मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवालय बैठकमा बादलले भने, म ‘कन्फ्युज ’ भएछु !

बिहीबार, ०९ फागुन २०७५, १२ : ४३
बिहीबार, ०९ फागुन २०७५

काठमाडौँ–सत्तारुढ दल नेकपाको पार्टी एकतासम्बन्धी कार्यदलले बाँकी काम सम्पन्न गर्न सचिवालयसँग एक हप्ताको समय माग गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कार्यालयका सदस्यहरुसहित बसेको सचिवालय बैठकमा कार्यदलका सदस्यहरुले एकीकरणका बाँकी काम कार्यदलले नै टुंगाउन सक्ने भन्दै थप एक हप्ताको समय माग गरेका हुन् । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबारको बैठकमा कार्यदलका सबै सदस्यले आफ्नो धारणा राखेको र बाँकी निर्णय शुक्रबार बस्ने बैठकले गर्ने बताए ।
 ‘कार्यदलका सबै साथीहरुले आफ्नो धारणा राख्नुभयो । उहाँहरुले बाँकी काम कार्यदललेनै गर्न सक्ने भन्दै थप समय माग गर्नुभएको छ । अब कार्यदललाई दिने वा के गर्ने भन्नेबारे भोलिको बैठकले निर्णय गर्छ’, प्रवक्ता श्रेष्ठले भने ।

बैठकमा कार्यदलका नौ सदस्य मध्ये अधिकाशं नेताहरुले प्रदेश कमिटी हेरफेरमा विवाद भएपछि त्यसलाई थाँती राखेर अन्य विषयमा छलफल गर्ने निर्णय भएपनि संयोजक रामबहादुर थापा बादलले बैठक नबोलाएको भन्दै उनको आलोचना गरेका थिए । 

बैठकमा सहभागि एक नेताका अनुसार त्यसपछि संयोजक बादलले आफू ‘कन्फ्युज भएको बताए थिए । 

‘माघ ६ गतेको बैठकमा प्रदेश कमिटी हेरफेरमा कार्यदलका सदस्यबीच मतैक्यता हुन सकेन । त्यसकै कारण बाँकी विषयको लागि नरोकिआँै भन्ने भएपछि संयोजकले अर्को बैठक बस्ने भन्नु भएको थियो’, ती नेताले भने, ‘तर उहाँले बैठकनै बोलाउनु भएन बरु केही नेताहरुबाट कार्यदल असफल भयो भन्ने खालका टिप्पणी बाहिर आए । माघ २१ गतेको सचिवालय बैठकले यथास्थितिमा प्रतिवेदन माग्यो । त्यसपछि  बैठक बसेर अहिलेसम्म भएको प्रगति प्रतिवेदन सचिवालयलाई बुझायौँ ।’

ती नेताले अगाडि भने, ‘बैठकनै नबोलाउने अनि कार्यदल असफल भयो भन्ने टिकाटिप्पणी बाहिर गर्ने भएपछि कार्यदलका अधिकांश साथीहरुले वाँकी काम कार्यदललेनै टुंगाउने भन्दै सचिवालयमा थप समय माग गरेका छाैं । आजको बैठकमा सबै साथीहरुले आ–आफ्ना सुझाव धारणा राख्नु भएको छ । बाँकी निर्णय अब सचिवालयले गर्छ ।’

ती नेताका अनुसार कार्यदलका अधिकांश नेताहरुले संयोजकको कमजोरी रहेको बताएपछि बादलले प्रदेश कमिटीमा विवाद भएपछि अब बैठक नबस्ने भन्ने सुनेर बैठक नबोलाएको बताएका थिए । संयोजक बादलको भनाई उद्धत गर्दै ती नेताले भने, ‘कार्यदलको माघ ६ गतेको बैठकले केही प्रदेश कमिटीलाई लिएर सहमति हुन सकेन । त्यसपछि अव बैठक नबसौँ भनेजस्तो मैले बुझेछु । म कन्फ्युज भएछु ।’ 

बैठकमा शंकर पोखरेल र रघुवीर महासेठले दुई जनालाई ( संयोजक बादल र महासचिव विष्णु पौडेल ) लाई मात्र दोष दिन नहुने भन्दै काम हुन नसकेको सवै जिम्मा कार्यदलका सवैले लिनुपर्ने धारणा राखेको पनि ती नेताले जानकारी दिए । 

तर, अव कार्यदललाई थप समय दिने वा नदिने भन्नेबारे सचिवालयका नेताहरुबीच मतैक्यता नभएको सचिवालयका एक नेताले बताए । 

‘कार्यदललाई थप समय दिने वा सचिवालयले नै टुंगाउने भन्नेबारे एकमत छैन’ ती नेताले भने, ‘केहीसचिवालयलेनै टुंगाएर कार्यदल विघटन गर्नुपर्छ भन्ने धारणा छ । अरु केही नेताहरुको कार्यदललाई नै थप समय दिने पक्षमा हुनुहुन्छ । बाँकी निर्णय भोलिको बैठकले गर्छ ।’

नेकपाले गत पुस १३ गते एकीकरण टुङ्ग्याउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका छन् । 

यो पनि.....

बादलको प्रतिवेदन पारित, बाँकी काम टुंग्याउन कार्यदलले माग्यो थप समय

अचानक बादलको प्रतिवेदन आएपछि नेकपाको कार्यदलमै विवाद बढ्यो

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप