शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'भारतले नेपाललाई गाभ्न त्रिभुवनलाई करोडौँको लोभ देखाएको थियो'

मङ्गलबार, ०७ फागुन २०७५, ११ : ४३
मङ्गलबार, ०७ फागुन २०७५

मान्छे मात्रको भलाइका लागि शासक र शासित वर्गबीच धैरै पहिलेदेखि सङ्घर्षहरू हुँदै आएको इतिहास हाम्रोसामु छ । तर ती सङ्घर्षहरूमा विजय प्राप्त गर्नेहरूको मात्र इतिहासका पानामा नाम लेखिएको पाइन्छ । अधिकांश इतिहास विजय हुनेहरूको गुणगान मात्र हो भन्ने गरिन्छ । हार्नेहरूको सङ्घर्षगाथा इतिहासमा कमै मात्र सुनाइन्छ र भेटिन्छ । सत्तामा हुनेहरूले इतिहासलाई आफू अनुकूल लेखाउँदै र व्याख्या गर्दै आएको कुरा सत्य हो । हामीले पनि त्यही इतिहासलाई अध्ययन गरी सत्य ठान्दै आयौँ । तर, अबको पुस्ताले इतिहासका हरेक घटनालाई आलोचनात्मक दृष्टिले अध्ययन र मूल्याङ्कन गर्ने तथा वास्तविक तथ्यगत सत्यको उत्खनन् गर्न दिशातिर आफ्नो अध्ययनलाई मोड्न जरुरी छ ।

यस्तै तथ्यगत सत्यको खोजीका क्रममा नेपालमा प्रजातन्त्र स्थापना भएको दिनलाई सम्झेर एक जिउँदो इतिहाससँग कुरा गरेका छाँै, जसले प्रजातन्त्रका लागि भएको सङ्घर्षमा प्रत्यक्ष अवलोकन गरे, लेखिएको इतिहास र भोगेको इतिहासका राम्रा नराम्रा दुवै पाटाको अनुभव र मूल्याङ्कन गरे । उनी हुन् इतिहासकार पुरुषोत्तम जबरा ।

रुद्र शमशेरका नाति ईश्वर शमशेरका छोरा हुन् पुरुषोत्तम शमशेर जबरा । उनको जन्म १९८२ चैत १५ मा भएको हो । तत्कालीन राणा सरकारले उनलाई काठमाडौँबाट निष्काशित गरेपछि परिवारसहित उनी पाल्पा दरबारमा गएर बसे । त्रियानब्बे वर्ष भइसक्दा पनि उनका आँखालाई चस्माको आवश्यकता परेको छैन । अझै पनि चस्माविना लेखपढ गर्न र टीभी हेर्न सक्छन् ।

जबराले करिब आधा दर्जन पुस्तक लेखेका छन् । इतिहासविद्, प्रजातन्त्र सेनानी तथा इतिहास साधकका रूपमा सम्मानित भएका छन् । उनै इतिहासकारसँग रातोपाटीकर्मी सुनिता न्यौपानेले कुराकानी गरेकी छिन् ।

तोरण शमशेर हाम्रै पार्टीमा सामेल

हामी पाल्पामा बसेका थियौँ । पाल्पामा हामीलाई मोहन शमशेरले पक्राउ गर्न पठाए । हामी त्यसपछि लखनउ गयौँ । एक दिन मोहन शमशेरको बिजुलीको तारमा मुसा हिँडेछ । मुसा हिँड्दा मोहन शमशेर डराएछन् । हामीले लखनउमा सञ्चार सेट राखेका थियौँ । हामी लखनउ बस्दा त्यस्ता खालका समाचार आउँथे । हामी लखनउबाट कलकत्ता  गयौँ । कलकत्ताको होटलमा कोठा लिएर बसेका थियौँ । महावीर शमशेर र सुवर्ण शमशेरकहाँ आउने जाने चलिरहन्थ्यो ।

मोहन शमशेर श्री ३ महाराजा (प्रधानमन्त्री) भएपछि आफ्ना मान्छेहरूलाई कसैलाई जर्नेल, कसैलाई कर्नेल बनाएका रहेछन् । तोरण शमशेर कर्नेल थिए । उनले आफूले जर्नेल पाउनुपर्छ भनेछन् । तोरण शमशेर जस्तोले पनि जर्नेल पद माग्ने भनेर मोहन शमशेर र उनका मानिसले गिज्याएछन् । त्यसले उनका मनमा चोट परेको रहेछ ।

एक दिन बुबालाई सुवर्ण शमशेरले फोन गरे । फोनमा तोरण शमशेर नेपालबाट लखनउ आएका छन् । उनलाई हाम्रो पार्टीमा मिलाउन कसो होला ? बुबाले म तोरण दाइकहाँ जान्छु । तोरण दाइलाई भेट्छु भन्ने कुरा भएपछि सल्लाह गरौँला भन्नुभयो । हामी तोरण बसेको घरमा गयौँ । बुबालाई देख्नासाथ तोरण शमशेरले खुसी भएर अँगालो हाले । सुवर्ण शमशेरलाई मैले फोन गरेँ । फोन गरेपछि ऊ पनि आयो । सुवर्णलाई देखेर तोरण शमशेर दङ्ग पर्याे । बुबाले तोरण शमशेरलाई भन्नुभयोे, ‘दाइ तपाईं पनि  हाम्रो पार्टीमा  मिल्नुपर्यो । तोरण शमशेरले एकदम जोसका साथ ‘मिल्छु म, किन मिल्दिनँ’ भने । हामी जिल्ल पर्यौं । बुबाले दाइ किन उत्तेजित भएको भन्नुभयो ।

खास के भएको रहेछ भने, मोहन शमशेर श्री ३ महाराजा (प्रधानमन्त्री) भएपछि आफ्ना मान्छेहरूलाई कसैलाई जर्नेल, कसैलाई कर्नेल बनाएका रहेछन् । तोरण शमशेर कर्नेल थिए । उनले आफूले जर्नेल पाउनुपर्छ भनेछन् । तोरण शमशेर जस्तोले पनि जर्नेल पद माग्ने भनेर मोहन शमशेर र उनका मानिसले गिज्याएछन् । त्यसले उनका मनमा चोट परेको रहेछ । यही कारण यसरी तोरण शमशेर हाम्रो पार्टीमा मिल्यो । वीर शमशेरका छोरा गेहेन्द्र शमशेर, गेहेन्द्र शमशेरकी भित्रिनी पट्टिका नाति हुन् तोरण शमशेर ।

भारतले त्रिभुवनलाई भ्रममा राखेको थियो ।

राजा त्रिभुवन २००६ कात्तिक २२ गते भारतको दिल्ली शरण लिन पुगे । सुरुमा भारतले त्रिभुवनसँग कसैलाई भेट्न दिएको थिएन । नेपाल सरकारतर्फका केशर शमशेर, मोहन शमशेरको कान्छो छोरा विजय शमशेर, सिंह शमशेरलाई पनि भेट्न दिएन । हामी प्रजातन्त्र काँग्रेसतर्फ लागेका थियौँ । सुरुमा हामीलाई पनि भेट्न दिइएन । पछि केदार शमशेरले राजासँग भेटे । पछि नेपाल सरकारको मान्छेलाई भेट्न दियो । हामी त्रिभुवनका मान्छे थियौँ तर पनि हामीलाई भेट्न दिइएन । राजाले भेट्न अस्वीकार पनि गरेका थिएनन् । त्यो कुरा हामीले त्रिभुवनका सचिवसँग गर्यौं । अनि मात्र भेट्न दिइयो ।

ठूलो सुरुवाल, कोट र ढाका टोपी लगाएर राजा त्रिभुवन बाहिर आए । उनैले समाएर हामीलाई आफू बस्ने ठाउँमा लिएर गए । त्यहाँ त्रिभुवनलाई पत्रिका पनि हेर्न दिइँदैनथ्यो ।

भारतले राजा त्रिभुवनलाई ठूलो भ्रममा राखेको थियो । भारत सरकारले त्रिभुवनलाई करोडौँ दिन्छौँ, नेपालाई भारतसँग मिलाऊ भनेर लोभ देखाएको थियो । तर त्यो समयमा त्रिभुवनले हुन्छ वा हुन्न भन्न सक्ने परिस्थिति थिएन ।

त्यही समयमा बल्लभ भाइ पटेलको मृत्यु भयो । उनको मृत्युपछि त्रिभुवनलाई राहत भयो । उनको मृत्यु नभएको भए सायद आज हामी भारतीय पो हुन्थ्यौँ कि ?

त्यसपछि त्रिभुवनले हामीलाई दिनदिनै बोलाउन थाले । म प्रत्येक दिन त्रिभुवनलाई पत्रिका पुर्याउन जानेगर्थें ।

जा र गिर मैले कहिल्यै गरिनँ

मैले जागिर खाइनँ । मातृका र विश्वेश्वरले जागिर खाऊ भन्नेगर्थे । म जा अनि गिर गर्छु ? उनीहरूले कर गर्दा पनि मैले जागिर खाइनँ । मातृका र विश्वेश्वरले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । मलाई बजार घुमाउने पनि उनै हुन् ।

त्रिभुवनले सबैलाई चुरोट बाँडे तर आफ्ना छोराहरूलाई बाँडेनन्

त्यतिबेला हाम्रो भेट बीपीसँग पनि भयो । हामी लखनउमा थियौँ । एउटा फ्ल्याट लिएर बसेका थियौँ । मेरो बुबा, काका सबै सँगै थियौँ । एक दिन मेरो बुबाको नाममा ‘बुधबार तिमी दिल्ली आइपुग्नू’ भनेर त्रिभुवनको टेलिग्राम आयो ।  हामीलाई काम लगाउन बोलाउनुभयो भन्ने ठान्यौँ र दिल्ली गयौँ ।

त्यहाँ सुवर्ण शमशेर, मोहन शमशेर र महावीर शमशेर तीन जना मोटरभित्र बसेका थिए । बुबाले भन्नुभयो, ‘हामीलाई मात्र बोलाएको रहेनछ, उनीहरूलाई पनि बोलाएको रहेछ ।’ त्यहाँ काँग्रेसका महामन्त्री महेन्द्रविक्रम शाह र सूर्यप्रसाद उपाध्याय आए । एकछिन पछि मातृका र विश्वेश्वर पनि आए । त्रिभुवनको सचिव आएर हामी सबैलाई त्रिभुवन भएको ठाउँमा लिएर गए । जति जना हामी थियाँै, त्यति सिट त्यहाँ मिलाएर राखिएको रहेछ ।

त्रिभुवन जुरुक्क उठे । उनी उठेपछि हामी पनि उठ्यौँ । उनले कोटको खल्तीबाट चुरोट झिकेर सबैलाई बाँडे । तर आफ्नो छोराहरूलाई भने चुरोट दिएनन् । मेरो बुबालाई त्रिभुवनको यो चाल देखेर रिस उठ्यो । बुबाले खल्तीमा राख्नुभयो । राजाले खाऊ न भने । बुबाले झर्केर खानकै लागि राख्या हो भन्नुभयो । राजाले चुरोट बाँड्ने ? भन्ने भयो । बुबाले खल्तीमा राखेपछि सबैले खल्तीमा हाले ।

बीपीले तुलसी गिरीलाई पार्टीमा ल्याउनुको कारण उनले बीपीलाई महिला व्यवस्था गरिदिन्थे भन्ने पनि सुनिन्छ । पार्टीमा योगदान तुलसी गिरीको केही थिएन । दुई महिला तीन घण्टासम्म पुरुषको विषयमा झगडा गर्नुको कारण अहिले यो नै हो भन्ने लाग्छ । 

‘म्यानर’ नभएका मानिस थिए बीपी

मोहन शमशेर प्रधानमन्त्री भएपछि काँग्रेसको तर्फबाट पाँच जनालाई मिलाएर समिति गठन गर्ने कुरा भयो । त्यति भन्नासाथ विश्वेश्वरले मेच सँगै लिएर अगाडि सरे । हल्का खालको मेच थियो । त्रिभुवनको घुँडासँग घुँडा जोडेर समितिमा एक जना म रहन्छु भने । आफू बसेकै ठाउँबाट म पनि बस्छु भनेको भए पनि हुने थियो । कुर्सी नै बोकेर एकजना म, एक जना ऊ भनेर सुवर्ण शमशेरलाई देखाए । नेताको यो पारा देखेर मेरो मन नै विरक्त भयो । बीपी ‘म्यानर’ नभएका मानिस थिए । म ती मानिसलाई घृणा गर्छु । त्यो अवस्था देखेर त्रिभुवन हेरेको हेरै भए । त्रिभुवनले आफ्नो तर्फबाट एकजनालाई सिफारिस गरे । ती  मानिस भद्रकाली मिश्र रहेछन् । भद्रकाली मिश्रलाई हामीले चिनेका नै थिएनौँ । त्रिभुवनले फेरि सूर्यप्रसाद र ईश्वर शमशेरको नाम थपे ।

मेरा बुबा कमान्ड चिफ भएर बसेको मान्छे, मोहन शमशेरभन्दा सानो भएर किन बस्ने ? बुबाले मान्नुभएन । त्रिभुवनले बहादुर शमशेरलाई कमान्ड चिफ दिनुपर्छ भने । बहादुर शमशेरलाई कमान्ड चिफ बनाउनुपर्छ भनेर बुहारीहरूले त्रिभुवनलाई दिक्क पारेका थिए । बहादुर शमशेर त्रिभुवनका बुहारीहरूको फरियाको नाताले कमान्ड चिफ हुन पुगेका हुन् ।

मेरा बुबाले कमान्ड चिफ बहादुर शमशेरलाई दिइयो भने पश्चिम विभागले फेरि विद्रोह सुरु गर्छ भन्नुभयो । त्रिभुवनले भने होइन ईश्वर मैले त एउटा राय मात्र राखेको हुँ । तर त्रिभुवनलाई भने कमान्डर चिफ बहादुर शमशेरलाई दिन मन थिएन । ईश्वर शमशरले त्यसो भन्ने बित्तिकै त्रिभुवनलाई हुन्न भन्न सजिलो भयो । त्रिभुवनले भने, ‘बाटो सजिलो गराउन मैले त्यसो भनेको हो, दिनलाई भनेको होइन ।’

बीपीको शनिबारको निवास नै भरत शमशेरको घरमा

बीपी र तुलसी गिरी भारत शमशेरको घरमा हरेक शनिबार आउने गर्थे । शनिबार आएर त्यहीँ हराउने आइतबार कतिबेला बीपी फर्किन्थे भन्ने कसैलाई थाहा हुँदैनथ्यो । एक दिन तुलसी गिरीकी श्रीमती र वसन्त शमशेरको छोरी चोकमा जगल्टा समातेर लडाइँ गर्दै थिए । तुलसी गिरीले छुट्याउन खोजे तर सकेनन् । तीन घण्टासम्म उनीहरू लडिरहे । तीन घण्टापछि बीपी आए अनि के गरेको भनेर रिसाउन थालेपछि लड्न छोडे । तुलसी गिरीले तीन घण्टासम्म मिलाउन नसकेको झगडा बीपीले एक सेकेन्डमा मिलाए ।

बीपीले तुलसी गिरीलाई पार्टीमा ल्याउनुको कारण उनले बीपीलाई महिला व्यवस्था गरिदिन्थे भन्ने पनि सुनिन्छ । पार्टीमा योगदान तुलसी गिरीको केही थिएन । दुई महिला तीन घण्टासम्म पुरुषको विषयमा झगडा गर्नुको कारण अहिले यो नै हो भन्ने लाग्छ । 

नर शमशेर राम्रो मानिस थियो

नर शमशेर हामी बसेको होटलमा आए । नचिन्नेले उनलाई नराम्रो मानिस भन्थे । चिनेकाका लागि उनी राम्रा मानिस थिए । सहिदहरूलाई गोली हान्न लगाएको भनेर सबैले नराम्रो मान्थे । तर उसले गोली हानेको होइन । मार्नु भन्ने अर्डर उसलाई दिइएको थियो । त्यो काम गर्न हुन्न भनेर उसले त्यो काम अरूलाई लगाएको थियो । आदेश दिएपछि गोली हान्नु त पर्ने नै थियो । मानिस मर्याे भनेर नेवारहरूले बाजा बजाउँदै आए । मान्छे मर्दा नेवार समुदायमा बाजा बजाउने परम्परा अझै छ ।

उसले गोली हान्न सकेन । हान्ने भनेर बन्दुक पनि समाते । हात थर थर काम्यो । अन्त्यमा अर्काे मानिसले नै गोली हान्यो । ‘उसले नगरेको भए मैले गर्नैपर्ने अवस्था आइसकेको थियो’ नर शमशेरले भनेका छन् ।

त्रिभुवनको नेपाल सवारी

हामी त्रिभुवनसँगै एउटै प्लेनमा भारतबाट आएका थियौँ । प्लेनबाट काठमाडौँ उत्रिएपछिको दृश्य हेर्नलायक थियो । त्रिभुवनको स्वागत गर्न हुलका हुल मानिसहरू आएका थिए । मोहन शमशेर पनि एयरपोर्ट आएका थिए । प्लेनबाट झरेपछि त्रिभुवन आफ्नै दरबारतिर लागे । काठमाडौँमा हाम्रो आफ्नो निवास थिएन । हाम्रो दरबार बहादुर शमशेरले लिएका थिए । हामी जुद्ध शमशेरकी कान्छी महारानीको छोरीकहाँ गएर बस्यौँ । उहाँको नाम मिस्री फुजु थियो । कब्जा भएको हाम्रो दरबार र जमिन फिर्ता भएन । त्यही पाप पनि काँग्रेसलाई लागेको होला ।

(सुनिता न्यौपानेसँग गरेको कुराकानीको आधारमा तयार पारिएको आलेख)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुरुषोत्तम जबरा
पुरुषोत्तम जबरा
लेखकबाट थप