शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड कलाकारहरु करोडौं लिएर दलका प्रोपागाण्डा फैलाउन तयार भएको खुलासा, सन्नी लियोनीले लिइन् मोदीको नाम

बिहीबार, ०९ फागुन २०७५, २० : ०९
बिहीबार, ०९ फागुन २०७५

एजेन्सी– खोजी पत्रकारिता गर्ने भारतीय अनलाइन कोबरा पोस्टको स्टिंग अपरेशनमा बलिउड केही परिचित हस्तीहरुले पैसा लिएर राजनीतिक दलको प्रचार गर्न तयार भएको देखिएका छन् ।
उनीहरुले भनिएका दलको प्रचार गर्नको लागि सामाजिक सञ्जालमा प्रति पोस्ट २ लाखदेखि दुई करोडसम्मको माग गरेका थिए । 

सन् २०१९ को लोकसभा चुनावभन्दा ठीकअघि बलिउडका ज्याकी श्राफ, विवेक ओबरोय, सोनू सूद, राखी सावन्त, सनी लियोनी, कैलाश खेर र अन्य ३० भन्दा बढीमाथि स्टिङ्ग अपरेशन गरिएको थियो । 

क–कसले माने पैसामा दलको प्रचार गर्न ?

पैसाको लागि समाजिक सञ्जालमा कुनै पनि पार्टीको प्रचार गर्न तयार यी स्टारमा पाश्र्व गायक अभिजित भट्टाचार्य, कैलाश खेर, मीका सिंह, बाबा सहगल, अभिनेता ज्याकी श्राफ, शक्ति कपूर, विवेक ओबरोय, सोनू सू, अमीषा पटेल, महिमा चौधरी, श्रेयस तलपडे, राखी सावन्त, अमन बर्मा, सनी लियोन, कमेडियन राजू श्रीवास्तव, सुपनल पाल, राजपाल यादवजस्ता नाम छन् । 

यसका अतिरिक्त यसमा पुनीत इस्सर, सुरेन्द्र पाल, पंकज धीर र उनका छोरा निकितिन धीर, टिस्का चोपडा, दीपशिखा नागपाल, अखिलेन्द्र मिश्रा, रोहित भट, सलिम जैदी, हितेन तेजानी र उनकी पत्नी गौरी प्रधान, एवलिन शर्मा, मिनिषा लाम्बा, कोइना मित्रा, पूनम पाडेय, उपासना सिंह, कृष्णा अभिषेक, विजय इश्वरलाल पवार, कोरियोग्राफर गणेश आचार्य र डान्सर–अभिनेता सम्भावना सेठ पनि छन् । 

कोबरा पोस्टका रिपोर्टरहरुले एक छद्म पीआर एजेन्सीका प्रतिनिधि बनेर यी स्टारसँग भेटघाट गरेका थिए । प्रतिनिधि बनेका रिपोर्टरहरुले कलाकारहरुलाई तिनको फेसबुक, ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत एक राजनीतिक पार्टीलाई प्रचार गर्न आग्रह गरेका थिए । 

यी कार्यको मुख्य उदेश्य सन् २०१९ को चुनावअघि पार्टीको लागि अनुकूल वातावरण तयार गर्नु रहेको बताइएको थियो ।  उनीहरुलाई बताइएको थियो, ‘हामी तपाईहरुलाई हरेक महिना अलग अलग विषय दिनेछौं । तिनलाई तपाईं आफ्नो शब्दमा उतारेर आफ्नो फेसबुक, ट्वीटर र इन्स्टाग्राम एकाउन्टमा पोस्ट गर्नुपर्नेछ । तपाईं र हामीबीच आठ–नौ महिनाको एक देखावटी सम्झौता हुनेछ । यतिमात्र होइन पार्टी कुनै समस्यामा घेरिँदा तपाईहरुले पार्टीको बचाउ पनि गर्नुपर्नेछ ।’

यी चर्चित स्टारले सबै सर्तहरुलाई मान्दै आफूले मागेको पैसा पाएमा कुनै पनि पार्टीको लागि समाजिक सञ्जालमा प्रोपोगाण्डा फैलाउन तयार थिए । फरक–फरक कलकारहरुलाई भारतीय जनता पार्टी, काँग्रेस वा आम आदमी पार्टीको लागि सम्पर्क गरिएको थियो ।  

एक पोष्ट गर्न दुई करोडसम्म माग

स्टिङ्ग अप्रेसनका क्रममा कलाकारहरुले एक पोष्टको लागि दुई लाखदेखि लिएर दुई करोड भारुसम्म माग गरे । रकमको भुक्तानी गर्ने कुरामा पनि एक दुई कलाकार बाहेक सबैले क्यासमै अर्थात कालो धनको रुपमा लिन कुनै आपत्ति मानेनन् । 

केही कलाकार त आफ्नो समाजिक सञ्जाल एकाउन्टबाट काँग्रेस अध्यक्ष राहुल गान्धीको खिल्ली उडाउन पनि तयार भएका थिए ।  स्टिङगको दौरान अभिनेता महिमा चौधरी भन्छिन्, ‘भाजपा ? भाजपा त जे पनि दिन सक्छ ? उसले त एक करोड पनि दिन सक्छ ।’

उता अभिनेता सोनू सूद हरेक महिना १५ म्यासेज गर्न तयार थिए तर प्रति म्यासेजको २.५ करोड माग गरिरहेका थिए ।  न्यूज च्यानल र ट्वीटरको माध्यमबाट मानिसहरुमा राष्ट्रवादको पाठ पढाउने पाश्र्व–गायक अभिजित भट्टाचार्य भन्छन्, ‘स्वभाविक देखियोस् भन्नको लागि म ट्राफिकमा गाडी ्भित्र बसेर बोल्दिन्छु । चिया अथवा कफि पसलमा बसेर बोलिदिन्छु ।’

उता कोरियोग्राफर गणेश आचार्य डान्सको माध्यमबाट प्रचार गरेर यो कुरा लाखौं करोडौं मानिसहरुसम्म पुर्याउने बताउँछन् ।

अभिनेता ज्याकी श्राफ असल कुरा फैलाउँदा पनि पैसा प्राप्त हुन्छ भने भगवानबाट अरु के चाहिन्छ र भन्छन् । मोडल तथा बलिउड अभिनेत्री सनी लियोनी आफ्नो पति ड्यानियललाई मोदीले भारतीय नागरिकता दिए निश्चित रुपमा उनको समर्थन गर्ने बताउँछिन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्ममा मुख्य भूमिका निभाइरहेका अभिनेता विवेक ओबरोय यस सम्झौताको लागि निक्कै आतुर देखिन्छन् । उनी तत्कालै सम्झौता गरेर तत्कालै काम सुरु गर्ने बताउँछन् । 

मोडल तथा बलिउड अभिनेत्री अमिषा पटेल अग्रिम भुक्तानी चाहन्छिन् ।  पैसा लिएर दलको प्रचार गर्न अस्वीकार गर्नेहरु पनि तर यो सबैबीच पनि विद्या बालन, अरशद वारसी, रजा मुराद र सौम्या टन्डनले यो काम गर्न अस्वीकार गरिदिए । 

उनीहरुले पैसा लिएर राजनीतिक दलको प्रचार गर्न गरिएको प्रस्तावलाई अस्वीकार गरिदिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप