शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा दिएका न्यायाधीश जोशी भन्छन्, ‘निरन्तर दबाब आयो, सहजीकरण गरिदिएँ’

यस्तो थियो राणाले जोशीमाथि गरेको ‘हमला’को श्रृङ्खला
मङ्गलबार, ०७ फागुन २०७५, १२ : ३६
मङ्गलबार, ०७ फागुन २०७५

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । फागुन ७ गते मंगलबारबाट लागु हुने गरी न्यायाधीश जोशीले प्रधानन्यायाधीशमार्फत् राष्ट्रपतिलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि जोशी केही समय वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा बहाल रहेका थिए ।

तर ओमप्रकाश मिश्रको उमेर हदको कारण सेवा अवधि सकिएपछि सर्वोच्चको कमाण्ड सम्हालेका नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निरन्तर दबाबपछि जोशीले मंगलबार राजीनामा बुझाएका हुन् ।

उमेर हदलाई हेर्ने हो भने जोशीले आगामी असोज २३ गतेसम्म सेवा गर्न पाउँथे । तर चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीश बनेलगत्तै जोशीलाई राजीनामा गर्न सुझाएका थिए । तर जोशीले राजीनामा नदिई सर्वोच्चमै बसेपछि राणा र जोशीबीच ‘शीतयुद्ध’ नै चलेको थियो ।

यस्तो छ प्रधानन्यायाधीश राणाको जोशीमाथि गरिएको हमला शृङ्खला

पुस १८ गते चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीशको शपथ लिएसँगै दैनिक पेसी तोक्दा जोशीको नाम देखिएन । करिब १२ बजे भएको पत्रकार सम्मेलनमा राणाले ‘संसदको सम्मान’ भन्दै जोशीलाई इजलाश नदिने घोषणा नै गरे । त्यसै दिन राणाले जोशीलाई राजीनामा दिन सुझाव दिए ।

राणाले सुझाव दिएको केही समयपछि नै रातोपाटीसँग कुरा गर्दै न्यायाधीश जोशीले आफूले राजीनामा नदिने घोषणा गरे । सर्वोच्चमा फैसला लेखनदेखि अन्य धेरै काम बाँकी रहेकाले इजलाश नपाएपनि आफू दैनिक सर्वोच्च अदालतमा आउने र काम गर्ने बताए ।

पुस १८ गते पेसी नतोक्ने घोषणा गरेका राणाले पुस १९ गते जोशीको चेम्बरसमेत खोसिदिए ।

वरिष्ठतम् न्यायाधीशका हैसियतले १ नम्बर इजलाश र १ नम्बरको चेम्बरमा रहेका जोशीको चेम्बर शपथ लिएको भोलिपल्ट नै खोसिदिए । जोशी बस्ने गरेको एक नम्बरको चेम्बर दीपककुमार कार्कीलाई दिएर राणाले जोशीमाथि दोस्रो हमला गरेका थिए ।

राणाले जोशीमाथि गरेको तेस्रो हमला थियो, न्यायपरिषद् बैठकमै नबोलाउनु र अर्कै श्रीमान्लाई सदस्य तोक्नु ।

प्रधानन्यायाधीश राणाले पुस १९ गते नै न्यायपरिषद्को वैठक राखेर संवैधानिक इजलाशमा अन्य श्रीमान्लाई नियुक्त गरे । संवैधानिक इजलाशमा जोशीको नाम काटेर हरिकृष्ण कार्की र मिरा खड्कालाई राखियो भने मेलमिलाप परिषद्को अध्यक्षबाट पनि जोशीलाई हटाइयो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सदस्य रहने न्याय परिषद्मा पनि जोशीको नाम हटाएर दीपक कार्कीलाई राखियो ।

राणाले एकपछि अर्को हमला गर्दै जोशीमाथि दबाब बनाएपनि जोशीले राजीनामा भने दिएनन् ।

संविधान वा कानुनले जोशीलाई हटाउन मिल्दैनथ्यो । सबै प्रयास असफल भएपछि राणाले पनि पछिल्लो समय थप हमला गर्ने प्रयास गरेनन् ।

बरु निरन्तर राजीनामा गर्न भने दबाब दिइरहे । सर्वोच्चमै ‘अपमानित’ हुनु परेपछि जोशीले फागुन ७ गते मंगलबार भने राजीनामा बुझाए ।

जोशीले आफ्नो राजीनामा प्रधान न्यायाधीशमार्फत् राष्ट्रपतिलाई बुझाएका हुन् ।

राजीनामा गरेलगत्तै रातोपाटीसँग कुराकानी गर्दै न्यायाधीश जोशीले दबाब आएपछि राजीनामा दिएको बताए ।

‘मलाई निरन्तर दबाब आइरह्यो । शिष्ट, अशिष्ट सबै प्रकारबाट राजीनामाको लागि दबाब आइरह्यो । पेसी पनि दिइएन । त्यसपछि मैले आज सहजीकरण गरिदिएँ,’ उनले भने ।

यसअघि रातोपाटीसँगको कुराकानीमा सर्वोच्चमै रहेर फैसला लेखनको काम गर्ने कुरा जोशीले बताएका थिए । रातोपाटीको ‘फैसला लेखनको काम सकिएको हो ?’ भन्ने प्रश्नमा जोशीले भने ‘केही केही फैसला लेखिसकिएको छ । तर सबै फैसला लेखन अहिले नै सकिएको छैन । तैपनि मैले सहजिकरण गरिदिएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप