शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई अर्थमन्त्रीको आह्वान

शुक्रबार, १० फागुन २०७५, १४ : ४४
शुक्रबार, १० फागुन २०७५

–विपिन निरौला 

लण्डन– अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा जतिसक्दो धेरै लगानी भित्राउने उद्देश्य लिएर  बेलायत भ्रमणमा आएको बताएका छन् । बुधबार लण्डन आएलगत्तै  गैरआवासीय नेपाली संघ बेलायतद्वारा आयोजित डा. खतिवडाको स्वागत सम्मान तथा  अन्तरक्रिया कार्यक्रममा उनले सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरे ।

आफ्नो तीनदिने बसाइको क्रममा बेलायत सरकारसँग सहायता र लगानीका सम्बन्धमा वार्ता गरिने, नेपालमा निकट भविश्यमा हुन लागेको लगानी सम्मेलन, सम्भाव्य लगानीकर्ता र सरकारबीच को सम्भाव्यको भूमिका पनि निर्वाह गरिने उल्लेख गरे । 

डा.खतिवडाले आफु अर्थमन्त्री भैसकेपछि नेपालको अर्थतन्त्रमा सुधारको कदम चालिएको दाबी गर्दै मन्त्री खतिवडाले अहिले नेपाल आर्थिक रुपमा लगानी मैत्री देश भएको दाबी गरे। विदेशमा पेन्सन भएका नेपालीहरुले दस हजार डलर सम्मको रकम खर्च गर्न पाउने व्यवस्था आफ्नै पालामा भएको समेत उनले दाबी गरे ।

खतिवडाले सामूहिक लगानी कोषमार्फत लगानी गर्न आग्रह गरे । उनले नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको दाबी गरे ।

मन्त्री खतिवडाले बेलायती उच्च पदस्थअधिकारीहरुसँग समेत छलफल गर्न लागेको बताउँदै बेलायतको अन्तर्राष्ट्रिय विकास सम्बन्धि मन्त्रालय, डिएफआइडी र  मन्त्री लगायतको भेटमा नेपाललाई बेलायती सहायता वृद्धि र भूतपूर्व गोर्खा मागबारे छलफल हुने समेत  जानकारी दिए । भूतपूर्व गोर्खा सैनिकका समस्या कुटनीतिक भएकाले नेपाल सरकारले बेलायत सरकारसँग यसको समाधानका लागि पहल गरिरहेको उनको भनाइ थियो । डा.खतिवडाले नेपालमा प्रगतिशील कर प्रणाली लागू गरिएको जनाउँदै नेपालको अर्थतन्त्र भयावह भएको भन्ने प्रतिपक्ष र आलोचकप्रति आक्रोश व्यक्त गर्दै भने, ‘गल्ती नगरी गाली गरेमा त्यो आफैतिर फर्किन्छ ।’

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले विदेशमा बस्ने नेपालीले एक्लैले ठूलो लगानी गर्न नसके पनि सामूहिक लगानीका लागि उत्सुक भएको भन्दै गैरआवासीय नेपाली नागरिकता दिने सम्वन्धमा देखिएका केही समस्या र व्यवधानमा पुनर्विचार गर्न आग्रह गरे ।

नेपाली काँग्रेस महासमिति सदस्य एवम् चार्टर अकाउनटेन्ट  विज्ञान प्रसाईंले वर्तमान सरकारले गलत तथ्याँक प्रस्तुत गरेर आर्थिक समृद्धिको नारा दिएपनि यथार्थमा त्यो नभएको भन्दै दुई तिहाइको सरकार हुँदैमा राजनीतिक स्थिरता भएको भन्न नमिल्ने बताए ।उक्त कार्यक्रममा संघका बेलायत संरक्षक योगेन क्षेत्री, साइप्रसका रञ्जित महतो, बेलायतकै उपाध्यक्षद्वय शेरबहादुर सुनार एवम् प्रेम गाहा मगर, नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङ, भूपू गोर्खा सैनिकका अभियन्ता ज्ञानराज राई लगायतले मन्तव्य राखेका  थिए भने  कार्यक्रम सञ्चालन महासचिव आरके त्रिपाठीले गरेका थिए ।

यसैबीच शुक्रबार अपरान्ह नेपाली राजदूतावासद्वारा आयोजित नेपालमा आर्थिक लगानी भित्र्याउन सहयोग पुर्याउने उद्धेश्यले आयोजना हुन लागेको नेपाल विकास सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको  छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप