शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एलपी ग्यास उद्योग बन्द गर्ने चेतावनी, यस्ता छन् ग्यास उद्योग संघको आन्दोलनका कार्यक्रम

बुधबार, ०८ फागुन २०७५, १५ : २३
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–नेपाल एलपी ग्यास उद्योग संघले माग सम्बोधन नभए सम्पूर्ण एलपी ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ । 

नेपाल एलपी ग्यास उद्योग संघले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रमबारे जानकारी गराएको हो ।

 संघले फागुन २८ गते देखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण ठप्प पार्ने जनाएको छ ।  संघले फागुन १६ गते सम्म माग सम्बोधन नभए १७ गते देखि एलपी ग्यासको पिडिओ खरिद ठप्प पार्ने , सबै रिफाईनरीहरुबाट ग्यास लोडिङ्ग बन्द गर्ने, लोड भएका बुलेटहरु भन्सार नाकाबाट नछुटाउने लगायत कार्यक्रम सार्वजनिक गरेको छ । 

संघका अध्यक्ष गोकुल भण्डारीले अनधिकृत उद्योग इजाजत, नेपाली बुलेट संचालनमा ढिलाई , बिमा लगायतका माग अझै सम्बोधन हुन नसकेकाले आफूहरु काम ठप्प पार्न बाध्य भएको बताए । 

संघले ग्यास उद्योगको संचालन खर्च र विक्रेता÷ वितरकहरुको कमिशन निर्धारण गर्न संघको प्रतिनिधि रहने गरि छुट्टै समिति गठन गर्नुपर्ने र सो समितिको सिफारिस अनुसार प्रत्येक बर्ष कमिशन ÷खर्च समायोजन हुनुपर्ने, ग्यास उद्योग संञ्चालनका लागि अनधिकृत रुपमा दिईएका इजाजत, सम्बन्धन तथा अनुमति पत्र तत्काल खारेज गर्नुपर्ने, तराईका सबै स्थानहरुका लागि एउटै मुल्य कायम गर्नुपर्ने माग गर्दै आएको छ । 

त्यसैगरी संघ र इण्डो नोपाल बल्क ट्रान्सपोर्ट एशोसिएशनबीच २०७३ अशोज २ गते  ग्यास आयातमा नेपाली बुलेट मात्र संचालनमा ल्याउने भनी सम्झौता भएको भन्दै सो को तत्काल कार्यान्वयन गर्न कुटनितिक पहल गर्न माग गरेको छ । 

खाना पकाउने एलपी ग्यासको मासिक कोटा छ ÷छ महिनामा निर्धारण गर्नुपर्ने,  ईपिडिओ तथा बैक एलसी मापर्फत निगमले पिडिओ बनाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको सम्बन्धमा बिमा सम्बन्धी आवश्यक नीति कानूनमा नै व्यवस्था हुनुपर्ने तथा नेपाल आयल निगमको एल पी ग्यास विनियमावली २०६५ संशोधन लगायत माग संघले अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप