शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उच्च हिमाली जिल्लामा फेरि हिमपात, डोल्पालीहरू अलपत्र

बिहीबार, ०९ फागुन २०७५, १३ : १७
बिहीबार, ०९ फागुन २०७५

हुम्ला – हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । 

उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिग्रँदा एक महीनादेखि मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । 

त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्ला बाहिर रहेका आफन्तसँग सन्चो बिसन्चो सोध्नलाई समस्या बनाएको छ । 

माघ महीनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ । आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ । हिमपातले चिसो बढ्दै गएको छ । 

प्रहरीको वासस्थान स¥यो 

नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी भारी हिमपातको चिसोले तीन घण्टा पैदल हिँडेर पुग्ने स्थान तुम्कोटमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । 

नेपाल प्रहरीको सञ्चारसेटबाहेक अन्य टेलिफोन सेवा बिग्रँदा समस्या बनाएको उनले जानकारी दिनुभयो । नाम्खा गाउँपालिकाको खबर प्रहरी सञ्चार सेटमा लिने गरेको जानकारी प्राप्त भएको छ । 

उत्तरी नाम्खा गाउँपालिका उच्च हिमाली गाउँपालिकामा पर्ने भएकाले हिमपातले चिसो बढाएको तीन घण्टा तल बेँसीतिर सारिएको उनले बताए । 

दाउराको माग 

जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला दाउराको माग बढ्दै गएको छ । हिमाली जिल्ला हुम्लामा लगातार हिमपात हुँदा चिसो बढेसँगै दाउराको माग बढ्दै गएको छ । 

उत्ता हिल्दुम साना जलविद्युत् केन्द्रले विद्युत् भार कटौती समय तालिका बढाउँदै गएपछि दाउराको माग बढेको हो । 

जिल्लाका खार्पुनाथ सिमकोट गाउँपालिकाका स्थानीयले सिमकोट बजारमा ल्याएका दाउरा एक भारीको रु ५०० देखि एक हजारसम्मको मूल्य तिरेर खरीद गर्नुपरेको सिमकोटमा बस्दै आएका विनिता महताराले बताए ।

लगातार हिमपात हुँदा घार बनाउन वनमा गएर दाउरा टिप्नलाई गाह्रो हुँदा महँगो मूल्यमा किन्नुपरेको उनले बताए । दाउरा बिक्री गर्ने खच्चड व्यवसायीले पनि राम्रो आम्दानी गरेका छन् । 

डोल्पालीहरू अलपत्र 

केही समयदेखि परेको हिमपातले डोल्पा जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । चार÷पाँच फिटसम्मको हिउँ जमेका कारण यहाँका वासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । 

विगतका वर्षहरुमा सामान्यतः माघको अन्तिमसम्म मात्रै हिमपात हुने गरेकामा यस वर्ष फागुनको मध्यसम्म पनि हिउँ पर्ने क्रम रोकिएको छैन । 

हिमपातकै कारण कतिपयको घरभित्र जोहो गरेको खाद्यान्न सकिन लागेकाले भोकमरीको अवस्था आउने सम्भावना देखिएको छ । विरामी हुँदा औषधोपचार गर्ने तथा चौंरीलगायतका पशुहरूलाई खुवाउने कुराको अभावमा भोकै मर्ने स्थिति समेत उत्पन्न हुनसक्ने खतरा देखिएको छ । 

हिमपात नरोकिएका कारण जाडो छल्न काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा झरेका कतिपय डोल्पाली घर फर्किन सकेका छैनन् । 

महीनौंसम्म राजधानीमा बस्नुपर्दा खर्च धान्न पनि मुस्किल भएको डोल्पा बुद्ध गाउँपालिका९१ धो तरापका नाम्ग्याल गुरुङले बताए । उनका अनुसार यतिबेला राजधानीमा मात्रै ५०० भन्दा बढी डोल्पाली बौद्धलगायतका स्थानमा अलपत्र परेका छन् । गुरुङ भन्छन्, ‘‘अधिकांशको राजधानीमा आफन्तको घर नभएकाले बौद्धका गलैंचा कारखानाहरूमा बस्नु परेको छ ।’’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप