मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेयमार र पेरेजका कारण रोनाल्डोले रियल छाडे’

शनिबार, ११ फागुन २०७५, १२ : ३९
शनिबार, ११ फागुन २०७५

रियल म्याड्रिडले आफ्नो स्थानमा नेयमारलाई किन्न चाहेपछि र अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नयाँ करार पनि दिन नचाहेपछि क्रुद्ध बनेर क्रिस्टियानो रोनाल्डोले क्लब छाडेको पूर्व अध्यक्ष रामोन काल्डेरोनले दाबी गरेका छन् ।

पोर्चुगिज सुपरस्टारले सन् २०१८ मा स्पेनको राजधानी छाड्दै इटालियन लिग च्याम्पियन युभेन्टससँग अनुबन्ध भएका थिए ।

पाँच पटकका बालोन डि’ओर विजेताले युभेन्टससँग करार गर्नभन्दा धेरै महिनाअघि नै ‘नयाँ शुरुवात’ गर्ने निर्णय गरिसकेको बताइएको छ ।

काल्डेरोनका अनुसार पेरिस सेन्ट जर्मेनबाट एक ब्राजिलियन खेलाडी क्लबमा आउने हल्ला चल्नुका साथै क्लबमा आफूलाई ‘सम्मान’ नभएको महसुस गरेपछि रोनाल्डोले उक्त निर्णय लिएका थिए ।

रियलका पूर्व प्रमुख भन्छन्, ‘च्याम्पियन्स लिग जितेपछि रोनाल्डोले तलबमा बृद्धि गर्नुपर्ने माग गरे जसलाई पेरेजले अस्वीकार गरे । यता, नेयमारका लागि भने अझ धेरै पैसा खर्च गर्न रियल तयार रहेको समाचार आएपछि रोनाल्डो क्रुद्ध बने ।’

‘पेरेजले रोनाल्डोलाई ‘तिमीले १० करोड युरोको चेक ल्याएर आउ, म तिमीलाई जान दिन्छु’ भनेका थिए । र, भयो पनि त्यस्तै,’ उनी भन्छन् ।

आफूले क्लबमा नभित्र्याएको खेलाडीहरुलाई पेरेजले राम्रो व्यवहार नगर्ने पनि काल्डेरोनले आरोप लगाए ।

‘रियलका लागि पेरेज राम्रो अध्यक्षका रुपमा देखिएका छन् । तर, आफूले पाएको विरासतलाई भने उनले राम्रोसँग स्वीकार गर्दैनन् । रोनाल्डोजस्तै इकर क्यासियास, राउल, अयार्न रोबेन र वेस्ले स्नाइडरको हालत पनि त्यस्तै भयो,’ उनी भन्छन् ।

जिनेदिन जिदानले क्लब छाड्नुमा पनि पेरेजले जिम्मेवारी लिनुपर्ने काल्डेरोन बताउँछन् ।

रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग जिताएपछि जिदानले पनि रोनाल्डोसँगै क्लब छाडेका थिए ।

उनको स्थानमा आएका जुलेन लोपेटेगुइ केही महिनामात्र टिके भने स्यानिटयागो सोलारीले क्लबमा केही स्थिरता ल्याए पनि उनको आलोचना कायम नै छ ।

‘यदी ब्लाङ्कोसका अध्यक्षले जिदानको माग पूरा गरेको भए उनले क्लब छाड्ने थिएनन्,’ काल्डेरोन भन्छन्, ‘यसमा रोनाल्डो क्लबमा नै रहनुपर्ने भन्ने पनि एक माग थियो ।’

‘जिदानलाई थाहा थियो आगामी सिजन क्लबको हालत के हुनेछ, त्यही भएर उनले क्लब छाडे,’ काल्डेरोनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप