माओवादी केन्द्रका नेताहरुले प्रदेश नं २ को सभामा के के भने ?

person explore access_timeसाउन १६, २०७४ chat_bubble_outline0

काठमाडौं – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्व सन्ध्यामा आज धनुषाको जनकपुरधाममा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिदै उनले पार्टीलाई पहिलो पार्टी बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा जोड दिए । 
अध्यक्ष प्रचण्डले भने, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ । अरु पार्टीहरुले भ्रमको खेती गरेका छन् । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’
अध्यक्ष प्रचण्डले अगाडि जोड दिदै भने, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाती जातीलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फाँसीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’
माओवादी केन्द्र नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको स्पष्ट पार्दै उनले आफूहरुले उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताए । 
अध्यक्ष प्रचण्डले भने, ‘मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन् । उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन ।’

हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराईमधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा रहेको भन्दै उनले  एमाले र मधेशी दलले लिएजस्तो जाती जाती भिडाउने नारा नभएको बताए । 
 मधेशी जनताको मुक्तिका लागि १३०० जनाले सहादत गरेको स्पष्ट पार्दै उनले मधेशको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र मात्रै भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई मधेशलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो ।’
माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी नभएको भन्दै उनले कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो । विकास, समृद्धि र उज्यालो नेपालको अभियानले त्यसलाई पुरै खारेज गरिदिएको स्पष्ट पारे । 
संविधानमा हामीले प्राप्त नगरेका कुरा छोडेका छैनौं । हामी हाम्रा मुद्दाका पक्षमा निरन्तर लडिरहने उनको कथन थियो ।  लोडसेडिङको अन्त्य, २५ वर्षपछि आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा पुग्नु, हुलाकी राजमार्ग, फास्ट ट्रयाक निर्माण, महाकाली नदीमा पुल निर्माण र राष्ट्रिय गौरवका आयोजनामा तिब्र प्रगति जस्ता महत्वपूर्ण काम इतिहासले कहिल्यै भूल्न नसक्ने उपलब्धि रहेको उनको भनाइ थियो । 
अध्यक्ष प्रचण्डले भने, ‘हामीले बासमति चामल फलायौ । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौ । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ।’
उनले एमालेलाई मधेशी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भएपनि बाध्यतावश स्वीकार गरेकाले उनीहरु  बलिया भए भने परिवर्तन उल्टाउने चिन्ता व्यक्त गरे । 
अध्यक्ष प्रचण्डले जोड दिदै भने, ‘माओवादी फुट्दा जनता रोएका छन् । जनताको त्यत्रो अपेक्षा थियो । तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्दि आउनुपर्छ’ । उनले थप जोड दिए, ‘प्रचण्डले पार्टी बिघटनको प्रस्ताव गर्याे भनेर हल्ला गर्दैछन् । पार्टी बिघटन कल्पना नगर्दा पनि हुन्छ । तर, पार्टीका गलत संस्कृति र प्रवृत्ति भने बिघटन गर्नुको बिकल्प छैन ।’
त्यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको मुद्दा लिएर जनतामा जाने सो नाराको व्यहारिक कार्यान्वयन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्रै  देशको स्वाधिनता जोगाउन, राष्ट्रिय एकता बलियो बन्ने स्पष्ट पारे ।
रामबहादुर थापा बादलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र स्थापना गरेको बताए ।
उनले राजनीतिक दृष्टिले मधेश स्वायत्त प्रदेश बनिसकेको छ, असोज २ को चुनावपछि त्यसले बैधानिकता पाउँने र त्यसैलाई नै  नयाँ एकता हासिल गर्न सक्ने बनायोै भने यौ भने २ नम्वर प्रदेशमा माओवादी केन्द्र पहिलो हुनेमा शंका नरहेको स्पष्ट पारे ।
उनले भने, ‘प्रदेश नं २ सामन्तवादको गढ हो, जमिन्दारहरुको बोलवाला छ, माओवादीले जिते मात्र यसलाई बदल्न सकिन्छ । क्रान्तिकारी उपलब्धिहरुको रक्षा गर्न माओवादी उम्मेदवारहरुले जित्न जरुरी छ ।
उनले  संगठनात्मक श्रेष्ठता हासिल नगरी राजनीतिक उपलब्धिहरु जोगाउन मुस्किल पर्ने धारणा समेत राखे । त्यस्तै, पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान कार्यान्वयनको प्रक्रिया सफल पार्न असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन हुन लागेको र नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेशी जनताले गरेको बताए । 
नेता प्रकाशले भने, ‘नेपालमा गणतन्त्र, संघीयता, नयाँ संविधान लगायतका जुन परिवर्तन हासिल भएका छन्, यसको एक मात्र हकदार माओवादी केन्द्र हो ।’ उनले थप जोड दिदै भने, ‘विभिन्न षड्यन्त्र छन् । तर, अब निर्वाचनलाई कुनै शक्ति र षड्यन्त्रले रोक्न सक्दैन । असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन भएरै छोड्छ ।’
मधेशी लगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरि माओवादी केन्द्र संविधान संशोधनका लागि प्रयत्नशील रहेको तर  एमाले संकिर्ण जातिवादी, नश्लवादी र सामन्ती पार्टी भएकाले त्यसको कुनै राजनीतिक मूल्य, मान्यता र संस्कार समेत नभएको बताए ।
कार्यक्रममा गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल प्रभु साह , उर्मिला अर्याल , विश्वनाथ साह, प्रल्हाद बुढाथोकी,रामकुमार यादव , भरत साह ,डाचाराज वाग्लेलगायतको सहभागिता थियो । 

कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्यहरु सहित स्थानीय नेता तथा कार्यकर्ता गरी करिब हजार जनाको सहभागिता रहेको थियो । 
प्रशिक्षणमा ८ जिल्लाका संयोजकहरुले रिपोर्ट प्रस्तुत गरेको थियो ।  त्यसमा मूख्य प्रतिस्पर्धी कांग्रेस रहेको केही स्थानमा मधेशवादी दल र एमाले प्रतिस्पर्धी, मधेशमा माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको  आन्तरिक मतभेद सम्बोधन गरे २ नम्वर प्रदेशमा पहिलो हुने रिपोर्ट प्रस्तुत गरिएको थियो ।

करिब तीन सय जना पार्टी प्रवेशः 

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामचन्द्र मण्डल, नयाँ शक्ति नेपालका नेता विजयकुमार साह लगायत विभिन्न पार्टी परित्याग गरि ३०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डलगायतका नेताहरुले स्वागत गरिएको थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।