केन्द्रीय संस्करण
विज्ञानका कुरा

देखिएजस्तो सामान्य हुँदैन निन्द्रा, सपना देख्दा दिमागमा के हुन्छ ?

person explore access_timeफागुन ६, २०७५ chat_bubble_outline0
Photo: Athletic Courage

निन्द्राले गर्ने काम धेरै पहिलेदेखि नै वैज्ञानिकहरूका लागि रहस्यको विषय रहँदै आएको थियो । तर कैयौँ आधुनिक अनुसन्धानहरूले निन्द्राले दिमाग र शरीरलाई गर्ने फाइदाबारे नयाँ नयाँ जानकारी बाहिर ल्याएका छन् ।  

यी अनुसन्धानहरूले निन्द्राले शरीरका कोषहरूलाई पुनर्ताजगी गराउँछ र दिमागको विकारलाई हटाउँछ भन्ने देखाएको छ । साथमा हाम्रो सिकाइ तथा स्मरणमा पनि यसको सकारात्मक प्रभाव हुने गर्छ । यसको अतिरिक्त निन्द्राले मुड, भोजनको रुचि र यौन चाहनालाई पनि व्यवस्थापन गर्न सहयोग गर्छ । 

निन्द्रा हाम्रो जीवनको अभिन्न हिस्सा हो । दैनिक जीवनमा यसलाई हामीले सामान्य ठाने पनि अध्ययनले निन्द्राको समयमा हाम्रो दिमाग अत्यन्त जटिल प्रक्रियाबाट गुज्रने देखाएको छ । 

हामी सुतेपछि दिमागले दुई फरक प्रकारको निन्द्रा सिर्जना गर्छ भन्ने अध्ययनले देखाएको छ । यसमध्ये एउटा स्लो–वेभ स्लिप (एसडब्लूएस) हो । यसलाई गहिरो निन्द्रा पनि भनिन्छ । अर्को हो ¥यापिड आई मुभमेन्ट (आरईएम) । यो चरणमा सपना देखिने भएकाले यसलाई सपना देखिने निन्द्रा भनिन्छ । 

हाम्रो निन्द्राको अधिकांश हिस्सा एसडब्लूएस प्रकारको हुन्छ । यो अवधिमा दिमागमा साना तरङ्ग मापन भएको छ, जो सुस्त हुन्छन् । साथमा यो बेला मांसपेसी शिथिल हुन्छ र स्वासप्रस्वास भने सुस्त र गहिरो हुने गर्छ । यसले शरीर र दिमागलाई दिनभरीको थकान पछाडि आरामको अवस्थामा पुर्याउन सहयोग गर्छ । 

आम रूपमा रहेको बुझाइ जस्तो निदाएपछि दिमागले काम गर्न छाड्दैन । बरु यो अवधि दिमाग एकपछि अर्को चरण हुँदै काम गरिरहेको हुन्छ । प्राविधिक रूपमा यसको सुरुवात दिमागको त्यो हिस्साबाट सुरु हुन्छ जहाँ एसडब्लूएस निर्माण हुन्छ । 

वैज्ञानिकहरूले अहिले दुई समूहको कोषहरूले एसडब्लूएसलाई सहयोग गर्ने ठोस प्रमाणहरू पाएका छन् । ती कोषहरूमा हाइपोथलामसमा रहेको ‘भेन्ट्रेलेटरल प्रिओपप्टिक न्युक्लाई’ र ‘प्याराफेसियल क्षेत्र’मा रहेको ब्रेन स्टेम हुन् । 

यी कोषहरू जब सक्रिय हुन्छन् तब हाम्रो होस हराउँछ । 

एसडब्लुएसपछि आरईएम निन्द्राको चरण सुरु हुन्छ । यो चरण अनौठो हुन्छ । यो अवधिमा दिमाग अत्यन्त सक्रिय हुन्छ भने शरीरको मांसपेसीमा भने पक्षघात हुन्छ । स्वासप्रस्वास र मुटुको दर अस्थिर हुन्छ । आरईएमको बायोकेमिस्ट्री र न्युरोबायोलोजी बारे बुझाइ बढिरहेको भए पनि यसको उद्देश्य अहिलेसम्म जैविक रहस्य रहेको छ । 

ब्रेन स्टेमको सानो कोषको समूह ‘सब्कोएरुलस न्युक्लियस’ले आरईएम निन्द्रालाई नियमन गर्छ भनेर हामीलाई थाहा भइसकेको छ । यी कोषहरूमा जब चोट लाग्छ वा यिनमा रोग लाग्छ मानिसहरूले आरईएम निन्द्राको समयमा हुने मांसपेशी पक्षघात अनुभव गर्दैनन् । यसले गर्दा उक्त व्यक्तिले सपनाको बेला सपनामा भएका कुराहरूलाई साँच्चिक्कै हाउभाउ गर्ने समस्या उत्पन्न हुन्छ । 

निन्द्राका चरणहरूको अवधि 

निन्द्राका विभिन्न चरणहरू सन् १९५० को दशकमा ईईजीको प्रयोगबाट मानव मस्तिष्कमा गरिएको प्रयोगमार्फत आविष्कार भएको हो ।  यस क्रममा अनुसन्धाताहरूले आँखा र हातखुट्टाको हलचललाई पनि मापन गरेका थिए । 

यो प्रयोगबाट निक्कै महत्त्वपूर्ण परिणामा निस्किएको छ । 

अनुसन्धाताहरूले प्रत्येक रात सुतिसकेपछि पहिलो एक घण्टा दिमाग ‘सर्ट वेभ स्लिप’को चरणमा रहने पाए । यो अवधिमा मानिसलाई घच्घच्याएर उठाएमा मानिसहरूले सोचको केही टुक्राटाक्री मात्र सम्झन सकेका थिए ।

त्यसको अर्को आधा घण्टा, दिमागको क्रियाहरू नाटकीय रूपले परिवर्तन भयो । यो चरणमा अघिल्लो चरणको गहिरो ‘स्लो वेभ स्लिप’ आरईएम चरणमा बदलियो । यो अवधिमा ईईजीमा मापन गरिएको तरङ्ग मानिस जागेको बेला जत्तिक्कै थियो । दिमाग सक्रिय रहे पनि शरीर भने यो अवधिमा पक्षघातको अवस्थामा पुग्ने गर्छ ।

आरईएम निन्द्राको अवधिमा सपना देखिन्छ । पहिलो आरईएम १० देखि १५ मिनेट लामो हुनेगर्छ ।

रातभरी सर्ट वेभ र आरईएम निन्द्राको चक्र एकपछि अर्को आउने गर्छ । रात बढ्दै गर्दा सर्ट वेभ निन्द्रा कम गहिरो र आरईएम अवधि लम्बिँदै जान्छ ।

मानिसको जीवनकालमै पनि निन्द्राको अवधिमा निक्कै परिवर्तन देखिन्छ । शिशुहरू दिनमा १८ घण्टासम्म सुत्छन् । उनीहरूको निन्द्राको ठूलो भाग गहिरो ‘स्लो वेभ निन्द्रा’ले लिन्छ । बालबालिकाहरू हुर्कंदै जाँदा उनीहरूको निन्द्रा अवधि कम हुँदै जान्छ, साथमा उनीहरूको गहिरो ‘स्लो वेभ निन्द्रा’को समय पनि घट्छ । वयस्कहरू प्रत्येक रात ६ देखि ७ घण्टा सुत्छन् । उनीहरू ‘स्लो वेभ निन्द्रा’को अवधिमा एकदमै थोरै हुन्छ ।

सपना देख्दा दिमागमा के हुन्छ ?

आरईएम निन्द्राको समयमा हाम्रो दिमागले सपना वा दुःस्वप्न देख्ने गर्छ ।  

सपनाको अवधिमा हाम्रो दिमागको समग्र भाग सक्रिय हुन्छ । यसमा ब्रेन स्टेमदेखि कोर्टेक्ससम्म संलग्न हुन्छ । अधिकांश सपना आरईएम निन्द्राको अवधिमा देखिन्छ । 

कोरटेक्सले सपनामा देखिने कथानक वा विषयको निर्धारण गर्छ । यसमा हामीलाई डर लाग्ने राक्षसदेखि हामीले भेट्ने मानिससम्म अथवा उडान भर्नेदेखि पौडी खेल्नेसम्म पर्छन् । 

मानिस दृश्यपक्ष एकदम बलियो भएको जीव भएकाले हाम्रो दिमागको ठ्याक्कै पछाडि रहेको कोर्टेक्सको पनि दृश्य व्यवस्थापन गर्ने हिस्सा सपनाको बेला विशेष सक्रिय हुन्छन् । 

यो अवधिमा सबैभन्दा कम सक्रिय हुने भनेको फ्रन्टल लोब हो । यहीको सुषुप्तताको कारणले निन्द्रामा हामी कुनै अवरोधबिना जस्तोसुकै घटना पनि वास्तविक जसरी स्वीकारिरहेका हुन्छौँ । 

हामीलाई निन्द्रा किन आवश्यक पर्छ ?
निन्द्रा हाम्रो लागि निक्कै उपयोगी कुरा हो । यसले हाम्रो दिमागदेखि शरीरलाई समेत विभिन्न फाइदा पु¥याइरहेका हुन्छन् । यसले मुख्य गरेर देहायका कुरामार्फत हामीलाई सहयोग गरिरहेको हुन्छ :

१. निन्द्राले दिमागको सरसफाइ गर्छ 
सन् २०१३ मा युनिभरसिटी अफ रोचेस्टर मेडिकल सेन्टरमा गरिएको एक अध्ययनमा निन्द्राको समयमा दिमागको विकार हटाउने प्रणाली सुचारु भएको पाइएको थियो । निन्द्रालाई दिमागले आफ्ना धेरै विषाक्त विकारहरू सफा गर्ने समयका रूपमा प्रयोग गर्ने गर्छ । 
स्लिप साइन्सका अनुसार निन्द्राको समयमा दिमागभरीबाट सेरेब्रल स्पाइनल फ्लुड अत्यन्त छिटो बाहिर निस्किएर सफाइको कार्य हुने गर्छ । 

२. निन्द्राको समयमा स्मरण बन्ने र बलियो हुने गर्छ 
आँखा बन्द भएपछि दिमागले अल्पकालीन सूचना र हालसालैका घटनाहरूलाई दिमागको दीर्घकालीन स्मरण केन्द्रमा पु¥याउने क्रिया सुरु गर्छ । यही कारणले सिकाइमा निन्द्राको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने गर्छ । यसले नयाँ सूचनालाई पछि सम्झनाका लागि सङ्ग्रह गरेर राख्छ । 

३. गाडी चलाउने, नृत्य र खेलकुदमा निपुणता विकासमा सहयोग
आरईएम निन्द्राको समयमा हाम्रो दिमागले हामीले गरेका भौतिक कार्यका आवश्यक सूचनालाई सङ्ग्रह गर्ने प्रक्रिया सुरु गर्छ । यो अवधिमा अत्यावश्यक क्रियाहरू टेम्पोरल लोबतर्फ अघि बढ्छन् । एक पटक टेम्पोरल लोबमा सूचनाहरू सङ्ग्रहित भइसकेपछि यी कार्य गर्नका लागि सचेत रूपमा दिमाग पनि लगाइरहुन पर्दैन । यो स्वचालित कार्यमा बदलिन्छ । 

४. ठूला निर्णय गर्नलाई सघाउँछ 
करेन्ट बायोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले निन्द्राको बेला दिमागले जटिल विषयमा काम गर्ने देखाएको छ । यसले जागिसकेपछि तपाईंलाई निर्णय गर्न सघाउँछ । 

५. सिर्जनशीलता बढाउँन सहयोग
सन् २००७ मा छापिएको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेको एक अध्ययनले निन्द्राको समयमा दिमागले गाँजेको हामीले फरक फरक ठानेका सूचनाहरूबीच रहेको सुदूर सम्बन्ध पनि पहिचान गर्न सक्ने देखाएको छ । तथ्याङ्कलाई नै हेर्ने हो भने पनि ३३ प्रतिशत मानिसले निन्द्राको एक झप्कीपछि सिर्जनात्मक सम्बन्ध बनाउन सक्ने सम्भावना पाइएको छ । 

६. शरीरको सन्तुलन र एकाग्रता वृद्धि गर्न पनि सघाउँछ
पर्याप्त निन्द्राले मानिसलाई जागेको समयको बेला आवश्यक सतर्कता वृद्धि गराउँछ । सवारी साधन चलाउने कार्यजस्तो सानो बेहोसीले पनि गम्भीर असर पर्ने कार्यमा निन्द्रा अपुगले गम्भीर दुर्घटना निम्ताएका थुप्रै उदाहरणहरू छन् । यसका साथै निन्द्राले शरीरको सन्तुलन कायम गर्न पनि सघाउँछ ।

७. निन्द्राले निरोगिता बढाउँछ 
अल्जाइमर्स रोग जस्तो गम्भीर रोगसँग सम्बन्धित विकार जागेको समयमा दिमागमा जम्मा भइरहेको हुन्छ । निन्द्राको समयमा उत्सर्जित हुने सेरेब्रोस्पानल फ्लुडले यी विकारलाई पखाल्छ । 
यसका साथै निन्द्राका समय अन्य विभिन्न क्रियाले शरीरको रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउन सहयोग गर्छ ।
 

–एजेन्सीको सहयोगमा

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...