बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बीपीलाई सम्झिँदै कान्छा पण्डितले भने, ‘राजा महेन्द्रलाई छोडेर मकहाँ बास बस्नुभएको थियो ।’

मङ्गलबार, ०७ फागुन २०७५, १६ : १६
मङ्गलबार, ०७ फागुन २०७५

बुटवल–  कुनै समय कान्छा पण्डितका नामले बीपी कोइरालादेखि सुवर्ण शम्शेर, मोहनशम्शेर सम्मले चिन्ने र नजिक बनाउने पात्रको नाम हो गुल्मी उपल्लो तम्घासका ९८ वर्षीय बृद्ध फर्शुराम पन्थी । उनलाई त्यस बेलादेखि  गुल्मी जिल्लाका अधिकांश परिवार र व्यक्तिले समेत चिन्ने गर्छन् ।

मंगलवार ६९ औं प्रजातन्त्र दिवसको अवसरमा उनै पन्थीले पहिला बीपी  कोइरालालाई सम्झिँदै भने– ‘२०१६ सालमा उहाँ राजा महेन्द्रसँग तम्घास आउनुभएको थियो । राजा महेन्द्रलाई तल बजारमा रहेको अतिथि गृहमा  छाडेर यो उकालोमा पर्ने मेरो घरमा बास बस्न बीपी आउनुभएको थियो ।’ 

बीपीको जनप्रेम र मिठो बोली भाषा अझै कानमा गुञ्जिने गरेको बताउँदै उनले भने, ‘राणा फालेर प्रजातन्त्र ल्याउने नेता उहाँनै हो ।’  पन्थी वीपीका मात्र नजिकका पात्र थिएनन, सुवर्णशम्शेर,मोहनशम्शेर, काशीनाथ गौतम लगायत उतिबेलाका शीर्ष नेताहरुको समेत नजिकको पात्र भएको उनी बताउँछन् । २०१५ सालको चुनाव नजिकबाट नियालेका उनले सुवर्णशम्शेर, काशीनाथ गौतम, निलम्बर पन्थीले साविक गुल्मी अर्घाखाँची एउटै जिल्ला हुँदा चुनाव जितेको स्मरण गर्छन् ।

कार्यकर्ताका रुपमा त म सँधै सक्रिय हुन सकिन तर म धेरै पटक सुवर्णशम्शेर र मोहनशम्शेरले बोलाएर काठमाडौं पुग्थे, वेद–पुराण सुनाउँथे’ उनले थपे– ‘उहाँहरु लगायतले ठूलो संघर्ष गरेर ल्याएको प्रजातन्त्र रहिरहोस, सबै दलले राम्रो गरुन् । जसले राम्रो गर्छ, उनैलाई जनताले मन पराउने छन् ।’ २००७ सालदेखि काँग्रेस मान्दै आएपनि आफु कहिल्यै नेता बन्न नचोहको उनको भनाई छ ।

सय बर्षको संघारमा पुस्तक लेखनमा पन्थी

यसअघि धार्मिक स्थान रेसुङ्गाको बारेमा एउटा पुस्तक लेखीसकेका उनै पन्थीले यतिबेला सय बर्ष उमेरको संघारमा आईपुग्दा अर्को पुस्तक लेख्नमा व्यस्त छन् । उनका माईला छोरा कृष्णप्रसाद पन्थी भन्छन्–‘अहिले बुवा काठमाडौंमा हामीसँगै हुनुहुन्छ ।’

उनी सय वर्ष पुग्न दुुई बर्ष मात्र बाँकी रहँदा समेत अर्को पुस्तक लेखनमा व्यस्त रहेका छन् । आँखा देख्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा फर्शुरामले भने, ‘अलि अलि देख्छु, देख्न नसक्दा छोराहरुले सघाउछन् ।’  आफ्नो उमेर १०० बर्ष पुग्ने वित्तिक्कै उक्त पुस्तक सार्वाजानिक गर्ने उनको इच्छा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप