बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डिपिएल : सन्नी नायक बनेपछि अत्तरिया बन्यो च्याम्पियन

शनिबार, ११ फागुन २०७५, १६ : १७
शनिबार, ११ फागुन २०७५

दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको विजेता बनेको छ ।

शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरिया च्याम्पियन बनेको हो ।

जीतका लागि १ सय २४ रनको लक्ष्य पाएको अत्तरियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेट्यायो ।

निकै रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा ७ रन आवश्यक भएको अवस्थामा भारतीय खेलाडी सन्नी पटेलले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए ।

अत्तरियाको जीतमा सन्नी नायक बने । ९२ रनमा ६ विकेटको क्षतिमा रहेको अत्तरियाका लागि उनले २६ बलमा ४७ रन बनाउँदै टोलीलाई जीत दिलाए । उनले यस क्रममा ३ चौका र ३ छक्का हिर्काए ।

अत्तरियाका लागि अर्का भारतीय खेलाडी जयकिशन कोल्सावालाले ३० तथा कप्तान ऐरीले १७ रन बनाए ।

महेन्द्रनगरका लागि मोहमद नाभिद र सागर ढकालले २–२ विकेट लिए भने अभिनाश बोहोरा र शहाब आलमले १–१ विकेट लिए ।

यसअघि, महेन्द्रनगर युनाइटेडले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पहिलो ब्याटिङ गर्दै महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

महेन्द्रनगरका लागि दीलिप नाथले सर्वाधिक ४३ रनको योगदान दिए । यसक्रममा उनले ५ चौका र एक छक्का हिर्काए ।

कुशल मल्लले २५ तथा रोहित पौडेलले २४ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्याए ।

यता, अत्तरियाका लागि दीपेन्द्र सिंह ऐरी र दीपेन्द्र रावतले २–२ विकेट लिए भने  सन्नी पटेलले १ विकेट लिए ।

यसअघिको सन् २०१७ र २०१८ को दुई संस्करणमा चौराहा धनगढी विजेता बनेको थियो ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप