शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीले उजुरी गर्दा कारवाहीमा परेंँ, अब मदिरा खान्नँ

मङ्गलबार, ०७ फागुन २०७५, ०८ : ४७
मङ्गलबार, ०७ फागुन २०७५

अछाम - मङ्गलसैन नगरपालिका, १ का हर्क रानाले मदिरा सेवन गरी घर झगडा गरेपछि उनकी श्रीमती साबीले वडा कार्यालयमा उजुरी गरिन् । श्रीमतीले उजुरी गरेपछि उनले तीन हजार रुपैयाँ जरिवाना तिरे । मदिरा सेवन गरेवापत श्रीमतीले उजुरी गरेपछि सामाजिक रूपमा लज्जित भएसँगै मदिरा सेवन गर्न छाडेको बताए ।

दिनभर नसामा हुने उनी दुई महिनादेखि आफ्नै काममा सक्रिय छन् । “मदिरा सेवन गरेको भन्दै श्रीमतीले उजुरी गरेर बेइज्जत गरिन्, एक वर्षमा साढे एक लाख जतिको मदिरामा  खर्च हुने”, रानाले भने, “अब रक्सी खान्न ।” उनी थप्छन्, “श्रीमतीको उजुरीपछि कारवाहीमा परेँ, बदनाम भयो, अब कहिल्यै मदिरा सेवन गर्दिनँ ।” 

मदिराले सामाजिक, आर्थिक र मानसिक रुपमा बाधा पु-याइरहेको भन्दै मङ्गलसैननगर वडा नम्बर १ कार्यालयले मदिरामा कडाइ गरेसँगै स्थानीय महिला  खुसी भएका छन् । श्रीमानले मदिरा सेवन गरी तनाव दिँदा आजित भएका महिलाले अब गाउँमा मदिरा  बन्द गर्नु पर्ने माग गरेका छन् ।

नगरपालिकाले नगर क्षेत्रभित्र बिहानदेखि बेलुकासम्म मदिरा बिक्री वितरणमा प्रतिबन्ध गर्न वडाले कडाई गरेको छ ।

नगरपालिकामा १ नम्बर वडाले मदिरा व्यवस्थापनमा नमूना काम गरेको भन्दै सरोकारवाला खुसी भएका छन् । स्थानीय समाजसेवी रामराजनाथ भन्छन्, “मदिराले अस्तव्यस्त भइरहेको समाजलाई समय निर्धारण गरी व्यवस्थापन गर्दा फाइदा भएको छ, अब मदिरारहित समाज बनाउन सबै लाग्नुपर्छ ।” 

वडा कार्यालयले सञ्चालन गरेको मदिरा व्यवस्थापन अभियानमा करिब एक वर्षको अवधिमा ३९ कारवाहीमा परेका छन् । तोकिएको समयभन्दा बाहेक मदिरा सेवन तथा बिक्री गर्नेलाई कारवाही गरी जरिवानावापत ४५ हजार ५०० राजश्व सङ्कलन गरेको छ । कारवाहीमा परेका ११ जनाबाट करिब १८ हजार असुली गर्न बाँकी रहेको वडा सदस्य पूर्णबहादुर रानाले जानकारी दिए ।

नगरपालिका प्रमुख पदमबहादुर बोहराले जस्तोसुकै चुनौती आए पनि मदिरा व्यवस्थापन गरेरै छाड्ने बताए । मदिरा व्यवस्थापनका लागि कानूनले तोकेको समयावधि र सार्वजनिकस्थलबाट दुई सय मिटर टाढा मात्रै बिक्री तथा सेवन गर्नु पर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नगरप्रमुख बोहराले बताए । उनले भने, “नगरको १ नं वडामा मदिराको प्रभावकारी व्यवस्थापन भएको छ, अब अन्य वडामा पनि मदिरा व्यवस्थापन गरिन्छ ।” 

नगरपालिकाले युवालाई व्यावसायिक सीप विकासमा अग्रसर गराउँदै कृषि उत्पादन, फलफूल खेती, पशुपालन र उद्यमशील कार्यमा लगाउने लक्ष्य राखेको छ । नगरवासीलाई आयआर्जनका क्रियाकलापमा सक्रिय गराई आत्मनिर्भर बनाएर समृद्ध नगर बनाउन आफू प्रयत्नशील रहेको भन्दै नगरप्रमुख बोहराले त्यसका लागि मदिरालगायत सामाजिक विकृतिको अन्त्य गर्नु पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप