शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हात्तीका लागि वृद्धाश्रम

बिहीबार, ०९ फागुन २०७५, ०७ : ४७
बिहीबार, ०९ फागुन २०७५

चितवन – बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ । सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार गरी राखिन्छ। उसै पनि हात्ती पालनपोषणमा खर्च बढी लाग्छ । आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु झन् चुनौतीपूर्ण कार्य हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अनिल ढकालले लेखेका छन् । 

वृद्धाश्रमले काम गर्न नसक्ने अवस्थाका हात्ती जम्मा गरी तिनको स्याहार गर्नेछ। हात्ती नमरेसम्म त्यहीँ पालिन्छ। खैरहनी नगरपालिकाको कुमरोजमा साढे दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन र हात्तीको वृद्धाश्रम सुरु गरिएको हो। वृद्धाश्रममा राखिएपछि रिसोर्टमा आएका पाहुनाले हात्तीको दिनचर्या हेर्न पाउनेछन् । 
 
मंगलबारदेखि सुरु गरिएको वृद्धाश्रममा ४५ वर्षको बिरामी पोथी हात्ती ‘सीताकली’ लाई राखिएको छ । अशक्त यो हात्तीले आँखा देख्दैन । एक जना माहुते त्यसको स्याहारका लागि खटाइएको छ। तारबारले घेरिएको खुला चौरमा हात्तीलाई छाडिएको छ । हात्ती राख्न बनाइएको जग्गामा उसलाई मन पर्ने खानेकुरा, बोटबिरुवा लगाइनेछ । हात्तीलाई मौसमअनुसार फलफूल खुवाउने रिसोर्टको योजना छ ।  

वृद्धाश्रममा ४० देखि ५० वर्ष नाघेका हात्ती ल्याइन्छ । हात्ती संरक्षणका लागि भेटेरेनरी चिकित्सक अमेरिकी नागरिक डा.ट्रिस लन्डन खटिएकी छन् । बिरामी हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सकको सहयोग र समन्वय गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप