केन्द्रीय संस्करण

८८ दिनमा १ वर्ष, ५८ दिनमा १ दिन हुने अनौठो बुध ग्रह, जसको उपग्रह नै छैन

person explore access_timeफागुन ६, २०७५ chat_bubble_outline0
Photo: www.dhresource.com

बुधको नाम कसरी रह्यो ?

en.wikipedia.org

बुध ग्रहलाई अंग्रेजी भाषामा Mercury भनिन्छ । बुध ग्रहको यो नामाकरण रोमनहरुले गरेका हुन् । प्राचीनकालमा रोमनहरुले आकाशमा सात वटा चम्किला पिण्डहरुलाई पहिचान गरेका थिए । उनीहरुले पहिचान गरेका ती सातवटा पिण्डहरुमध्ये सूर्य, चन्द्रमा, बुधलगायतका पाँचवटा ग्रहहरु थिए । यसक्रममा उनीहरुले के देखे भने, सूर्यलाई सबैभन्दा चाँडो परिक्रमा गर्ने ग्रह बुध हो । त्यसैले उनीहरुले यस ग्रहको नाम आफ्ना सबैभन्दा महत्वपूर्ण देवता Mercury को नाममा राखिदिए । रोमन धार्मिक मान्यताअनुसार Mercury सूचनाको र यात्राको देवता हो । किम्बदन्तीअनुसार, मक्र्युरी देवताको पखेटा र स्याण्डलको मद्दतले उड्ने गर्छ ।

यता पूर्वेली समाज विशेष गरेर हिन्दू मान्यतामा चाहिँ यस ग्रहको नाम हिन्दू देवता बुधको नामको आधारमा राखियो । हिन्दू मान्यताअनुसार बुध चन्द्रमाका छोरा हुन् । चिनिया, कोरियन, जापानिज र भियतनामीहरु यस ग्रहलाई पानी तारा (Water Star) भनी मान्छन् ।

बुध पृथ्वीबाट कति टाढा छ ?

बुध सूर्यको सबैभन्दा नजिकको अर्थात् पहिलो ग्रह हो । दूरीको आधारमा हेर्दा हाम्रो पृथ्वी तेस्रो ग्रह हो । यी दुई ग्रहका बीचमा शुक्र ग्रह पर्छ । पृथ्वी र बुधबीचको औसत दूरी ४८०००००० माइल अर्थात् ७ करोड ७० लाख किलोमिटर छ ।

बुधको दूरीः पृथ्वी र सूर्यबाट

सबैलाई थाहा भएकै कुरा हो, सौर्यमण्डलका ग्रहहरु गोलाकार कक्षमा होइन, अण्डाकार कक्षमा घुम्ने गर्छ । यसको अर्थ के हो भने सूर्यबाट ग्रहहरुको दूरी मात्र हैन, ग्रहबाट अर्को ग्रहकै दूरी पनि भिन्नभिन्न हुने गर्छ । बुधको कक्षको गोलाकार लम्बाई ३६०,०००,००० किलोमिटर छ ।

सूर्यको सबैभन्दा नजिकको नातेदार ग्रह हो बुध । तर पनि यो हाम्रो हिसाबले निक्कै टाढा नै पर्छ । सूर्यबाट सबैभन्दा नजिकमा बुध ग्रह २८.६ मिलियन माइल (४६ मिलियन किलोमिटर) टाढा पर्छ भने सबैभन्दा टाढा चाहिँ ४३.४ मिलियन माइल (६९.८ मिलियन किलोमिटर) दूरीमा पर्छ ।

पृथ्वीबाट बुध पुग्न लाग्ने समय

पृथ्वीबाट बुधसम्म जानको लागि कति समय लाग्छ भन्ने कुरा त्यहाँ जानको लागि चयन गरिएको समय वा बुध र पृथ्वी आफ्नो कक्षको कुन भागमा रहेको छ भन्ने कुरामा भर पर्दछ । त्यसका साथै, त्यहाँसम्म जानको लागि कुन मार्ग छानिएको हो, त्यस कुराले पनि समयलाई निर्धारण गर्दछ । उदाहरणको लागि, सन् १९७३ को नोभेम्बर ३ मा पठाइएको मेरिनर १० नाम गरेको अन्तरिक्ष यान बुधमा सन् १९७४ को मार्च २९ मा पुगेको थियो । यो अन्तरिक्ष यानले सन् १९७४ र १९७५ का बीच तीन पटक बुध ग्रहमाथि उडेर त्यस ग्रहको आधा भाग सतहको नक्सा खिचेको थियो । त्यही यानले नै बुधमा पनि पातलो वायुमण्डल र चुम्बकीय क्षेत्र रहेको कुरा पत्ता लगाएको थियो ।

पृथ्वी र बुधको तुलना

हाम्रो सौर्यमण्डलकै सबैभन्दा सानो ग्रह हो बुध । यसको डायमिटर ४,८७९ किलोमिटर छ । यो भनेको पृथ्वीको आकारको तुलनामा एक तिहाईभन्दा अलिकति मात्र ठूलो हो । पृथ्वीको डायमिटर १२,७४२ किलोमिटर रहेको छ ।  तुलना गरेर भन्दा यदि पृथ्वीको आकारलाई बेसबल मान्ने हो भने बुधको आकार गोल्फको बल जत्रै हुन्छ ।

बुधको गुरुत्वाकर्षण शक्ति

कुनै पनि बस्तुको गुरुत्वाकर्षण शक्ति कति छ भन्ने कुरा त्यसको पिण्डमा निर्भर गर्दछ । बस्तुको पिण्ड जति ठूलो हुन्छ, त्यति नै बढी गुरुत्वाकर्षण पनि हुने गर्छ । बुधको पिण्ड (mass) पृथ्वीको तुलनामा सानो छ । यस आधारमा पृथ्वीको सतहको तुलनामा त्यहाँको गुरुत्वाकर्षण पनि कम नै हुन्छ । वैज्ञानिकहरुका अनुसार पृथ्वीको तुलनामा बुधको सतहको गुरुत्वाकर्षण शक्ति ३८ प्रतिशत मात्र हुन्छ । यसको अर्थ के हो भने, पृथ्वीमा १०० केजी तौल भएको मानिसलाई बुधमा जोख्ने हो भने उसको तौल ३८ किलो मात्र हुन आउँछ ।

बुधमा वायुमण्डल छ ?

बुधमा वायुमण्डल छ तर त्यो अत्यन्तै पातलो छ । सूर्यको बाहिरी सतहबाट आउने तत्वहरुबाट बन्ने सौर्य हावाले निरन्तर रुपमा बुधको सतहमा प्रहार गरिरहेको हुन्छ । त्यही प्रहारको कारण बुधको सतहमा हुने अणुहरुको निरन्तर विस्फोटनबाट त्यहाँको वायुमण्डल बनेको छ । सूर्यको अति नजिक रहेको कारण बुधको सतह अत्यन्तै तातो हुन्छ । त्यही तातोपनाले गर्दा त्यहाँ निर्माण भएको अणुको वायुमण्डल चाँडै उडेर अन्तरीक्षमा विलाउने गर्छ । यसरी बुधमा पृथ्वी र शुक्र ग्रहमा जस्तो स्थायी रुपमा रहिरहने वायुमण्डल छैन, त्यहाँ त निरन्तर रुपमा फेरिइरहने वा नयाँ नयाँ पैदा भइरहने खालको वायुमण्डल छ ।

बुधको वायुमण्डलमा पोटासियम, सोडियम, अणुको रुपमा रहेकोअक्सिजन, आर्गोन, हिलियम, नाइट्रोजन, कार्बोनडाइअक्साइड, पानी र हाइड्रोन पाइन्छ ।

वातावरण र तापक्रम

सूर्यको सबैभन्दा नजिकको ग्रह नै बुध हो । यो सूर्यको अति नजिक भएकोले आफ्नो अक्षमा निक्कै ढिलो घुम्ने गर्छ । फेरि यसको वायुमण्डल पनि निक्कै पातलो छ, जसले गर्दा यसले तातोलाई आफ्नो कब्जामा राखिराख्न सक्दैन । यही कारण नै बुध ग्रहको तापक्रममा निक्कै विभिन्नता छन् । यस अर्थमा बुधको तापक्रम रातको समयमा २७९ फरेनहाइटसम्म हुन्छ भने दिनको समयमा त्यहाँको तापक्रम ८१० फरेनहाइटसम्म हुन्छ । यो तापक्रम भनेको सिसा (lead) लाई पगाल्नको लागि पर्याप्त हुन्छ ।

पातलो वायुमण्डल भएको कारण त्यहाँको वातावरणमा आँधी, बाँदल, हावा र पानीहरु हुँदैनन् ।

बुधमा कति दिन बराबर एक वर्ष हुन्छ ?

हाम्रो सौर्यमण्डलमा सबैभन्दा छोटो कक्ष भएको ग्रह बुध हो । कुनै पनि ग्रहले सूर्यलाई एक फन्को मार्ने समयावधिलाई एक वर्ष मान्ने गरिन्छ । कक्ष छोटो भएकोले गर्दा बुधले सूर्यलाई चाँडै परिक्रमा गर्नेगर्छ त्यसैले त्यहाँ वर्ष पनि चाँडो चाँडो आउँछ । हाम्रो पृथ्वीको दिनको आधारमा बुध ग्रहले सूर्यलाई ८८ दिनमा एक चक्कर लगाइसक्छ । अर्थात् बुध ग्रहमा ८८ पृथ्वी दिन बराबर १ वर्ष हुन आउँछ ।

फेरि सूर्यलाई परिक्रमा गर्ने बुधको गति पनि निक्कै तीब्र छ । वैज्ञानिकहरुका अनुसार औसत रुपमा प्रतिघण्टा १०७,०८८ माइल (१७२,३४१ किलोमिटर)को गतिले बुधले सूर्यलाई परिक्रमा गर्ने गर्छ । सूर्यलाई परिक्रमा गर्ने यो गति भनेको हाम्रो सौर्यमण्डलका अरु ग्रहहरुको गतिको तुलनामा सबैभन्दा छिटो हो ।

बुधमा दिन कति लामो हुन्छ ?

कुनै पनि ग्रहमा दिन कति लामो हुन्छ भन्ने कुरा त्यसले आफ्नो धूरीमा घुम्न लगाउने समयको आधारमा निर्धारण गर्ने गरिन्छ । अरु ग्रहको तुलनामा सूर्यलाई निक्कै छिटो घुमेर परिक्रमा गर्ने भएपनि आफ्नै धूरीमा भने यो ग्रह निक्कै ढिलो घुम्छ । हाम्रो पृथ्वीमा २४ घण्टा (२३.९३४ घण्टा) बराबर एक दिन हुन्छ । अर्थात् २४ घण्टाको समयभित्र पृथ्वीले आफ्नै धूरीमा एकफन्को मार्छ । तर बुधले पृथ्वीको समयको आधारमा आफ्नो धुरीमा फन्को मार्नको लागि १४०७.५ घण्टा समय लगाउँछ । यसको अर्थ के हो भने पृथ्वीको ५८.६४६२ दिन बराबर बुधको एक दिन हुन आउँछ ।

सबैभन्दा बढी क्रेटर भएको ग्रह

बुध ग्रह हाम्रो सौर्यमण्डलमा सबैभन्दा बढी क्रेटर (craters) भएको ग्रह हो । सौर्यमण्डलको निर्माण हुँदा सबै ग्रहहरुमा क्रेटरहरु थिए । वास्तवमा, सौर्यमण्डल बाल्यकाल वा युवाकालमा हुँदा यसमा थुप्रै स–साना उल्कापिण्डहरु (Meteoroids) हरु थिए र तिनीहरु ग्रहहरुको सतहमा गएर ठोक्किने गर्थे । तिनै उल्काहरु ठोक्किने क्रममा नै क्रेटरहरु बन्ने गर्थे ।

हामीलाई अचम्म लाग्न सक्छ– त्यसो हो भने त मंगल, शुक्र र पृथ्वीमा पनि थुप्रै क्रेटरहरु हुनुपर्ने ! तर किन छैन त ? यसको कारण चाहिँ यहाँ निरन्तर रुपमा चल्ने हावा हुरी, वर्षा, ज्वालामुखी लगायतका अरु विभिन्न शक्तिहरुका कारण भएका क्रेटरहरु पनि मासिएका हुन् । अरु ठूला ग्याँसले बनेको ग्रहहरु बृहस्पति, शनि, अरुण र बरुणमा पनि धेरै क्रेटरहरु नदेखिनुको कारण चाहिँ ती ग्रहहरु पृथ्वीबाट टाढा हुनु र त्यहाँको सतह मेटेरोइड ठोक्किएको देखिने ढंगले प्रष्ट नहुनु पनि हो । उता बुधमा चाहिँ वायुमण्डल अति पातलो छ । त्यहाँको वातावरण पनि स्थायी खालको छैन, जसले गर्दा मेटेरोइडहरु पनि त्यहाँ सजिलै र निक्कै ठोक्किने गर्छ । यही कारण नै बुधमा धेरै क्रेटरहरु देखिन्छन् ।

कति पुरानो ग्रह?

बुध ग्रहको निर्माण सौर्यमण्डलका अरु पिण्डहरुसँगसँगै भएको हो । अहिलेसम्मको स्थापित मान्यता अनुसार विशाल ग्याँस र धुलोको गोला विस्फोटन भएर सौर्यमण्डलको निर्माण भएको हो । खगोलशास्त्रीहरुका अनुसार उक्त घटना आजभन्दा ४.६ अरब (४.६ विलियन) वर्ष पहिले भएको हो । यस हिसाबले बुध ग्रहको आयु पनि ४.६ अरब हुन आउँछ ।

बुधमा पानी छ ?

वैज्ञानिकहरुले बुधका बारेमा निरन्तर अध्ययन गरिरहेका छन् । पछिल्लो चरणमा प्राप्त राडर तथ्यांकहरुका अनुसार मक्र्युरीको धु्रवमा रहेका क्रेटरहरुको सतहभित्र पानीको बरफ हुन सक्छ । सूर्यको अति नजिक रहेको र धेरै नै तातो हुने हुनाले हाम्रो मनमा त्यहाँ पानी कसरी रहन सक्छ र, वाफ बनिहाल्छ नि भन्ने प्रश्न पनि उठ्न सक्छ । तर यसको जवाफ वैज्ञानिकहरुसँग छ । उनीहरुका अनुसार क्रेटरका बाहिरी भागले यसको सतह जहिले पनि छायाँमा परिरहेको हुन्छ, जसले गर्दा त्यस भाग चिसो हुने गर्छ । त्यसै गरी मक्र्युरी आफ्नो अक्षमा ढल्केको पनि छैन, जसले गर्दा त्यहाँको धु्रवीय क्षेत्रमा धेरै थोरै मात्र घाम लाग्ने गर्छ र ती क्षेत्रहरु चिसो नै रहने गर्छ । यी दुई कारणले गर्दा त्यहाँ पानी वाफ बनेर उड्न पाउँदैन ।

कस्तो रंग छ ?

अघिल्लो अंकमा नै हामीले पढेका छौं, सबै ग्रहहरुको आफ्नै विशेष रंग हुन्छ । वास्तवमा, ग्रहको सतह कुन पदार्थले बनेको छ र त्यहाँको वातावरणले कसरी सूर्यको प्रकाशलाई सोस्छ र परावर्तन गर्छ (फर्काउँछ) भन्ने कुराले त्यो ग्रहको रंग निर्धारण गर्छ । बुधको रंग गाढा खराने खालको छ ।

केले बनेको छ बुध ?

बुध एउटा चट्टाने ग्रह हो । यसको केन्द्रीय भाग (Core) फलामको विशाल पत्रले बनेको छ । वैज्ञानिकहरुका अनुसार यसको भित्री भागले बुधको कूल आकारको तीन चौथाई भाग ओगट्छ । यस आधारमा यसको केन्द्रीय भागको आकार हाम्रो चन्द्रमा जत्रो छ । बुधको ७० प्रतिशत भाग फलामले बनेको छ । यस आधारमा बुध सौर्यमण्डलकै सबैभन्दा बढी फलाम भएको ग्रह हो । यसको केन्द्रभन्दा माथिल्लो भाग बुधको ३५० माइल बाक्लो चट्टाने पत्रले बनेको छ । त्यो चट्टाने भाग पनि बाक्लो धुलोको पत्रले ढाकिएको छ । वैज्ञानिकहरुले त्यहाँको सतह इग्नियोस सिलिकेट (igneous silicate) चट्टान र धूलोले बनेको हुनुपर्छ भन्ने ठान्छन् ।

बुधबाट सूर्य कस्तो देखिन्छ ?

पृथ्वीबाट एउटा ठिक्कको रिकापी जस्तो देखिन्छ । तर बुध पृथ्वीको तुलनामा सूर्यबाट निक्कै नजिक छ । यस आधारमा वैज्ञानिकहरुले के विश्लेषण गरेका छन् भने पृथ्वीबाट देखिने आकारभन्दा अढाइ गुना ठूलो आकारमा बुधबाट सूर्य देखिने गर्छ । 

कसले पत्ता लगाए बुध ग्रह ?

बुध ग्रह यही व्यक्तिले पत्ता लगाएका हुन् भनेर भन्न गाह्रो छ । वास्तवमा, बुध लगायतका पाँचवटा ग्रहहरुलाई निक्कै प्राचीनकालदेखि नै मानिसहरुले पहिचान गरिसकेका थिए । यी पाँच वटा ग्रहहरुलाई हेर्नको लागि टेलिस्कोप नै चाहिँदैन, मानिसको नांगो आँखाले नै पनि देख्न सकिन्छ ।

आजभन्दा हज्जारौं वर्षपहिलेदेखि नै पृथ्वीका विभिन्न भागका वासिन्दाहरुले बुध ग्रहलाई देखिसकेका थिए । आजभन्दा ईशापूर्व ३००० भन्दा पहिले नै पनि सुमेरियनहरुले यो ग्रह पत्ता लगाइसकेका थिए । सूर्यबाट सधैं नजिक रहने कारणले यो ग्रहलाई मानिसहरुले शुक्र, मंगल, वृहस्पति र शनि ग्रहपछि मात्र पत्ता लगाएका थिए भन्ने विश्वास गरिन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ