बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिन्दुराष्ट्र बनाएरै छोड्ने हिन्दु परिषद नेपालको घोषणा

आइतबार, ०५ फागुन २०७५, १४ : ४३
आइतबार, ०५ फागुन २०७५

काठमाडौं– हिन्दु परिषद नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आईतवार रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले यस्तो घोषणा गरेको हो ।  कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनैै पनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाईनेमा जोड दिएका छन् । उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्टियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दुराष्ट्र नै कायम गर्नुपर्ने माग राखे ।

उनले भने,‘हामी कोही पनि हिन्दुको भावना माथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजावादीसँग जोडेर नहेर्न पनि अनुरोध गर्दछौं ।’ पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्म सम्बन्धी गतिविधि बढ्दै गएको आरोप लगाउँदै उनले पहिला हिन्दुभित्रै रहेका तल्लो जात र माथिल्लो जातको वीचको विभेद हटाउनुपर्ने धारणा राखे । 

उनले हिन्दुभित्रै जातको विभेदमा बाँचेकाहरुनै आज आफ्नो धर्म त्यागेर अरु बाह्यधर्म अंगाल्नपुगेको आरोप लगाए । ‘कुनैपनि राष्ट्रमा पहिले मुल धर्मलाई आत्मसात गर्न सक्नुपर्छ’–पटेलले थपे । नेपालको संविधानमा नै जबरजस्ती धर्म परिवर्तन गर्न नपाईने भनेर स्पष्ट रुपमा लेखेको उल्लेख गर्दै उनले आज देशलाई नै हिन्दु विहिन बनाउन लाग्दा पनि सरकारको त्यतातर्फ ध्यान तथा आँखा नपरेकोमा आपत्ति जनाए ।

धर्मसम्बन्धी संघ तथा संगठनहरु अब हिन्दू धर्मको संरक्षणमा लाग्नु पर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गाई काटेर खान गरेको आग्रहलाई उनलाई भोट दिने जनताले नै उनको पुत्ला जलाएर विरोध गरेको स्मरण गराउँदै उनले भने, ‘जनताले बाबुरामलाई राम्रो सबक सिकाए, त्यहीकारण अहिले नेपालका कम्युनिष्टहरु हिन्दु धर्ममा आस्था राख्ने भएका छन ।

सम्पुर्ण नेपालीको एउटै भावना र धर्म भनेको हिन्दु नै हो,राजनीतिक दलहरुले एजेन्डा परिवर्तन गरेजस्तै धर्मको नाममा राजनीतिनगर्न पनि म आग्रह गर्दछु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप