले आफुलाई वैकल्पिक राजनीतिक शक्ति भनेर यस्ता गतिविधि गरिरहेपनि सरकारले उसबारे स्पष्ट दृष्टिकोण तय गरेको छैन । यसअघि संविधानसँग असन्तुष्ट रहेका पक्षहरुसँग वार्ता गर्न ओली नेतृत्वको सरकारले वार्ता टोली गठन गरेपनि सो पार्टीसँग भने वार्ता गर्न सकेको थिएन ।
मानिस नै मर्नेगरी भएको पछिल्लो भएको बम विष्फोटको घटना जगन्य अपराध मानिन्छ । तर, यो घटनामा मुछिएको र आशंका गरिएको विप्लव समुह मौन बस्नुले उमाथि गरिएको आशंकामा थप बल पुगेको र मात्रै राजनीतिक स्वार्थ पुरा गर्न सर्वसाधारणको ज्यानै लिनुले आतंककारीको बिल्ला समेत लागेको छ ।
विप्लवको मौनता
हुन त यसअघिका विष्फोटका घटनामा पनि विप्लव समुहले जिम्मेवारी लिएका उदाहरण निकै कम छन् । विप्लव नेतृत्वको नेकपाले आफुलाई राजनीतिक शक्ति बताउदै आएको छ । विष्फोटका घटनापछि सर्वसाधारणले आशंका गरेझै गृहप्रशासनले समेत उमाथि विष्फोटमा उसकै हात रहेकोे सुचना रहेको बताइसक्दा पनि सो पार्टीले यसबारेमा केही नबताउनुले घट्ना थप रहस्यमय बनेको छ । यदि घटनामा विप्लवको हात हो भनेपनि यसकारणले आक्रमण गरिएको हो भन्न उसले किन सकिरहेको छैन ? र होइन भने यस्तो गम्भीर घटनामा आफ्नो संलग्नता छैन भनेर प्रष्टिकरण दिन किन हिच्किचाइरहेको छ । ? यस्ता गम्भीर प्रश्नहरु विप्लवमाथि तेर्सिन थालेका छन् । यदि यस्तै अन्यौलता रहिरहने र विप्लवले घटनाबारे प्रश्ट नपार्ने हो भने भोलि कसैले विप्लवका नाममा यस्तै गतिविधि गरे त्यसको जिम्मेवारी कसले लिने ? के राजनीति र आफ्नो स्वार्थका लागि सर्वसाधारणले ज्यान गुमाइरहने ? त्यसकारण पनि एक जिम्मेवार राजनीतिक दल हुनका लागि पनि घटनाबारे विप्लव समुहले प्रस्ट पार्नु नै बुद्धिमता ठहरिनेछ ।

त्यसो त पछिल्लो बम विष्फोटमा निर्दोषको रगत बगेकोले यो घटनामा जिम्मेवारी लिन सम्बन्धित पक्षलाई कठिन भएको हुनसक्छ । वुद्धिजीविहरू मात्र होइन, घटनापछि सर्वसाधारणसमेत विप्लवविरुद्ध चिढिन पुगेका छन् । कतिपयले त घटनापछि सामाजिक सञ्जालमार्फत आतङ्ककारी आक्रमणको संज्ञा नै दिएका छन् ।
विप्लव–बादल आमनेसामने
गृहमन्त्री रामबहादुर थापा बादलले विष्फोटका घटनामा विप्लव माओवादीको हात रहेको बताइसकेका छन् । यदि सरकारको यहि निश्कर्ष हो भने अव सरकारले विप्लव समुहमाथि कस्तो ‘एक्सन’ लेला जनचासो बढेको छ । संयोग नै मान्नुपर्छ कुनैबेला एउटै पार्टीमा रहेर काम गरेका गृहमन्त्री बादल र नेत्रविक्रम चन्द अहिले विपरित भुमिकामा छन् । चन्द वर्तमान व्यवस्थाको विरुद्धमा छन् भने थापा वर्तमान व्यवस्थाको संस्थागत विकास गर्नें भुमिकामा छन् । यसो हुँदा एकअर्कोप्रति सहिष्णु हुन सक्ने अवस्था छैन । कतिपयले राज्यपक्ष अर्थात वादल विप्लवका गतिविधिप्रति मौन बस्न सक्ने अवस्था नभएकाले कुनैबेला एकै सारथी रहेका बादल र विप्लव अव आमनेसामने भिडन्तमा जानुको विकल्प नभएको बताउन थालेका छन् ।
प्रतिपक्षको संकेत के हो ?
विप्लवको उपद्रव आज मात्रै भएको होइन । यसअघि काँग्रेस सरकारका पालामा पनि विष्फोटका घटना भएका थिए । तर, त्यसवेला काँग्रेसले विप्लवसँग वार्ताको कुनै पहल गरेन । तर, पछिल्लो विष्फोटपछि प्रतिपक्ष दल नेपाली काँग्रेसका एक उपसभापति विजयकुमार गच्छदारले घटनाको भोलिपल्ट प्रदेश १ मा पुगेर विष्फोटमा उत्रेको समुहसँग अविलम्ब वार्ता गर्नुपर्ने बताए । नेता गच्छदारले विष्फोटमा संलग्न कसैको नामै नलिई वार्ता गर्न सरकारसँग माग गरेपनि लक्षित भने विप्लव माओवादीतर्फ नै केन्द्रित थियो । गच्छदारले बोलेपनि नेपाली काँग्रेसले भने यसबारेमा औपचारिक कुनै निर्णय गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण