बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘लुट्न सके लुट...’ गीतबाट किन डगमगायो सरकार ?

मङ्गलबार, ०७ फागुन २०७५, १३ : ३७
मङ्गलबार, ०७ फागुन २०७५

चर्चित लोक गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ गीतले अहिले नेपालको राजनीतिक बजारलाई तताइदिएको छ । मुलुकमा थुप्रै किसिमका गीत सङ्गीत छन् तर पशुपति शर्माले गाउँदै आएका सामाजिक यथार्थता र देश दुनियाँका लोकगीतले छुट्टै महत्त्व बोक्दै आाएका छन् । 

सबै गीत तथा सङ्गीतकारहरू पुरस्कृत हुन, दर्शकको मन छुन र जित्न तथा नागरिकको समर्थन बटुल्न निकै मिहिनेत गर्छन् । तर कुनै कुनै गीत सङ्गीतले स्वस्फूर्त रूपमा लोकप्रियता हाँसिल गर्न सफल हुन्छन् । यसैको उदाहरण बन्न पुगेका छ, पशुपति शर्मा र उनको व्याङ्ग्यात्मक लोकगीत ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट ।’

सत्तापक्षका राजनीतिक केही अन्धभक्तहरूले यो गीतलाई प्रतिबन्ध लगाउन दबाब दिएपछि शुक्रबार रिलिज गरेको लोकगीत युट्युबबाट हटाउन शर्मा बाध्य भएका छन् । यो दुःखद् विषय हो र लोकतन्त्रको उपहास पनि । गीतकै विषयलाई लिएर सत्तापक्षीय दल र तिनका नेताकार्यकर्ताले धैर्यता गुमाउनु दुर्भाग्यपूर्ण छ । यसले उनीहरु साँच्चिकै भ्रष्टाचार उन्मुख छन् भन्ने कुरा पुष्टि गरेको छ । किनभने यो गीतमा  भ्रष्टाचारविरोधी भावना पोखिएको छ । यस गीतले भ्रष्टाचारीहरुको भावनामा चोट पुग्न गएको र त्यसको राजनीतिक शक्तिका आडमा शर्माको आवाजलाई दबाउने प्रयास गरिरहेका छन् । यो सत्ताको उन्मादबाहेक केही होइन ।

पशुपति शर्माको लोक गीतमा आलोचना र व्याङ्ग्यात्मक भाषा शैलीको प्रचुर प्रयोग छ, जुन कुरा समाजको यथार्थसँग जोडिन पुगेको छ । यो गीतले मेरो साङ्गीतिक जीवनलाई यहाँसम्म पुर्याउँछ भने कुरा पशुपति शर्मा स्वयंले सोचेकै थिएनन् । तर आज उनी सोच्न बाध्य छन् । उनको गीतले दुई तिहाइको सरकारलाई सचेत हुन खबरदारी गरेकै हो । 

गीतमा प्रतिबन्ध लगाउन खोजिएकै कारण जनस्तरमा राजनीतिक आक्रोश सडकमा पोखिनु स्वभाविक हो । तर यसलाई कुनै राजनीतिक रङ दिनु हुँदैन । सत्तामा फैलिँदो विकृति विसङ्गतिलाई विभिन्न माध्यमबाट खबरदारी गरिराख्नु हरेक नागरिकको कर्तव्य हो, त्यो कर्तव्य पशुपति शर्माले निभाएका छन् ।

सत्तारुढ राजनीतिक दलले यसलाई असल शिक्षाका रूपमा लिनुपर्छ । यसमा जिम्मेवार निकायले निरङ्कुश शैलीको प्रदर्शन गर्नु लज्जास्पद कुरा हो । अहिले सरकारी निकाय, पार्टीका नेता, कार्यकर्ता, विभिन्न समूहसम्म व्यापक अनियमितता र भ्रष्टाचार थेगिनसक्नु छ । यो डरलाग्दो अवस्थालाई शर्माको गीतले चित्रण गरेको छ ।

भाषाशैली र शब्द चयनमा केही समस्या हुन सक्ला तर तर शर्माको गीतमा व्यक्त गरिएको भावार्थ भनेको सुधारको विषय हो । त्यसैले गीतद्वारा गरिएको आलोचनाकै आधारमा सत्तापक्षले उक्त गीत प्रतिबन्ध लगाउन खोज्नु भ्रष्टाचारलाई वैधानिकता दिन खोज्नु हो ।  

यसर्थ जिम्मेवार नेताकार्यकर्ताले आफ्ना कमजोरी सच्याउनुपर्छ । सरकारले विरोधका सबै शैलीलाई सहयोगको रूपमा लिनुपर्छ । यदि त्यसो गरिएन भने विरोधीहरुलाई मलजल पुग्छन् र गीत सङ्गीतको क्षेत्रमा विपक्षीहरुका लागि यो अर्काे निर्मला काण्ड बन्न सक्छन् ।

त्यसैले शर्माको लोकगीतले साँचो अर्थमा मुलुकमा घटिरहेको वास्तविक विम्बलाई पर्दाफास गरेको छ । जसलाई ‘क्रप्टेड’ राजनीतिक दलका नेताकार्यकर्ताले पचाउनै मुस्किल परेको छ र गीतमाथि अङ्कुश लगाउने उच्छृङ्खल गतिविधि सञ्चालन गरिरहेका छन् ।

मुलुक सञ्चालन गर्ने केही नेतागणलाई समेत यसले पिरोलेको छ र गीतमाथि अङ्कुश लाउने कुचेष्टा गरिरहेका छन् । समाजका सही र यथार्थपरक आलोचनालाई सहन नसक्ने नेतृत्व मुलुकको सही नेतृत्व दिन सक्दैन भन्ने कुरा यसले पुष्टि गरेको छ । 

देश, विदेश र ठूलाबडाको दैलो चाहर्नुभन्दा फरक कला र कोणबाट नारायण गोपाल, रामकृष्ण कृष्ण ढकाल, शिव परियार, अञ्जु पन्तलगायतका दर्जनभन्दा बढी गायकले गायनका क्षेत्रमा आफ्ना लोकप्रियता कमाउन सफल भएका छन् । यसकै निरन्तरता हुन पशुपति शर्मा । उनीहरू देशका गहना हुन् ।

राजनीतिक दलले गर्न नसकेका ठूलठूला काम खेलकुद र साङ्गीतिक क्षेत्रले गरिरहेका छन् । राजनीतिक अभियन्ताहरुका लागि यो लज्जास्पद कुरा होइन ? होइन भने पशुपति शर्माको गीतमा प्रतिबन्ध किन लगाउनु ? सहनसक्ने हैसियत छैन भने यसखाले घृणित राजनीतिक कार्य गर्नु हुँदैनथ्यो । 

त्यसैले यतिबेला विवादका बीच चर्चामा आएका लोकगायक पशुपति शर्माले साङ्गीतिक क्षेत्रमा आफ्नो फरक पहिचान स्थापित गर्न सफल भएका छन् । यो सफलतालाई राज्यले निरुत्साहित गर्नु हुँदैन, गर्व गर्नुपर्छ । उनलाई अहिले जनताले पुरस्कृत गरिरहेका छन् । 

मुलुकमा वाइडबडी, सुन तस्करी प्रकरणलगायत संस्थागत रूपमै भइरहेको संस्थागत भ्रष्टाचारलगायत विभिन्न खाले विकृति विसङ्गतिका विरुद्ध पनि यस्ता खाले गीत आउन जरुरी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप