बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कार्यदल ‘असफल’ बनेपछि ओली–प्रचण्ड सक्रियः अब टुङ्गिएला नेकपाको एकता ?

एकीकरणको प्रस्ताव तयार गर्न अध्यक्षद्वय दिनहुँ छलफलमा
आइतबार, ०५ फागुन २०७५, १५ : ५७
आइतबार, ०५ फागुन २०७५

सरकार सञ्चालनको एक वर्षे समिक्षापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकीकरणको तयारीमा जुटेका छन् ।

शनिवार अध्यक्षद्वयको आन्तरिक छलफल पछि फेरी आइतबार विहान पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलसहित छलफलमा जुटेको वालुवाटार स्रोतले बताएको छ । 

पार्टी एकताको नौ महिना वितिसम्दा पनि नेकपाले तल्लो तहसम्मका संगठनको एकीकरण प्रक्रिया टुङ्ग्याउन नसक्दा धेरै नेता कार्यकर्ता जिम्मेवारीविहीन बनेका छन् ।

जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा तीन महिना भित्रमा एकीकरणका सबै प्रक्रिया टुङ्ग्याउने भनेको नेकपाले नौ महिना विति सक्दा पनि एकीकरणले पुर्णता पाउन सकेन । पछिल्लो समय अध्यक्षद्वय ओली र प्रचण्डले माघ महिनाभित्रमा एकीकरणका सवै काम टुङ्ग्याएर फागुन र चैतमा अभियान सञ्चालन गर्ने बताएका थिए ।

सोहि अनुसार काम अगाडि बढाउन भन्दै पुस १३ गते स्थायी कमिटी बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदललाई केन्द्रीय सदस्यको कार्यविभाजन, विधानमा भएको त्रुटि सच्चाउने देखि एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी प्रस्ताव तयार गर्ने  म्यान्डेटसहित पुस मसान्तसम्म प्रतिवेदन बुझाउने समय दिइएको थियो ।

तर कार्यदलले माघको तेस्रो सातासम्म पनि एकीकरणको प्रस्ताव तयार गर्न नसकेपछि माघ २१ गते बसेको सचिवालय बैठकले यथास्थितिमा कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । कार्यदलमा संयोजक रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बर्षमान पुन, लेखराज भट्ट, रघुवीर महासेठ र बेदुराम भुसाल रहेका थिए । 

सचिवालयको निर्देशनअनुसार कार्यदलले कार्यदलले नै बाँकी काम टुङ्ग्याउने गरी सचिवालयलाई थप समय माग गर्दै अपुरो प्रतिवेदन बुझाएको थियो । तर, अध्यक्षद्वय ओली र प्रचण्ड कार्यदललाई समय नदिएर आफै एकीकरणका बाँकी काम टुंगाउन आन्तरिक छलफलमा जुेटेका हुन् ।

एकीकरणको प्रस्ताव तयार गर्न ओली प्रचण्डको सक्रियता

स्रोतका अनुसार शनिवार अध्यक्षद्वयको सामान्य समझदारी पछि आइबार कार्यदलका संयोजक बादल र महासचिव पौडेलसहित अध्यक्षद्वय छलफलमा जुटेका छन् । अध्यक्षद्वयले प्रस्ताव तयार गरेपछि सोमबार अथवा मंगलबार सचिवालयको बैठक बोलाउने तयारी  भैरहेको बालुवाटार स्रोतले बतायो ।

यसअघि बनेका विभिन्न कार्यदलले एकतालाई पूर्णता दिन नसकेपछि अब अध्यक्षद्वयलेनै एकीकरणका बाँकी काम टुङ्ग्याउने भएका हुन् । अध्यक्षद्वय ओली र प्रचण्डले तल्लो तहसम्मका संगठन र जनवर्गीय संगठनको एकीकरण प्रस्ताव तयार गर्न छलफलमा जुटेको एक स्रोतले बतायो ।

अध्यक्षद्वयको व्यस्तता, आन्तरिक विवाद लगाएतका कारणपछि सर्दै आएको एकीकरण प्रक्रिया अध्यक्षद्वयको लगातारको भेटघाटले पुन कार्यकर्तामा पनि उत्साह देखिएको छ । अब एकताले मुर्तरुप लिन्छ भन्ने आशा फेरी नेता कार्यकर्तामा देखिएको छ ।

तर, प्रदेश कमिटीको विषयलाई लिएर नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको असन्तुष्टि रहँदैआएको छ । नेकपामा खासगरी केहि नेताहरुलाई दिएको दोहोरो जिम्मेवारी हेरफेर गर्नुपर्ने अडान नेपाल पक्षको छ । त्यसकै असर कार्यदललमा पनि देखिएको थियो । जसले गर्दा कार्यदल विघटनकै अवस्थामा पुग्यो ।

यस्तो अवस्थामा अव अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा सचिवालयमै सहमति हुन्छ वा हुँदैन भनिहाल्ने अवस्था देखिँदैन । तरपनि माघ २१ गते सचिवालयको बैठक बसेर कार्यदललाई यथास्थितिमा प्रतिवेदन बुझाउन निर्देशन दिनु, एकीकरण ढिला भएको महशुस अध्यक्षद्वयकै अभिव्यक्तिमा आउनु र पछिल्ला केहि दिनमा दिनहुँजसो भेटघाटले अव एकीकरण प्रक्रिया अघि बढ्छ भन्ने आधार भने देखिएको छ ।

सचिवालयका एक नेताका अनुसार अध्यक्षद्वयले तयार पारेको प्रस्ताव सचिवालयको बैठकमा छलफल पछि स्थायी कमिटीमा पेश हुनेछ । स्थायी कमिटीले अन्तिम रुप दिएपछि सांगठनिक एकीकरणका काम टुंगिने छन् । त्यसपछि नेकपाले देशभर अभियान सञ्चालन गर्ने तयारी अध्यक्षद्वयले गरेको एक नेताले बताए ।

नेकपामा अहिलेसम्म सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी गठन भएको छ । यद्यपी प्रदेश कमिटीमा अझै विवाद कायम छ । त्यसबाहेक पोलिटव्यूरो गठन, ३२ केन्द्रीय विभाग, जनवर्गीय संगठनको एकता, जिल्ला कमिटी, केन्द्रीय तहमा रहने आयोग, परिषद् लगाएत केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी वाँडफाँड गर्ने काम बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप