शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कसले बनायो नेकपाको शक्तिशाली कार्यदललाई ‘कठपुतली’ ?

शुक्रबार, १० फागुन २०७५, २० : ०९
शुक्रबार, १० फागुन २०७५

काठमाडौँ– सत्तारुढ दल नेकपाको शक्तिशाली मानिएको कार्यदल विघटन पश्चात नेकपामा तरङ पैदा भएको छ । नेकपामा निर्णायक मानिएको स्थायी कमिटी बैठकले सांगठानिक एकीकरणका बाँकी काम टुङ्ग्याउने म्यान्डेट दिएको ‘शक्तिशाली’ कार्यदल शुक्रबार बसेको सचिवालय बैठकले भङ्ग गर्यो । 

सचिवालयका दुई नेतासहित स्थायी कमिटी सदस्य रहेको शक्तिशाली कार्यदल ‘भङ्ग’ भएको नेकपामा पहिलो घटना हो । यसअघि जति पनि कार्यदल बनेका थिए सबैले दिइएको म्यान्डेटअनुसार काम सम्पन्न गरेका थिए । तर, त्यहि शक्तिशाली कार्यदल शीर्ष नेताकोे ‘शिकार’ बन्यो । स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘कार्यदल गठन गर्नुपूर्व कार्यदल बनाउनै नहुने पक्षमा कतिपय नेताहरु थिए । कार्यदल बनिसकेपछि पनि कार्यदललाई काम गर्न दिएनन्,’ ती नेताले भने, ‘र कार्यदल आफैँ विघटन गरे । कार्यदल विघटन गरेर नेकपा विधि पद्धतिमा चल्दैन भन्ने सन्देश शीर्ष नेताले दिएका छन् ।’ 

यसअघि सबै अधिकार सचिवालयमा केन्द्रीत गरेको भन्दै नेकपामा स्थायी कमिटी र केन्द्रीय कमिटीका अधिकाँश नेताहरु नेतृत्वप्रति असन्तुष्ट बनेका थिए । त्यहि असन्तुष्टी चिर्नलाई लामो समयपछि बसेको स्थायी कमिटी बैठकले ‘शक्तिशाली’ कार्यदल बनाएको थियो । र, कार्यदललाई एकीकरणका बाँकी काम टुङ्ग्याउन प्रस्ताव तयार गर्ने, केन्द्रीय सदस्यको कार्यविभाजन, विधानमा भएको त्रुटि सच्याउनेदेखि विवादित प्रदेश कमिटी हेरफेर गर्ने सम्मको म्यान्डेड दियो ।  तर, यहि कार्यदलले न त काम गर्न सक्यो, न त काम गर्न दिइयो । बरु गठन भएको दुई महिनामा कार्यदल भंग भयो । र सचिवालयबाट स्थायी कमिटीमा आएको अधिकार अन्ततः फेरि सचिवालयमै पुगेको छ ।

त्योसँगै कार्यदलमा रहेका नेताहरुको कार्यक्षमतामा समेत प्रश्न उठेको छ । त्यसो भए शक्तिशाली कार्यदलले किन काम गर्न सकेन ? कार्यदल विघटनको अवस्था कसरी आयो ? कसले कार्यदललाई कठपुतली बनायो ? यी प्रश्न अहिले नेकपाका नेता कार्यकर्तामा छन् । यस्ता छन् कार्यदल गठनदेखि विघटनसम्मका गतिविधि ।

कसरी बनेको थियो कार्यदल ?

मंसिर २९ देखि पुस १३ गतेसम्म बसेको स्थायी कमिटी बैठकमा लिखित र मौखिक रुपमा नेतृत्वको चर्को आलोचना भयो । बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने अधिकाँश नेताहरुले सबै अधिकार सचिवालयमा केन्द्रीत गराएको, पार्टीलाई विधि पद्धतिमा नचलाएको र नेतृत्वको कारण तल्ला तहसम्म एकीकरण ढिला भएको भन्दै अध्यक्षद्धयको चर्को आलोचना गरेका थिए । 

झन्डै दुई हप्ता बैठक बस्दा पनि अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन पास नहुने र पार्टी भित्रका अन्य विवाद घट्नुको सट्टा बढ्ने देखेपछि शीर्ष नेतृत्वले एकीकरणका बाँकी सबै काम माघ पहिलो साता भन्दै कार्यदल गठन गर्ने प्रस्ताव गरेको थियो । 

अध्यक्षद्धयको प्रस्तावपछि सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल,  स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ रहेको कार्यदल गठन गर्ने निर्णय गर्दै स्थायी कमिटी बैठक सकियो । बैठक सकिँदा नेताहरु उत्साहित बनेका थिए । उत्साहित यसकारण कि एकतासम्बन्धी रोकिएका सबै काम गर्ने गरी शक्तिशाली नौ सदस्यीय कार्यदल बनेको थियो । कार्यदलमा पूर्व एमालेबाट ६ र पूर्व माओवादीबाट ३ जना सदस्य रहेका थिए । 

कार्यदलले गरेका कामदेखि विवादसम्म 

पुस १६ गते अध्यक्षद्धय ओली र प्रचण्डले कार्यदललाई बोलाएर पौष मसान्तसम्म सबै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । कार्यदल गठन भएयता ७ पटक बैठक बसेको कार्यदलले अहिले विधानमा भएका त्रुटि सच्याउने विषयमा मात्रै सहमति कायम गर्न सक्यो । 

बैठकको दोस्रो एजेण्डा प्रदेश कमिटी हेरफेरको सवालमा कार्यदलका सदस्यभित्रै मतभेद सिर्जना भयो । अझभन्दा स्थायी कमिटीको विवाद कार्यदलमा देखियो ।  यसअघि सचिवालयले टुङ्ग्याएको प्रदेश कमिटीलाई पुनरावलोकन गरेर मापदण्डभन्दा बाहिर भएकालाई हटाउने र मापदण्डअनुसार कमिटीमा नपरेकालाई राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि प्रदेश कमिटीलाई अन्तिमरूप दिने प्रस्ताव टुङ्गिएन । माघ ६ पछि कार्यदलको बैठकसमेत बस्न सकेन । 

बरु कार्यदलका सदस्यहरुबीचनै आरोप–प्रत्यारोप चल्यो । महासचिव पौडेल र संयोजक बादलको चाहनामै कार्यदललाई निष्कृय बनाइएको भन्दै केही सदस्यहरूका असन्तुष्टिहरु बाहिरिए । कार्यदललाई पुस मसान्तभित्र काम सक्ने जिम्मेवारी थियो ।  तर पुस सकियो काम सकिएन । माघ पनि आधाभन्दा बढी बित्यो । तर पनि कार्यदलले काम सकेन् । झन् विवाद बढ्यो र बैठक नै बस्न नसक्ने अवस्था आयो । कार्यदलका सदस्यहरूमध्ये एकले अर्कालाई काम नहुनुमा जिम्मेवार ठहराउन थाले । अधिकाँश सदस्यले चाहिँ संयोजक थापा र पौडेलले मापदण्डअनुसार एकताको प्रस्ताव बनाउन नमान्दा कार्यदलले काम गर्न नसकेको आरोप लगाए ।

यति मात्र होइन, यो बीचमा सचिवालयका केही सदस्यले पार्टी अध्यक्ष ओलीले कार्यदललाई काम गर्न रोकेको समेत आरोप लाग्यो ।  यस्तै आरोप–प्रत्यारोपबीच माघ २१ गते सोमबार बसेको (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई बढीमा दुई दिनभित्र अर्थात माघ २३ गतेभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दियो ।

कार्यप्रगतिको विवरणसहित प्रतिवेदन बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवायलयले लिने र प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने सचिवालयको निर्णय थियो । सचिवालयले प्रतिवेदन मागेपछि कार्यदलको बैठक बस्यो । बैठकले अहिलेसम्म भएको प्रगतिसहित सचिवालयमा प्रतिवेदन बुझाउने र कार्यदललेनै बाँकी काम गर्ने भन्दै थप समय माग्ने निर्णय गर्यो । 

कार्यदल संयोजक बादलले सचिवालयमा प्रतिवेदन बुझाएपछि फागुन ९ गते बसेको कार्यदलसहित सचिवालयको बैठक बस्यो । बैठकमा कार्यदलका सदस्यहरुले सुझावसहित आफ्ना धारणा राखे । र, थप एकहप्ताको समय माग गरे ।

तर, सचिवालयले कार्यदल विघटन गर्यो

बिहिबार कार्यदलसहित बसेको सचिवालय बैठक शुक्रबार पुन बस्यो । सचिवालयका एक नेताका अनुसार बैठकमा कार्यदललाईनै थप समय दिएर एकीकरणका बाँकी काम टुङग्याउने वा भङ्ग गरेर सचिवालयले नै प्रस्ताव तयार गर्ने भन्नेबारे नेताहरुबीच विवाद भयो । यो विवाद माघ २१ गते बसेको सचिवालय बैठकमा पनि देखिएको थियो । 

स्रोतका अनुसार शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष ओलीसहित केही नेताहरूले कार्यदल भङ्ग गरेर बाँकी काम सचिवालयले गर्ने प्रस्ताव राखेका थिए । तर, अर्का अध्यक्ष प्रचण्ड सहितका अन्य केही नेताहरु कार्यदललाई थप समय दिने पक्षमा थिए । तर, विवादकाबीच पनि अन्ततः अध्यक्ष ओलीको प्रस्ताव शुक्रबारको सचिवालय बैठकले पारित गर्यो । उक्त बैठकले कार्यदललाई धन्यवाद दिँदै विदाई गर्ने निर्णय गर्यो ।

सचिवालयका एक नेताका अनुसार संयोजक बादल र महासचिव पौडेलले कार्यदलमा काम गर्न नसकिने कुरा राखेपछि कार्यदल भङ्ग गर्ने निर्णय भएको बताए । ‘कार्यदललाई थप समय दिने भन्नेमा बहुमत हुँदा हुँदैपनि संयोजक बादलले काम गर्न नसकिने बताएपछि वाँकी काम सचिवालयलेनै गर्ने निर्णय भयो ।’ ती नेताले भने । 

कार्यदललाई असफल बनाउने भूमिकामा को ?

सचिवालयका एक नेता भन्छन्, ‘यो कार्यदल बनाउने कुरामानै नेतृत्व तयार थिएन । स्थायी कमिटी बैठकमा चौतर्फी दवाव सिर्जना भएको हुँदा जबरजस्त कार्यदल बनेको हो, उनले भने, ‘जसको कारण कार्यदललाई पङ्गु बनाउने र काम गर्न नदिने सुरु देखिकै षड्यन्त्र हो । त्यसमा कार्यदलका संयोजक विष्णु पौडेल र रामबहादुर थापाको कार्यदलप्रति कुनै उत्साह थिएन ।’

ती नेताका अनुसार कार्यदललाई काम गर्न नदिने योजना अध्यक्ष ओलीकै थियो । ‘संयोजक र महासचिव मिलेर बैठक बोलाउनु भएन भनेर कार्यदलका अन्य सदस्यहरुले ब्रिफिङ् गर्नु भएको थियो, ती नेताले भने, ‘उहाँहरुले काम गर्ने वातावरण बनाउनुभएन । जबकि कार्यदलको बहुमत सदस्यहरु कार्यदलले सबै काम टुङग्याउ भनेर पटक–पटक बैठक बोलाउन आग्रह गर्दा पनि बैठक बोलाइएन, किनभने कार्यदलबाट अध्यक्ष ओलीले चाहेको प्रस्ताव बन्नेवाला थिएन ।’

ती नेताले थप अगाडि भने, ‘कार्यदलमा अन्य समुहका पनि नेताहरु थिए । उनीहरुसँग प्रतिवाद गर्ने कुनै तर्क महासचिव र संयोजक बादलसँग थिएन । उहाँहरुले चाहेजस्तो प्रतिवेदन बन्ने भएन,’ उनले भने, ‘महासचिव पौडेल र संयोजक बादलले माघ २१ को सचिवालय बैठकमै कार्यदल भंग गरौँ भन्ने प्रस्ताव राख्नुभएको थियो । त्यसमा अध्यक्ष ओलीको इन्ट्रेस्टले काम गर्यो । र, कार्यदललाई कठपुतली बनाए ।’ 

त्यस्तै कार्यदल सदस्य योगेश भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्य दल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् । नेता भट्टराईले सचिवालय बैठकको सो निर्णय दूर्भाग्यपूर्ण रहेको दावी गर्दै आपत्ति जनाएका हुन् । 

उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सो सम्बन्धि निर्णय विधान विपरित रहेको र त्यसले कार्य दलले काम गर्न सके÷नसकेको सही समीक्षा समेत गर्न नसकेको बताए । शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्यदल विधान विपरित सचिवालय बैठकले विघटन गरेको बताएका छन् । उनले सो कार्यदललाई कार्य दलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप लगाएका छन् ।

अब के गर्छन् कार्यदलका सदस्यहरुले ? 

सचिवालयले कार्यदल भङ्ग गरेपछि कार्यदलका केही सदस्यहरुले पार्टी विधान विपरित नेताहरुले कार्यदल भङ्ग गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।  कार्यदल भङग भएपछि असन्तुष्ट बनेका केही नेताहरुले कार्यदल किन भङ्ग गरियो ? कार्यदललाई किन असफल बनाईयो ? भन्दै आफ्ना लिखित धारणा अध्यक्षद्धयलाई बुझाउने तयारी गरेको कार्यदल सदस्य भट्टराईले रातोपाटीलाई बताए । 

‘बिहिबार कार्यदलसहित बसेको सचिवालय बैठकमा हामीले एक हप्ताको समय माग गरेका थियौँ । तर, आज बसेको सचिवालय बैठकले कार्यदललाई विदाई गर्ने निर्णय गर्यो’ नेता भट्टराईले भने, ‘किन कार्यदलको काम भएन ? कार्यदललाई किन असफल बनाईयो ? अब यसको विकल्प के हो ? भनेर कार्यदलका बहुमत सदस्यहरुले लिखित रुपमा आफ्ना धारणा सुझाव अध्यक्षद्धयलाई बुझाउँछाँै ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप