मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन् पुल

सोमबार, ०६ फागुन २०७५, ०८ : ५२
सोमबार, ०६ फागुन २०७५

खोटाङ – तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । 

सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन । 

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन । 

पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् । 

पुल निर्माणको काम करीब दुई प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए । “निर्माणाधीन पुलको रङ्ग रोगन र साइड क्लियरेन्सको काम मात्र बाँकी छ ।” उनले भने, “पुल सञ्चालनमा आउन अब धेरै समय लाग्दैन । चाँडै सम्पन्न गरेर उद्घाटन गर्ने तयारीमा लागेका छौँ ।” 

ठेकेदारको ढिलासुस्तीमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ साल वैशाख ६ गते र २०७५ साल वैशाख ४ गते आएको बाढीले बगाउँदा पुलको काम अनपेक्षित पछाडि धकेलिएको स्थानीयको आरोप छ । 

करीब रु छ करोडको लागतमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको पटक–पटक म्याद गुज्रँदा पनि निर्माणको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन् । 

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गका रुपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै विरोधका आवाज उठ्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप