शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ‘एप’ मा १२ मन्त्री फेल : काम नगर्नेमा प्रधानमन्त्री कार्यालय र खानेपानी मन्त्रालय  नै अगाडि

कुन मन्त्रालयको कार्यप्रगति कस्तो (तथ्याङ्कसहित)
आइतबार, ०५ फागुन २०७५, १८ : ०६
आइतबार, ०५ फागुन २०७५

प्रधानमन्त्री कार्यालयले गरेको अनुगमनको पनि अनुगमनमा तोकिएको समयमा कार्ययोजना पूरा नगर्ने पहिलो नम्बरमा खानेपानी मन्त्रालय परेको छ ।

गत साउनदेखि माघ मसान्तसम्म ७ महिनामा १ सय १३ कार्ययोजनामा खानेपानी मन्त्रालयले ८९.३८ प्रतिशत काम सुरु नै गरेको छैन, ४.४२ प्रतिशत काम भइरहेको र ६.१९ प्रतिशत कार्ययोजना सम्पन्न गरेको प्रधानमन्त्री कार्यालयको आँकडा छ । समयमा कार्ययोजना सम्पन्न नगर्ने दोश्रोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ । स्वास्थ्य मन्त्रालयले ८४.४८ प्रतिशत कार्ययोजना नै सुरु गरेको छैन भने ८.६२ प्रतिशत काम भईरहेको ६.८९ प्रतिशत कार्ययोेजना पूरा गरेको छ ।

प्रभावकारी रुपमा मन्त्रालयहरुलाई काम गराउन दवाव दिने उद्देश्यले यस्तो कार्ययोजना ल्याउने प्रधानमन्त्री कार्यालय स्वयम् पनि समयमा कार्ययोजना पुरा नगर्ने तेश्रो स्थानमा परेको छ । प्रधानमन्त्री कार्यालयले ८४ कार्ययोजनामा ७८.५७ प्रतिशत कार्ययोजना सुरु नै गरेको छैन । ७.१४ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ भने १४.२८ कार्ययोजना पुरा गरेको छ ।

कार्यतालिका अनुसार काम नगर्ने मन्त्रालय अन्र्तगत चौथो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यो मन्त्रालयले ७०.७३ प्रतिशत कार्ययोजना सुरु नै गरेको छैन भने २९.२६ प्रतिशत कार्ययोजना पुरा गरेको छ । 

गत साउनदेखि प्रधानमन्त्री कार्यालयले समय तालिका बनाएर मन्त्रालयहरुलाई काम छिटो गराउन अनुगमनको पनि अनुगमन गर्ने कार्ययोजना अघि सारेको थियो । सफ्टवेयर बनाएर मन्त्रालयले गरेको कामका आधारमा ‘रेटिङ’ अर्थात नम्बर दिने र सो को विवरण एप्लिकेशन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नै हेर्न सक्ने व्यवस्था गरिएको थियो ।

गत असारको अन्तिम साता प्रधानमन्त्री कार्यालयमा दुई दिनसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवले आफ्नो मन्त्रालयले गर्ने वार्षिक कार्ययोेजना सम्पन्न गर्ने समय तालिकासहित पेश गरेका थिए ।

उनीहरुले पेश गरेको कार्ययोजनाको काम के भइरहेको छ भनेर प्रधानमन्त्री कार्यालयले सफ्टवेयर मार्फत अनुगमन गर्ने गरेको छ ।

सफ्टवेयरमा कार्ययोजना सुरु नभएकोलाई रातो, काम भइरहेकोलाई पहेलो र कार्ययोजना सम्पन्न भएकोलाई हरियो रंगको पाइचार्टमा समेटिने गरिएको छ । सफ्टवेयरमा क्रियाकलाप, माइलस्टोन, कार्यप्रगति विवरण तथा रेटिङ सेट गरिएको छ । मन्त्रालयले आफूले गरेको कामको विवरण पठाएपछि प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन तथा विश्लेषण शाखाले त्यसलाई सफ्टवेयरमा अपडेट गर्ने गरेको छ ।

कुन मन्त्रालयको कस्तो छ कार्यप्रगति 

प्रधानमन्त्री कार्यालयको आंकडा अनुसार समयमा सबैभन्दा धेरै कार्ययोजना पुरा गर्नेमा सबैभन्दा अगाडि परराष्ट्र मन्त्रालय रहेको छ । बितेको ९ महिनामा ५१ कार्ययोजना मध्ये परराष्ट्रले ६० प्रतिशत कार्ययोजना सम्पन्न गरेको छ भने ३२.३३ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ । यस्तै ७.६७ प्रतिशत कार्ययोजनाको काम सुरु भएको छैन । धेरै कार्ययोजना सक्ने दोश्रोमा गृह र रक्षा मन्त्रालय रहेको छ । रक्षाले ५१.८५ प्रतिशत काम सम्पन्न गरेको छ भने र रक्षाले ५५.५५ प्रतिशत काम सम्पन्न गरेको छ । यद्यपी ९ महिने अवधिमा रक्षाको कार्ययोजना ९ मात्र रहेको छ भने गृहको ५४ कार्ययोजना थियो । यस्तै निर्वाचन आयोगले ५२.६३ प्रतिशत कार्ययोजना पूरा गरेको छ ।

किन प्रधानमन्त्री कार्यालयले नै धेरै कार्ययोजना सुरु गर्न सकेन ?

प्रधानमन्त्री कार्यालयले अरुले गर्न बाँकी रहेका कार्ययोजना आफूले लिएको र अन्य निकायलाई आवश्यक पर्ने काम राखेका कारण सफ्टवेयरमा धेरै कार्ययोजना पुरा हुन बाँकी रहेको प्रवक्ता विनोद बहादुर कुँवरले बताएका छन् । रातोपाटीलाई उनले भने–‘हाम्रो काम मन्त्रालयहरुलाई सजग गराउने, अरुले गरेका काममा समन्वय गर्ने हो, गर्न नपर्ने कामलाई पनि कार्ययोजनामा राखिएपछि त्यस्तो देखिएको हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले असारको अन्तिम साता भएको बैठकमा मन्त्री र कर्मचारीलाई उनीहरुले प्रस्तुत गरेको कार्ययोजना समयमै पूरा गर्न निर्देशन दिएका थिए । तर प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार न मन्त्रालयले कार्यसम्पादन गरेका छन् न कम काम गर्ने मन्त्रालयलाई नै सचेत गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप