शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आउन अर्थमन्त्री डा. खतिवडाको आग्रह

बिहीबार, ०९ फागुन २०७५, १७ : ३५
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरे । उनले समस्या र सम्भावनाबा बारेमा छलफल गर्न आएको बताए ।

नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताए । ठुलो मुलुकमा चेकजाँँच हुँदा सामान्य मानिने भएपनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको उनको भनाई छ ।

विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको व्यवस्था भएको भन्दै सबै देशले पनि पूँजी खाता नियमन गर्ने व्यवस्था भएको स्मरण गराए । 

करका दरहरु बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाले बताए । इतिहासमै पहिलो पटक यति धेरै आर्थिकबृद्धि हुने भन्दै उनले जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढि आर्थिकबृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताए ।

मुल्यबृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिकबृद्धि समग्रमा वैदेशिक व्यापार बाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरवासीय नेपालीलाई उनले स्पष्ट पारे । वैदेशिक व्यापार समस्या अहिले सृजना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको उनको भनाइ छ ।

विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाले बताए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन गएका हुन् । 

सम्मेलनमा डा. खतिवडाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पु¥याउने उद्देश्य छ । । बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप