मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कश्मिर आक्रमणपछि भारत–पाकिस्तानबीच विकसित ‘खतरनाक अवस्था’बाट अमेरिका भयभित

शनिबार, ११ फागुन २०७५, १२ : ३८
शनिबार, ११ फागुन २०७५

न्यूयोर्क–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिर हमलापछि भारत र पाकिस्तानबीच विकसित ‘खतरनाक अवस्था’ले आफू भयभित भएको बताएका छन् । 

‘दुई देशबीच हाल खतरनाक अवस्था छ,’ शुक्रबार ह्वाइट हाउसमा ट्रम्पले संवाददाताहरुसँग भने, ‘जे भयो त्यसको कारण भारत र पाकिस्तानबीच निक्कै ठूलो समस्या उत्पन्न भएको छ ।’

आणविक हतियारसम्पन्न यी प्रतिद्वन्दी राष्ट्रबीचको तनाव अघिल्लो हप्ता भएको आत्मघाती हमला पछि बढेको छ । भारत प्रशासित कश्मिरमा भएको आक्रमणमा परेर ४२ भारतीय सैनिकको ज्यान गुमाएका थिए । आक्रमणलाई तनावग्रस्त कश्मिरमा तीस वर्षको अवधिमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ । 

आक्रमणको जिम्मेवारी पाकिस्तानमा आधार रहेको जैस–ए–मोहम्मदले लिएको छ। 

आक्रमणपछि भारतले पाकिस्तानलाई उसको सीमानाभित्र रहेको जैश–ए–मोहम्मदको आधार इलाकामा आक्रमण गर्न माग गरिरहेको छ । 

भारतका दक्षिणपन्थी हिन्दू संगठनहरु र तिनको प्रभाव रहेका मिडियाहरुले पाकिस्तानमाथि तत्काल कडा कदम उठाउन माग गरिरहेका छन् । निर्वाचन नजिक आइरहेको अवस्थामा यही समूहमा मतदाता आधार भएका नरेन्द्र मोदीमा पनि कारबाहीको दवाव परेको छ । 

शुक्रबार पाकिस्तानी सेनाले भारतलाई कुनै दुस्साहसी कदम नउठाउन चेतावनी दिएको छ । त्यस्तो कदमको जवाफ दिन आफूहरु सक्षम रहेको उसले बताएको छ । 

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि विभाजित भएका भारत र पाकिस्तानबीच चार पटक युद्ध भइसकेको छ । तीमध्य तीन वटा युद्ध त काश्मिरकै विषयमा भएका थिए ।  

अमेरिका–पाकिस्तान सम्बन्धको उतार चढाव
अमेरिका आफैले पनि अघिल्लो वर्ष पाकिस्तानलाई दिइरहेको ३० करोड अमेरिकी डलरको सैन्य सहयोग अन्त्य गरेको थियो । 

अमेरिकाले इस्लामावाद उसको देशभित्र रहेका सशस्त्र विद्रोहीहरु विरुद्ध कडा नभएको र छिमेकी अफगानिस्तानमा अराजकता फैलाइरहेका लडाकूहरुलाई सुरक्षित वासस्थान प्रदान दिन इच्छुक भएको कारण यस्तो कदम उठाउन बाध्य भएको बताएको थियो ।  

तथापी ट्रम्पले पछिल्लो समय पाकिस्तानसँगको सम्बन्ध ‘निक्कै राम्रो’ अवस्थामा पुगेको र पाकिस्तानसँगको अमेरिकाको छिट्टै कुराकानी हुन सक्ने बताएका छन् । 

अमेरिकी दूतले पाकिस्तानको तालिवानसँग राम्रो सम्बन्ध भएकाले अफगान शान्ती वार्तामा उसले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । अमेरिका अफगानीस्तानमा आधार बनाएर बसिरहेको आफ्नो सेना फिर्ता गर्ने योजनामा छ । सन् २००१ मा अमेरिकी जमिनमा आतकंवादी हमला गर्ने बिन लादेनलाई आश्रय दिएको भनिएका तालिवान सरकारलाई सत्ताचुत गर्नको लागि उसले आक्रमण गरेको थियो । त्यसबेला देखि ठूलो संख्यामा अमेरिकी सेना अफगानिस्तानमा छन् । 

आफ्नो वहिरगमनपछि पनि देशमा शान्ति कायम रहोस् भन्नको लागि उसले अफगानिस्तानको प्रमुख विद्रोही शक्ति तालिवानसँग शान्ती सम्झौता गर्न खोजिरहेको छ । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप