शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय सर्वोच्चताको मात्रै व्याख्या भयो : डा. कोइराला

मङ्गलबार, ०७ फागुन २०७५, २१ : ०४
मङ्गलबार, ०७ फागुन २०७५

बनेपा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकार दुई तिहाई बहुमतका भएका कारण संवैधानिक सर्वोच्चताको कुरा बिर्सेर संसदीय सर्वोच्चताको मात्रै व्याख्या भएको बताएका छन् । 

गिरिजाप्रसाद कोइराला प्रतिष्ठान काभ्रेपलाञ्चोक शाखाले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा ६९औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्र, शान्ति र विकासका लागि लोक नायक गिरिजाप्रसाद कोइरालको योगदान’ विषयक विचार गोष्ठीमा उनले शक्ति सन्तुलन प्रधानमन्त्रीको हातमा मात्रै राखेको र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई आफ्नो हातमा लिएको आरोप लगाए । उनले नेताहरुले नेपाली जनताको परीक्षण गर्न खोजेको बताए। 

सो अवसरमा उनले पार्टीभित्र गुटउपटु भएको बताउँदै उनले त्यसले राम्रो काम गर्न प्रेरित गर्ने बताए । ‘कुनै पनि पार्टीमा गुट हुनु राम्रो कुरा हो, त्यसले सही खालको काम गर्न उत्प्रेरणा दिन्छ ।’ उनले भने, ‘तर राजनीतिमा सही संस्कार र नैतिकलाई जोगाएर राख्न सक्नुपर्छ ।’  

कार्यक्रममा स्वः गिरिजाप्रसाद कोइरालाका तात्कालीन प्रेस संयोजक शीतल कोइरालाले अन्तर्राष्ट्रिय हिसाबले स्थिति खतरामा रहेको र वैचारिक दार्शनिक हिसाबले देश कमजोर भएको बताए । 

गिरिजाप्रसाद कोइराला प्रतिष्ठानका प्रदेश नं ३ का संयोजक रिता खनालले काङ्ग्रेसले संसद्मा ठूलो अपमान सहनु परेको उल्लेख गर्दै अब काङ्ग्रेसले चुनाव जित्नका लागि भर्खरै पार्टी प्रवेश गरेकाहरुलाई नभई पुराना र निष्ठावान नेता कार्यकर्तालाई टिकट दिनुपर्ने बताए । 

आज नै नेता कोइरालाले गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको काभ्रेपलाञ्चोक शाखा कार्यालयको उद्घाटन गरे । 

जिल्लामा शंखबुद्ध लामाको संयोजकमा २७ सदस्यीय जिल्ला समिति गठन भएको प्रतिष्ठानले जनाएको छ । सो अवसरमा गिरिजासाद कोइरालको विभिन्न कालखण्डमा खिचिएका तस्बीरहरुको प्रदर्शन गरिएयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप