शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय विकासमा नागरिक स्वामित्व र सहभागिता

शुक्रबार, १० फागुन २०७५, १२ : ३१
शुक्रबार, १० फागुन २०७५

अहिले देशमा स्थायी सरकार निर्माण भएको छ । सङ्घीय संरचना अनुरूप सङ्घ, प्रदेश र स्थानीय सरकारहरू विकास अभियानमा संलग्न भएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ मुख्य नाराका साथ जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू आआफ्नो स्तरबाट विकास र आर्थिक समृद्धिमार्पmत आम नेपाली नागरिकहरूको जीवन सहज बनाउने प्रयास र प्रयत्नहरू  अघि बढिरहेका छन् ।

योजनाबद्ध विकास सुरु भएको झण्डै ६ दशक भयो । तर विकासलाई बुझ्ने, कसले गर्ने, विकासका उपभोक्ता र दिगो विकासका बारेमा साझा दृष्टिकोण बन्न सकेको छैन ।

कोही सुशासनलाई विकासको आधारशिला मान्छन् भने कोही अरूले गरिदिने विषय ठान्छन् । कोही नागरिकहरूको विकासमा सहभागिता किन चाहियो ? भन्ने सवाल खडा गर्छन् । विकास अरूले गरिदिने विषय होइन । आम मानिसहरूको जीवन सहज बनाउनका लागि विकास आवश्यक पर्छ । आम नागरिकहरूको सहभागिता र स्वामित्वबिना विकास सम्भव छैन भन्ने विषय पनि सँगसँगै उठ्ने गर्छ ।

सामुदायिक सुशासनबिना भ्रष्टाचार रोकिँदैन । विभिन्न तरिकाले जानी नजानी, यो वा त्यो बहानामा आम नागरिक तहमा पनि सरकारी पैसा न हो, कसैले घरबाट दिएको पैसा होइन, उपभोक्ता समितिमा सहभागिता भनेको कमाउनु हो जस्ता सोचको वृद्धि अहिले स्थानीय तहमा हुँदै गएको पाइन्छ ।  यस्ता सोचले भ्रष्टाचारलाई संस्थागत गर्न लागि योगदान गरिरहेको छ ।

मानिसहरूको संस्कार, पद्धति, मूल्य मान्यता र विचारबाट उत्पन्न हुने विषय हुन । हरेक मानिस कम्तीमा आफू सादगी बन्ने, श्रममा विश्वास र त्यसको सम्मान गर्ने, उत्पादन प्रणालीसँग आबद्ध हुने, अधिकार र कर्तव्यप्रति सचेत हुने र सरकारी पैसा हरेक नागरिकले तिरेको करबाट जम्मा हुने रकम हो । स्रोतहरूको पहिचान, संरक्षण र उपयोग गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने सोचको विकाकास गर्न सके विकासका लागि स्थानीय स्तरमै पर्याप्त स्रोतहरू जुट्न सक्छ । विकास आफ्नो जीवनको सहजताका लागि आफैले गर्ने हो भन्ने धारणा हरेक नागरिकले बनाउन सक्ने हो भने विकास र समृद्धिका लागि अर्को धेरै दशक कुर्नु पर्दैन ।

सामुदायिक विकासका लागि प्रतिबद्ध थोरै मात्र जनशक्ति निर्माण र परिचालन गर्न सक्ने हो भने विकास प्रक्रियामा धेरै ठूलो योगदान गर्न सक्छ । यही मूल मान्यताका साथ सहकर्मी समाज सुर्खेतले सामुदायिक सहजकर्ता निर्माण गर्ने उद्देश्यले ‘आधारभूत सामुदायिक विकास तालिम’ सञ्चालन गर्ने गर्छ । १५ देखि २२ दिनसम्म आवाशीय रूपमा राख्ने, तालिमका सहभागीहरूले आफै टोली निर्माण गरेर सामूहिक रूपमा खाना पकाएर खाने, दिनभरी विभिन्न विषयमा छलफल, बहस र अन्तक्र्रियामार्पmत सामुदायिक विकासका सन्दर्भमा ज्ञान, सीप र क्षमता प्राप्त गर्ने गर्छन । अहिले यो तालिम सुर्खेतको वीरेन्द्रनगरस्थित अन्तरनिर्भर समाज सामुदायिक स्रोत केन्द्रको भवनमा सञ्चालनमा रहेको छ ।

सहभागीहरूले एकापसमा मिलेर काम गर्ने अभ्यासको थालनी गर्दै प्रौढ सिकाइ व्यवस्थापन सँगै सामाजिक रूपान्तरणका लागि सहजीकरण प्रक्रियामा धेरै दिन बिताउँछन् र अन्त्यमा उनीहरू सामुदायिक विकास अभियानमा संलग्न हुने प्रयास गर्छन् ।

विकास प्रक्रिया र दिगोपना, भौतिक र मानवीय विकासको सन्तुलन, सहजीकरण, आफ्नो व्यवहार विश्लेषण र आत्म विश्लेषणको पाटोमा निखार ल्याउँछन् । सिकाइ व्यवस्थापन, विकास भित्ते पत्रिका, लैङ्गिक तथा सामाजिक समावेशीकरण, सामुदायिक सुशासन, सरकारका नीति कार्यक्रम, वैयक्तिक स्वतन्त्रता, मानवअधिकार, आर्थिक सामाजिक सांस्कृतिक अवस्थाको विश्लेषण गर्दै शक्ति र शक्ति सिर्जनाका लागि समुदायमा आधारित नागरिक सङ्गठन निर्माण तथा परिचालन प्रक्रिया जस्ता विषयमा पर्याप्त विश्लेषण गर्छन् ।

हरेक मानिससँग ज्ञान, सीप र क्षमता छ । त्यसलाई निखार्न उचित वातावरण आवश्यक पर्छ ।  यो मान्यतामा आधारित रहेर आलोचनात्मक विश्लेषण क्षमताको विकास गर्नुपर्छ । यसलाई सामुदायिक रूपान्तरणको प्रक्रियाको अवलम्बन गर्ने दिशामा आफूलाई तयार गर्छन् ।

मानिसहरूका बीचमा हुने यस्ता सामूहिक अभ्यासले विकास के हो ? यो किन चाहिन्छ ? विकास कसले गरिदिनुपर्ने हो ? विकास कसरी दिगो हुन सक्छ ? भन्ने प्रश्नको चेतना आम नागरिकसम्म पुर्याउनुपर्छ । जनसहभागिता र जनताको आवश्यकतामा आधारित, स्थानीय सीप, ज्ञान र स्रोतको प्रयोग गर्दै विकासमा मानिसहरूको स्वामित्व प्रदान गर्ने नयाँ अभ्यासको थालनी भएको मान्न सकिन्छ ।

मानिसहरू सङ्ठित भई एकापसमा मिलेर कामकाज गर्ने, एकताबद्ध रूपमा साझा सवालहरूमा छलफल गर्ने, मेलमिलाप, ऐचोपैँचो, सरसहयोग, साझेदारी नेतृत्वको विकास र परिचालन, समस्याहरूको पहिचान र समाधानका विकल्पहरूको खोजी, स्थानीय स्रोतहरूको खोजी र अधिकतम परिचालनको योजना बनाउने र मानिसको जीवनमा रहेका असहजता, अप्ठ्याराहरूलाई कसरी सहज र सरल रूपमा समाधान गर्न सकिन्छ भन्ने कुराको खोजीले विकासलाई प्रभाव पार्छ ।

 विकास अरूले गरिदिने होइन, यो त आफै आफ्ना लागि गरिने स्थानीय प्रयास हो भन्ने अर्को मान्यता पनि छ । विकासको सन्दर्भलाई बुझ्ने, त्यसमा आम उपभोक्ताहरूको अर्थपूर्ण सहभागिताको माग गर्ने गर्नुपर्छ ।  अर्थपूर्ण सहभागिताको अर्थ कुनै पनि समस्याको पहिचान, त्यसको समाधानका विभिन्न विकल्पहरूको खोजी गर्दै प्राप्त भएका विभिन्न विकल्पहरूबाट आफैले सहज रूपमा सम्पन्न गर्न सक्ने अवस्था विद्यमान रहन्छ ।

स्थानीय स्रोत साधनको प्रयोगबाट सम्पन्न गर्न सकिने खालको योजना निर्माण गर्ने, त्यो योजना कार्यान्वयनमा आफै सहभागी हुने, सम्पन्न भएपछि त्यसको मूल्याङ्कन गर्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिन जरुरी पर्छ । त्यसबाट सिक्दै जाने तरिकाले गरिएको विकासमा स्थानीय उपभोक्ताहरूले स्वामित्वबोध हुनपुग्छ र यस्तो विकास दिगो हुन्छ ।

मानिसहरूलाई उनीहरूभित्र रहेको ऊर्जाशीलताले सिंचित गराउनका आवश्यक छ । मानिसभित्र शक्ति छ, ऊर्जा छ र उनीहरूले गर्न सक्छन भन्ने कुरा सजिलै उनीहरूलाई मनाउन गाह्रो त छ तर असम्भव भने छैन । काम गर्दै जाँदा, छलफल विश्लेषण गराउँदै जाँदा मानिसहरू आफ्नो शक्तिलाई चिन्न थाल्छन । आफू र आफ्नो समुदायका बारेमा विश्लेषण गर्दै व्यक्तिमा अन्तरनिहित क्षमता चिन्न थाल्छन् । अनि विस्तारै गरे सकिन्छ भन्ने विश्वास जाग्न थाल्छ । त्यसपछि उनीहरू एक्लै होइन, सामूहिक रूपमा, सङ्गठित रूपमा कामको थालनी गर्न थाल्छन् ।

आफ्नो विकास आफै भन्ने सकारात्मक सोच र चिन्तनको विकाससँगै मानिसहरूले आफ्नो घर अगाडिको खाल्डो पुर्न, बिग्रिएको धारा मर्मत गर्न, पानीको कुवा सफा गर्न, बाटो र घर आँगन सफा गर्न र आफूले दिसा गर्ने चर्पी निर्माण गर्नका लागि गाविस नगरपालिकाको बजेट चाहिने अवस्थावाट मुक्त हुन थाल्छन् र आफै काम गर्नका लागि तयार भएका थुप्रै उदाहरण छन् ।

स्थानीय समुदायका समस्याहरूको पहिचान विश्लेषण र विकल्पहरू खोजी खोलामा बाँसको पुल निर्माण गर्ने, बाटोको खाल्डो पुर्नका लागि माटो भर्ने वा ग्राभेलिङ गर्ने, घरमा चर्पी निर्माणका खाल्डो निर्माण गरी काठका प्यानहरू राख्ने, नाली खन्ने, सामुदायिक समूहका घरहरू निर्माण गर्ने जस्ता कार्यमा जनसहभागिता बढ्न थालेको छ । विद्यालयको सरसफाइ, विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षकका बीचमा अन्तरक्रिया गरी विद्यालयको पढाइमा सुधार गर्ने कार्य पनि सामूहिक रुपमा हुन थालेका छन् ।  सामुदायिक वनहरूको निर्माण तथा वृक्षरोपण, धाराको मर्मत, कुवा मर्मत तथा सरफाइ, तरकारी खेती, नगदेबाली, बाख्रा, कुखुरा, बंगुरपालन, गाईपालन जस्ता कामहरू मार्पmत स्थानीय समुदायको जीविकोपार्जनमा सहजता ल्याउने कुरामा उनीहरू दृढतापूर्वक लागेका छन ।

स्थानीय समुदाय आफैले सामुदायिक समूहमा बचत सङ्कलन गर्ने, सदस्यहरूलाई विभिन्न आयआर्जनका क्षेत्रमा न्यून ब्याजमा ऋण लगानी असुली गर्ने जस्ता कामहरूवाट धेरै समुदायका मानिसहरूले घुम्तीपसल, चमेना पसल, विभिन्न पशुपक्षीपालन गरेर जीविकोपार्जनलाई सहज बनाउने अभ्यास गरेका छन् । उनीहरू आफैले आफ्नो बचत नै परिचालन गरेर काम गरेकाले इमानदारिता छ, काम गर्ने जोश र जाँगर छ । सिकेका अनुभव सिकाइहरूको आदान प्रदान गर्ने कामले उनीहरूमा एउटा विश्वास सिर्जना भएको छ ।

विकासका भौतिक पूर्वाधारहरू निर्माणका लागि स्थानीय स्रोतहरू मात्रै पर्याप्त नहुन सक्छन् तर स्थानीय स्रोतको पहिचान र परिचालनबाट नहुने वा नपुग्ने स्रोतका लागि मात्रै बाह्यस्रोतको खोजी गर्नुपर्छ । सबै स्रोतसाधन सरकार वा अन्य सङ्घसंस्थाले दिएपछि मात्रै विकास गरौँला भन्ने चिन्तनबाट मुक्त नभएसम्म विकासले गति लिन सक्दैन । त्यस्तो विकास दिगो पनि हुन सक्दैन ।

विकासका लागि सबैभन्दा पहिले मानवीय विकास आवश्यक छ । मानिसका चिन्तन, धारणा र विचारमा परिवर्तन नआएसम्म गरिने भौतिक पूर्वाधारको विकासले दिगोपना ल्याउन सक्दैन । यिनै मान्यतालाई आत्मसाथ गरेर सामुदायिक समूहमा सङ्गठित मानिसहरू अघि बढिरहेका छन् ।

विकासका लागि स्थानीय रूपमै पर्याप्त सोतसाधन छन् । आवश्यकता छ, समस्याको ठीक पहिचान, विश्लेषण र उपयुक्त विकल्पको छनौट गर्नु आवश्यक छ । त्यसका लागि साझा र सामूहिक प्रयत्न, सङ्गठित अभ्यास आवश्यक छ । यो एक दिन वा एक वर्ष गरेर पुरा हुँदैन । यसका लागि नियमित अभ्यास आवश्यक छ । श्रम गर्ने, मिहिनेत गर्ने मानिसको सम्मान गर्ने कुरा प्रमुख हो । काम गर्ने, मिहिनेत गर्ने मानिस अपहेलित, अपमानित हुने अवस्थाको अन्त्य आवश्यक छ ।

सामाजिक रूपान्तरणको अभियानमा सामूहिक सङ्कल्प, प्रतिबद्धता र सामूहिक कार्यप्रणालीमा विश्वास आवश्यक छ । यसका लागि साझा सामुदायिक प्रयासहरू आवश्यक छन् । सामुदायिक विकास तालिमको प्रभाव समुदायमा हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चम्फासिंह भण्डारी
चम्फासिंह भण्डारी
लेखकबाट थप