शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

अनिल अम्बानीः ४५ अर्ब डलरबाट २.५ अर्ब डलरसम्मको कहानी

आइतबार, १२ फागुन २०७५, ०९ : ३२
आइतबार, १२ फागुन २०७५

आलम श्रीनिवास / बीबीसी हिन्दी

कुरा सन् २००७ को हो, अम्बानी दाजुभाइ अर्थात् मुकेश र अनिल छुट्टिएको दुई वर्ष पुगेको थियो ।

त्यो वर्ष फोर्ब्सको धनाढ्यको सूचीमा यी दाजुभाइ, मुकेश र अनिलको स्थान निकै माथि थियो । दाइ मुकेश, अनिलभन्दा थोरै धनी थिए । त्यो वर्षको सूची अनुसार अनिल अम्बानी ४५ अर्ब डलरका मालिक थिए भने मुकेश ४९ अर्ब डलरका ।

वास्तवमा, सन् २००८ मा धेरैले भाइले दाइलाई उछिन्ने अनुमान गरेका थिए । विशेषगरी रिलायन्स पावरको पब्लिक इश्यु आउनुअघि ।

उनको महत्वाकांक्षी परियोजनाको एक सेयरको मूल्य एक हजार भारुसम्म पुग्नसक्ने अनुमान गरिएको थियो । यदि यस्तै भएको भए अनिल साँच्चै नैसम्पत्तिको मामलामा मुकेशभन्दा अगाडि नै हुन्थे तर यस्तो भएन ।

अब फर्किऔं सन् २०१९ मा । फोर्ब्सको २०१८ को धनाढ्यको सूची अनुसार मुकेश अम्बानीको सम्पत्तिमा थोरै कमी भएको छ । उनी अहिले ४९ अर्ब डलरका मालिक हुन् तर १२ वर्ष अघि ४५ अर्ब डलरका मालिक अनिल अम्बानीको अहिलेको सम्पत्ति २.५ अर्ब डलर छ । अझ, ब्लूमबर्ग इन्डेक्सले त उनको सम्पत्ति १.५ अर्ब डलरको आँकलन गरेको छ ।

एउटा समय थियो जब यी दाजुभाइबीच आफूहरु धिरुभाइका सच्चा उत्तराधिकारी हौं भनेर साबित गर्ने होडबाजी नै चल्थ्यो । तर अब यो होडबाजी समाप्त भइसकेको छ । अहिले अनिल आफ्ना दाइभन्दा निकै पछाडि छन् ।

आशा जुन पूरा हुन सकेनः

एक दशकअघि अनिल अम्बानी सबैभन्दा धनी भारतीय बन्ने अवस्थामा थिए । त्यतिबेलाका उनका कारोबार र नयाँ भेन्चर (उद्यम) निकै राम्रोसँग मौलाइरहेका थिए । अनिल पनि त्यसको पूरा फाइदा उठाउनका लागि तयार भएका थिए ।

आर्थिक मामलाका विशेषज्ञले अनिलसँग व्यापारको ‘भिजन’ र जोश भएको बताउँदै आएका छन् । विशेषज्ञले उनलाई २१ औं शताब्दीका उद्यमी र उनको नेतृत्वमा भारतबाट एउटा बहुराष्ट्रिय कम्पनीको उदय हुने मान्यता राख्थे ।

एक दशकअघि सम्म पनि पूरा संसार उनको कदममा कदम मिलाइरहेको जस्तो देखिन्थ्यो । संसार जित्नका लागि उनलाई अलिकति मात्र अघि बढ्नुथियो । धेरै मानिसहरुलाई यस्तो लाग्थ्यो कि अनिल आफ्ना आलोचक र दाइलाई गलत साबित गरिदिन्छन् । तर यस्तो हुन सकेन ।

अनिल अम्बानी यदि चमत्कारिक ढंगले उदाउन सकेनन् भने दुर्भाग्यवश उनलाई भारतको कारोबारी इतिहासका सबैभन्दा असफल व्यक्तिमा समावेश गरिनेछ । एक दशकमा ४५ अर्ब डलरको सम्पत्ति डुब्नु भनेको कुनै चानचुने कुरा होइन । उनका कम्पनीका सेयरकर्तालाई पनि भारी झट्का लागेको छ ।

अनिल अम्बानीको कुनै पनि व्यवसाय उदाउन सकेन । उनीमाथि अत्यधिक ऋण छ । अब उनी केही नयाँ व्यवसाय सुरु गर्ने स्थितीमा पनि छैनन् । उनी आफ्नो धेरैजसो व्यवसाय कि त बेचिरहेका छन् कि त गाभिरहेका छन् । उनले रफालको रुपमा जुन नयाँ ठेक्का पाए, त्यो पनि विवादित बन्यो ।

अनिल र मुकेशका पिता धिरुभाइ अम्बानीको सन् २००२ मा निधन भयो । त्यतिबेला कम्पनी उदाउनुका चार महत्वपूर्ण कारण थिए – ठूला परियोजनामा सफल व्यवस्थापन, सरकारसँग राम्रो तालमेल, मिडियाको व्यवस्थापन र लगानीकर्ताको आशालाई पूरा गर्नु ।

यी चार कुराको पूर्ण नियन्त्रणपश्चात् कम्पनी धिरुभाइको जमानामा र उनको मृत्यु भएको केही वर्षसम्म पनि अत्यधिक सफल भयो । मुकेश अम्बानीले यी चार कुराको विशेष ध्यान दिए तर कुनै न कुनै कारणवश अनिल चप्लिरहे ।

के थिए, के भएः

धिरुभाइलाई राम्रोसँग थाहा थियो कि उनी एक आर्थिक लहरमा सवार थिए, उनले त्यो लहरलाई आत्मसाथ गरे, उनी त्योबाट उम्कन पाउँदैनन् भन्ने उनलाई थाहा थियो । यसको अर्थ यो थियो कि उनलाई अन्य व्यवसायीलाई उछिन्नका लागि, लगातार अघि बढ्नका लागि, रिलायन्सको सेयरको भाउलाई माथि उठाउनका लागि र शेयरकर्ताको आशा पूरा गर्नका लागि अत्यधिक पैसाको खाँचो छ ।

सन् २००७–२००८ बीच मुकेश अम्बानीलाई वैश्विक आर्थिक मन्दीका कारण भारी झट्का लाग्यो उनको सम्पत्तिमा करिब ६० प्रतिशतको गिरावट आएको थियो । तर उनी यो स्थितीबाट उम्कन सफल भए र आफ्नो पुरानै स्थितीमा पुगे । अहिले उनी अघि बढ्ने तयारीमा छन् ।

अनिल एकपटक चिप्लिएपछि पुनः उठ्न सकेनन् । यसको एउटा कारण यो थियो कि उनीसँग कुनै दुधालु गाइ थिएन अर्थात् एउटा कुनै धन्धा थिएन जसबाट लगातार अम्दानी भइरहन्थ्यो ।

सन् २००७ मा जब भाइहरु छुट्टिए तब मुकेशको भागमा रिलायन्स इन्डष्ट्रिज पर्यो जुन समूहको सबैभन्दा ठूलो कम्पनी थियो र अत्यधिक नाफामा थियो ।

तर अनिलको भागमा टेलिकम पर्यो जसको भरपुर बिस्तारको सम्भावना त थियो तर त्यसलाई अत्यधिक सुरुवाती लगानीको खाँचो थियो । रिलायन्स पावर कुनै ठूलो कम्पनी थिएन र त्यो चलाउनका लागि अत्यधिक पुँजीको आवश्यकता थियो । रिलायन्स फाइनेन्सियल सर्भिस फाइदाको व्यवसाय पक्कै थियो तर दाइको भागमा परेको रिलाइन्स इन्डष्ट्रिजसँग त्यसको कतै पनि तुलना गर्न सकिँदैनथ्यो ।

मुकेशको व्यवसायले पैसा बनाइरहेको थियो जबकि अनिललाई व्यवसाय बढाउनका लागि पैसाको आवश्यकता थियो ।

अनिल अम्बानी कच्चा खेलाडी होइनन्, उनलाई छुट्टिने बेला एउटा शर्त दिइएको थियो – रिलायन्स इन्डष्ट्रिजबाट अनिलको कम्पनीले ग्यास पाइरहनेछ । ग्यासको मूल्य निकै सस्तो तोकिएको थियो । यसरी अनिल अम्बानीले अफ्नो पावर प्लान्टका लागि सस्तोमा कच्चा पदार्थको प्रबन्ध मिलाएका थिए । ग्यासको सस्तो मूल्य त्यो जादूको छडी थियो जसमार्फत् आफूलाई नाफा हुने उनले आशा गरेका थिए ।

तर अनिलको दुर्भाग्य भनौं, उनको यो योजना राजनीति र अदालतको चपेटमा प–यो । केन्द्र सरकार र उनका दाइले उनलाई अदालत पु–याए ।

सन् २०१० मा सर्वोच्च अदालतले निर्णय गर्दै भन्यो – तेल र ग्यास राष्ट्रिय सम्पदा हो, त्यो कसलाई र कुन मूल्यमा बेच्ने त्यसको निर्णय गर्ने अधिकार सरकारलाई मात्र छ । अदालतले रिलायन्स इन्डष्ट्रिजलाई बिजुली बनाउने अन्य कम्पनीलाई पनि ग्यास बेच्न आदेश दियो ।

यो निर्णयले अनिल अम्बानीलाई ठूलो झट्का लाग्यो । उनी बजारको महँगो तेल खरिद गर्न बाध्य भए । यस कारण अत्यधिक नाफा र त्यसलाई लगानी गरेर अघि बढ्ने उनको मनसायमा तुषारापात भयो ।

त्यसपछि अनिल अम्बानीले रिलायन्स पावरको पब्लिक इश्यू ल्याएर बजारबाट पैसा निकाल्ने कोसिस गरे, लगानीकर्ताहरु यसमा उत्साहित पनि भए । सेयर ७२ गुना बढी ‘सब्सक्राइब’ पनि भयो, यस्तो लाग्यो कि अब सबै कुरा ठिक हुन्छ ।

सन् २०१८ को फेब्रुअरी ११ मा सेयरको लिस्टिङ भयो, सेयर ५३८ मा खुल्यो, आफ्नो अलोटमेन्ट प्राइज ४५० भन्दा १९ प्रतिशत माथि । त्यसपछि पहिलो दिनमै यसमा गिरावट आउन सुरु भयो र बलुका बजार बन्द हुने बेला ५३८ मा खुल्ला भएको सेयर ३७२.५० मा आयो । थुप्रैको करोडौं डुब्यो । आजकाल रिलायन्स पावरको सेयर १२ भारु पनि पार हुन सकिरहेको छैन ।

ऋणको बढ्दो बोझः

सन् १९८० र १९९० बीच धिरुभाइ रिलायन्स ग्रुपका लागि बजारबाट लगातार पैसा उठाइरहे र उनको सेयरको मूल्य सधैं राम्रो रह्यो । उनले लगानीकर्ताको विश्वास लगातार जितिरहे ।

मुकेश अम्बानीले नाफाबाटै पछिल्लो दशकमा आफ्नो व्यवसायलाई व्यापक विस्तार गरे । दोस्रोतर्फ, ग्यासको मामलामा अदालतको निर्णय र रिलायन्स पावरको सेयरको भाउ खस्कँदा अनिलको बाटो मुश्किल हुँदै गयो ।

यस्तो स्थितीमा अनिल अम्बानीसँग स्वदेशी तथा विदेशी बैंक र वित्तिय संस्थाबाट ऋण लिनेबाहेक कुनै विकल्प रहेन । सन् २००० देखि २०१० बीच जहाँ दाइको कारोबार अघि बढिरह्यो भने भाइको कम्पनीमा ऋणको बोझ थपिँदै गयो । उनको धेरैजसो कम्पनी कि त समस्यासँग जुधिरहेका छन् कि न्यून फाइदा कमाइरहेका छन् ।

दुई दाजुभाइको विशेषताः

जब धिरुभाइ जीवित थिए तब अनिल अम्बानीलाई वित्त बजारका स्मार्ट खेलाडी मानिन्थ्यो, उनलाई मार्केट भ्यालुएशनको आर्ट र साइन्स दुबैका प्रखर मानिन्थ्यो । त्यतिबेला दाइको तुलनामा उनको चर्चा धेरै थियो । धिरुभाइको जमानामा वित्तिय मामला अनिलले र औद्योगिक मामला मुकेशमा सम्हाल्थे ।

अनिल अम्बानीको आलोचना गर्नेहरुले उनको ध्यान वित्तिय प्रबन्धनमा धेरै भएको र ठूलो प्रोजेक्टमा मुकेशले झैं ध्यानकेन्द्रित नगरेको आरोप लगाउँछन् । अनिलले आफ्ना लगानीकर्ताको आशालाई पूरा गर्न सकेनन् किनभने औद्योगिक प्रबन्धन जस्तो हुनुपर्दथ्यो त्यो हुन सकेन । थुप्रै प्रोजेक्ट त बजारमा आउनै पाएनन् ।

रिलायन्स पावर र टेलिकममा अनिललाई घाटा भएको छ  तर उनका अन्य दुई कम्पनी रिलायन्स क्यापिटल र रिलायन्स इन्फ्रास्ट्रक्चर राम्रो स्थितीमा छ त्यसकारण उनी खेलबाट बाहिरिएका छन् भन्ने गलत हो । यी दुई कम्पनीका सेयरको भाउ निकै राम्रो छ तर यस्तो अवस्थामा अनिले आफ्नो व्यवसायको आकार बढाउनु नै सबैभन्दा ठूलो चुनौती हो । ्

दुई भाइ छुट्टिने बेला एक–अर्कालाई विभिन्न प्रकारको हमला गरे । सरकार र मिडिया केही समयसम्म दुई खेमामा विभाजन भए तर मुकेश अम्बानीले बिस्तारै मिडिया शासन तन्त्रसँग जोडिएका मानिसहरुलाई आफ्नो पक्षमा गरे । यो लडाईंमा अनिल अम्बानीले केही साथी बनाए र कति दुश्मन पनि भए । सबै मिलाएर, धेरैजसो प्रभावशाली नेता, अधिकारी र सम्पादकले अनिलभन्दा सौम्य र शान्त मुकेशलाई साथ दिने निर्णय गरे ।

एक्सटर्नल एलिमेन्ट अर्थात् आफ्नो नियन्त्रण बाहिरका कुरालाई प्रभावित गर्ने काम विभाजन अघि अनिल अम्बानी गर्दथे । उनी यसमा निकै सफल पनि थिए तर विभाजन पछि विशेषगरी सन् २०१० पछि अनिलको पहिलाको व्यक्तित्वले केही रंग ल्याउन सकेन ।

आज उनी जुन अवस्थामा छन्, त्यसका लागि केही हदसम्म अनिल आफैं जिम्मेवार छन् भने केही उनको नियन्त्रण बाहिरका परिस्थितीको पनि हात छ । आफूले दिएको वचन पूरा गर्न नसक्नु पनि यो स्थितीको एउटा ठूलो कारण हो ।

उनी लडे–भिडे, अलग भए, वचन दिए – मात्र आफ्नो वचन र सपना पूरा गर्न सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप