बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भेनेजुएलाले लियो युरोपेली सांसदहरुमाथि एक्सन,मदुरो र अन्तर्राष्ट्रिय समुदायबीच झन् बढ्यो तनाव

सोमबार, ०६ फागुन २०७५, १३ : ३२
सोमबार, ०६ फागुन २०७५

काराकास – भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले सरकारको उक्त कदम ‘अविवेकी’ रहेको बताएका छन् ।

युरोपेली संसदका सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताए ।

सांसद पोन्सले भने, ‘हामीलाई भेनेजुएला छाड्न भनिएको छ । हाम्रो पासपोर्ट खोसिएको छ । देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन ।’ 

यो पछिल्लो घटनाले राष्ट्रपति निकोलास मदुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ । गत महिना राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका विपक्षी नेता हुँवा गुएइदोले मुलुकको अन्तरिम राष्ट्रपति आफू रहेको घोषणा गरेयता शक्ति सङ्घर्ष चरम अवस्थामा पुगेको छ । 

गुएइदोलाई ५० भन्दा बढी देशले समर्थन गरेका छन् । तीमध्ये युरोपका ३० वटा देश रहेका छन् । 

देश छाड्न आदेश दिइएका अरु सांसदहरुमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन् । उनीहरु सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन् । 

सांसदहरुलाई देश निकाला गरिएकोप्रति आपत्ति जनाउँदै उनले विश्व समुदायबाट एक्लिँदै गएको मदुरो सरकारको पछिल्लो कदम अविवेकी भएको बताए ।  विपक्षी नेता गुएइदोले भेनेजुएलाका निम्ति मित्रराष्ट्रले पठाएको आतकालीन मानवीय राहत सामग्री देशभित्र ल्याउन आम नागरिक समक्ष अपिल गरेका छन् ।

भेनेजुएलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न, सरसरफाईका सामान तथा पोषणयुक्त खाद्य आइपुगेको छ । तर त्यसलाई भेनेजुएला प्रवेश गर्न सरकारले अनुमति दिएको छैन । ब्राजिल र भेनेजुएलासँगै सीमा जोडिएको कुराकाओमा पनि सामग्री भण्डारहरु स्थापना गर्ने तयारी थालिएको छ । 

‘हाम्रो मुख्य लक्ष्य नै फेब्रुअरी २३ सम्ममा दश लाख स्वयंसेवी परिचालन गर्ने भन्ने हो,’ गुएइदोले बताए । करिब ६ लाख भेनेजुएलावासीले सीमामा रोकिएको सहायता देशभित्र ल्याउन हस्ताक्षर गरिसकेका छन् । 
विपक्षी नेता गुएइदोले सबै स्वयंसेवीलाई सीमामा गई सामग्री देशभित्र ल्याउन आह्वान गरेका छन् । 

अमेरिकी सिनेटर मार्को रुबियो सहायता कार्यको प्रत्यक्ष अवलोकनका लागि आइतबार कुकुटा पुगेका छन् । उनले कोलम्बिया र भेनेजुएला जोड्ने सिमोन बोलिभार  अन्तर्राष्ट्रिय पुलको पनि निरीक्षण समेत गरेका छन् । तीन वटा अमेरिकी सैनिक कार्गो विमानले दर्जनौं टन खाद्य सामग्री कुकुटा ल्याएका छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप