शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

बुधबार, ०८ फागुन २०७५, १० : ५३
बुधबार, ०८ फागुन २०७५

अछाम – सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । 

खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिए । 

चालू आर्थिक वर्षको असार मसान्तसम्म खेलमैदान निर्माणकार्य सम्पन्न गरिसक्नु पर्नेछ । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १०, कञ्चनपुरमा छ, अछाममा चार, बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ र बाजुरामा दुई÷दुई खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

अछामका चार ठाउँमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । जिल्लाका चार प्रदेश निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । 

चार प्रदेशसभा निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने जानकारी आफुहरुले पाएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख हर्कबहादुर साउदले जानकारी दिए । 

उहाँले निर्वाचन क्षेत्र नं १ को प्र्रदेशसभा १ मा बडासैन खेलमैदान रिडीकोट–२ को थालाकोट खेलमैदान कालिका तथा क्षेत्र नं २ को प्रदेशसभा २ मा मालिका रङ्गशालाको स्तरोन्नतिमा बजेट खर्च हुने प्रवल सम्भावना रहेको बताए । 

क्षेत्र नं २ को प्रेशसभा १ मा नयाँ मैदानका लागि पनि खर्च हुनसक्नेछ । सामाजिक विकास मन्त्रालयबाट आधिकारिक जानकारी नआएकाले खेलमैदान निर्माण, सुधार तथा कुन स्थानमा हुने भन्नेबारे आधिकारिक छलफल नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप