शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालको सुखद सुरुवात, मलेसिया ३४ रनले पराजित

मङ्गलबार, ०७ फागुन २०७५, २० : १४
मङ्गलबार, ०७ फागुन २०७५

काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय २६ रन बनाएको थियो । एक सय २७ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९२ रनमा समेटिएको थियो ।

नेपालको लागि ओपनर सिता रानामगरले ४२ रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाईन् । काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन बनाईन् ।

मलेसियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दुरीसिंघमले समान २१–२१ रन बनाए । सासा आज्मीले १६ रन बनाईन् । बलिङमा नेपालकी करुना भण्डारी र सरिता मगरले समान दुई दुई विकेट लिए । 

कविता कुँवर र सिता रानामगरले एक एक विकेट झारे । पहिलो जितसँगै नेपालले दुई अंक बनाएको छ । नेपालले दोस्रो खेल बिहीबार थाइल्यान्डसँग खेल्नेछ ।

एसिया छनोटमा नेपालसहित थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ सहभागी छन् । राउन्ड रोबिन लिगको आधारमा हुने छनोट खेलको बिजेताले आईसीसी महिला टी–२० विश्वकप र एकदिवसीय विश्वकपमा छनोट हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप