शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहको आतंक : निशानामा एनसेल, कहाँ–कहाँ भयो आगजनी र विस्फोट ?

शनिबार, ११ फागुन २०७५, १४ : ५३
शनिबार, ११ फागुन २०७५

काठमाडौं– बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा अज्ञात समूहले बम विस्फोट र आगजनीका घटना तीब्र पारेको छ । जसको निशानामा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल परेको छ । 

शुक्रबार साँझ अज्ञात समूहले ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विष्फोट गरायो । जुन घटनामा एक जनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु समेत भएको छ । मृत्यु हुनेमा सिंह प्रसाद गुरुङ रहेका छन् । यस्तै दुई जना घाइते भएका छन् । घाइतेहरु प्रतीक्षा खड्काको अल्का अस्पताल र  आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 
 
कमलपोखरीमा प्रेसर कुकर बम 

यता शुक्रबार साँझ नै काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला पर्यो ।  कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् । 

बम नेपाली सेनाको बम डिस्पोजल टोलीले  निष्क्रिय पारेको थियो । 

एनसेलका विभिन्न टावरमा आगजनी
 जाजरकोटको नलगाड नगरपालिका–१ जुरेलीस्थित एनसेलको टावरमा आगजनी भएको छ।  

अज्ञात समूहले गएराती  टावरमा आगजनी गरेका थिए । 

प्रहरी नायव उपरीक्षक स्याम खत्रीले आगोले टावरमा जडान गरिएका ७ वटा सोलार सेट पड्किएको जानकारी आएको बताए । 

यस्तै बागलुङका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ । 

बागलुङ नगरपालिका–७ मुलपानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

टावरमा कसले के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए । 


यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । 

टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ । 


यसैगरी रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा पनि एनसेलको टावरमाथि आगजनी भएको छ । गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिए । 

आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । 

यसैगरी कपिलबस्तुको वाणगङ्गा नगरपालिका–११ मईनारामा रहेको एनसेल कम्पनीको टावरमा आगजनी भएको छ । गए राति करीब १० बजेको समयमा भएको घटनापछि प्रहरीले दमकल लगेर आगो निभाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विप्लव समूहले अन्य जिल्लामा टावर जलाउने क्रममा वडा नम्बर ११ मा पनि क्षति भएकाले सोही समूहले नै गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । 

प्रहरीका अनुसार रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । 

यता प्रदेश गणडकी प्रदेशस्थित कास्कीको पोखरामा पनि आगजनी भएको घटना सार्वजनिक भएको छ । शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको हो । 

काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो । 

यसैगरी गएराती पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । 

नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । 

यसैगरी नुवाकोटमा पनि एनसेलको टावरमा आगजनी भएको छ । विदुर नगरपालिका–२ स्थित रहेको सो टावरमा गएराति आगजनी भएको हो ।

उता अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी भएको छ। आगजनीबाट एनसेलको मोबाइल सेवा अवरुद्ध भएको छ।

शुक्रबार मध्यराति गरिएको आगजनीबाट साढे दुई मिटर जति तार जलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यस्तै अज्ञात समूहले शुक्रवार नै म्याग्दीका विभिन्न चार ठाउँमा रहेका एनसेलका रिपिटर टावरमा आगजनी गरेको छ ।

समूहले एनसेलको बेनीनगरपालिका–३ भकिम्ली सेले, मंगला गाउँपालिका–३ बरंजाझाँक्रेपानी, रघुगंगा गाउँपालिका–५ झिंको टोड्के र मालिका गाउँपालिका–१ निस्कोटस्थित टावरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

एकपछि अर्को गर्दै एनसेलका टावरमा आगजनी र बम विस्फोटका घटना हुन थालेपछि प्रहरीले देशभरको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरुलाई अलर्ट रहन निर्देशन दिएको प्रहरी प्रवक्ता उत्तम कुमार सुवेदीले जानकारी दिए ।

कतिपय घटनामा विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका गरेपनि हालसम्म पुष्टि हुन सकेको छैन । यस विषयमा विप्लव नेतृत्वको नेकपा पनि मौन देखिएको छ । प्रहरीले भने सबै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप