शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सबै मालपोत र नापी कार्यालयमा अब डिजिटल प्रणालीमा लगिन्छ : मन्त्री अर्याल

शुक्रबार, १० फागुन २०७५, १३ : १९
शुक्रबार, १० फागुन २०७५

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले भ्रष्टाचार र घुसखोरी रोक्नका लागि देशभरिका नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने घोषणा गरेकी छिन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले सेवाग्राहीको गुनासो सम्बोधन गर्ने उपाय भनेकै डिजिटल प्रणालीमा काम गर्ने/गराउने भएको बताइन् ।

मन्त्री अर्यालले ४५ दिनभित्र नमुनाको रुपमा काठमाडौंको कलंकीमा रहेको नापी र मालपोत कार्यालयलाई पूर्ण डिजिटल बनाउने दावी गरेकी छिन् । त्यसैगरी असार मसान्तसम्म काठमाडौं उपत्यकाका सबै नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने योजना मन्त्री अर्यालले सुनाइन् । 

मन्त्री अर्यालले केही वर्षभित्रमा देशभरका कार्यालयलाई व्यवस्थित बनाउने उनको दाबी गरिन् । साक्षात्कारमा मन्त्री अर्यालले मालपोत र नापी कार्यालयका सबै कर्मचारी भ्रष्ट नभएको भन्दै बचाउ समेत गरिन् । 

‘मालपोत र नापीका सबै कर्मचारी भ्रष्ट छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले भनेजस्तो भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था छैन । केही खराब मानिसका कारण बद्नाम भएको हो । अब डिजिटल प्रणालीमा काम सुरु भएपछि समस्या समाधान हुन्छ’ अर्यालले भनिन् ।

मन्त्री अर्यालले अब बन्ने भू–उपयोग ऐनले जग्गाको व्यवस्थित गर्ने दावी समेत गरेकी छिन् । जमिनको वर्गीकरण नौ प्रकारले गर्ने तयारी भैरहेको जानकारी दिँदै उनले कडा कारबाहीको व्यवस्था गर्न लागेको बताईन् । जमिनको वर्गीकरणअनुसार प्रयोग नभए कारबाही गरिने भन्दै उनले कृषियोग्य जमिन बाँझो राखे ३ लाखसम्म जरिवाना गरिने जनाईन् ।

उनले समग्र भूमिको व्यवस्थापन आगामी पाँच वर्षभित्र गर्नेगरि सरकारले नीतिगत रुपमै तयारी गरिसकेको पनि जानकारी दिइन् । 

मन्त्री अर्यालले ऐन बनेपछि संघ, प्रदेश र स्थानीय तहमा  भू–उपयोग परिषद् र कार्यान्वयन समिति बनाएर ऐनलाई प्रभावकारी बनाइने बताइन् ।

ऐन कार्यान्वयका लागि स्थानीय तहलाई बढि जिम्मेवार बनाउन लागिएको अर्यालले जनाईन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप