शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डीपीएल क्रिकेट: महेन्द्रनगर एक रनले विजयी

बिहीबार, ०९ फागुन २०७५, १८ : १३
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– महेन्द्रनगर युनाईटेड तेस्रो रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायर्समा प्रवेश गरेको छ । फाप्ला क्रिकेट मैदानमा बिहिबार भएको इलिमिनेटरमा शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगरले बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई एक रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा पुगेको हो ।

महेन्द्रनगरले फाइनल प्रवेशका लागि सुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा सिवाईसी अत्तरियासँग उपाधिका लागि खेल्नेछ । रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ ।

महेन्द्रनगरले दिएको एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही २० ओभरमा ९ विकेटको क्षतिमा एक सय १४ रनमा समेटिएको थियो । रोमाञ्चक खेलमा रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८–२८ रन बनाए । विनोद भण्डारी २३, सन्दीप सुनार १४ र सुमित महर्जन १० रन बनाए । महेन्द्रनगरका अविनास बोहराले दुई विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र सिदान्त लोहनीले एक एक विकेट झारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । महेन्द्रनगरका लागि शरद भेषवाकरले अविजित २९ रन बनाए । आनन्द सुब्रमन्युले २०, अमर सिंह रौटेलाले १९, मोहमद नाभिदले १८ तथा अविनाश बोहोरा र आरिफ शेख ११–११ रन बनाएका थिए । बलिङमा रुपन्देहीका ललित भण्डारी एक्लैले चार विकेट लिए । पुनित मेहेराले तीन र बसन्त रेग्मीले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप