बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसारका १० सर्वाधिक धनाढ्य महिला, सम्पत्ति औंलामा गन्न मुश्किल

आइतबार, ०५ फागुन २०७५, ११ : ११
आइतबार, ०५ फागुन २०७५

फोर्ब्सले तयार पार्ने धनाढ्यको सूचीमा कूल एक हजार आठ सय २६ को नाम समावेश छ जसमध्ये ११ प्रतिशत महिला छन् जुन वास्तवमा निकै कम हो । तर पछिल्लो वर्ष धनाढ्यको सूचीमा महिलाको संख्या बढ्दो छ । यहाँ हामी फोर्ब्सको अर्बपतीको सूचीमा सयौं स्थानभित्र पर्न सफल महिलाबारे कुरा गरिएको छ ।

क्रिस्टि वाल्टनः

कूल ४१.७ बिलियन डलर (करिब ४८ खर्ब रुपैयाँ) सम्पत्तिसहित क्रिस्टि वाल्टन संसारकै सार्वधिक धनाढ्य महिला हुन् । उनको सम्पत्तिको राम्रै हिस्सा उनले श्रीमान् जोन वाल्टनबाट पाएकी हुन् । जोन वाल्टनले वाल–मार्टको स्थापनापछि अत्यधिक सम्पत्ति जोड्न सफल भए । जब सन् २००५ जुनमा उनको विमान दुर्घटनामा मृत्यु भयो क्रिस्टिले श्रीमान्को १८.२ बिलियन अमेरिकी डलर प्राप्त गरिन् । उनले श्रीमान्बाट पाएको सम्पत्तिलाई दोब्बर बढी वृद्धि गरिसकेकी छिन् ।

लिलियन बेटेनकोर्टः

क्रिस्टि वाल्टनपछि दोस्रो धनाढ्य महिलाको सूचीमा लिलियन बेटेनकोर्ट छिन् । उनी कस्मेटिक कम्पनी फ्रेन्च लोरियल कम्पनीकी मालिक हुन् । संसारभरी उनी दोस्री धनाढ्य महिला हुन् भने युरोपमा उनी पहिलो स्थानमा छिन् । उनको सम्पत्ति ४०.१ बिलियन अमेरिकी डलर (लगभग ४६ खर्ब रुपैयाँ) छ ।

लिलियन निकै लामो समयदेखि कम्पनीलाई केही हदसम्म सहयोग गरिरहेकी छिन् । सन् १९०७ मा लोरियल कम्पनी स्थापना गर्ने लिलियनले त्यतिबेला कम्पनी चलाउन लगभग सबैजसो काम गरिन् । तर सन् २०११ मा डिमेन्सिया रोगका कारण लिलियनकी छोरीले उनलाई कम्पनीबाट टाढा राखिन् ।

एलिस वाल्टनः

वाल–मार्ट अत्यधिक सफल भएकाले वाल्टन परिवारका अन्य सदस्य यो सूचीमा हुँदा अचम्ममा पर्नु पर्दैन । एलिस वाल्टन जोन वाल्टनकी बहिनी हुन् र क्रिस्टि वाल्टनकी नन्द । उनी, जोन र हेम्स लरेन्स ‘बड’ वाल्टन, सबै कम्पनीका संस्थापक हुन् । अहिले एलिसको ३९.४ बिलियन अमेरिकी डलर (४५ खर्ब रुपैयाँ) सम्पत्ति छ । उनी क्रिस्टल ब्रिजेज म्युजियम अफ अमेरिकन आर्टकी संस्थापक पनि हुन् । यो अमेरिकाको आर्ट म्युजियम हो ।

ज्याकलिन मार्सः

यो सूचीको चौथो स्थानमा चर्चित क्यान्डी बारः द मार्स बारकी मालिक ज्याकलिन मार्स छिन् ।  सन् १९११ मा ज्याकलिनका हजुरबुवा फ्र्यान्क मार्सले वासिङ्टनस्थित आफ्नो घरको किचेनबाट यो व्यवसाय सुरु गरेका थिए । ज्याकलिनका पिता यसमा संलग्न भएपछि यो बजारमा निकै चर्चित भयो । अहिले ज्याकलिनको सम्पत्ति २६.६ बिलियन अमेरिकी डलर (लगभग ३१ खर्ब रुपैयाँ) छ । उनको कम्पनीले चामललगायत कुकुर र बिरालोको खानेकुरा पनि उत्पादन गर्छ ।

लाउरेन पावेल जब्सः

लाउरेन पावेल जब्स, एप्पलका दिवंगत सह–संस्थापक स्टिभ जब्सकी श्रीमती हुन् । एप्पलको स्थापना कालमा लाउरेन त्यसको लगानीकर्ता थिइन् । कूल १९.५ बिलियन अमेरिकी डलर ( २२ खर्ब रुपैयाँ) सम्पत्तिकी मालिक लाउरेनको अहिलेको मुख्य उद्देश्य खाँचो परेकाहरुलाई सहयोग गर्नु हो । उनले विद्यार्थीलाई कलेज डिग्री प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले कलेज ट्र्याक नामको समूहको स्थापना गरेकी छिन् । साथै उनले इमर्सन कलेक्टिभको पनि स्थापना गरेकी छिन् । कलेक्टिभको मुख्य उद्देश्य उद्यमशीलतालाई प्रयोग गर्दै सामाजिक सुधार गर्नु हो ।

मारिया फ्रान्का फिसोलोः

मारियाले पनि क्रिस्टि वाल्टनले झैं दिवंगत श्रीमानबाट सम्पत्ति प्राप्त गरिन् । मारिया फ्रान्का फिसोलो क्यान्डी टाइकुन भनिने माइकल फेरोरोसँग विवाहित थिइन् । माइकल न्यूटेलालगायत क्यान्डीका लागि चर्चित थिए । सन् २०१५ मा माइकलको मृत्यु भएपछि उनीलगायत छोरा गियोभानी फेरेरो उक्त कम्पनीका मालिक हुन् । उनको कम्पनीले किन्डर, टिक ट्याक, फेरेरो रोचरलगायत विभिन्न चर्चित चकलेटको उत्पादन गर्छ । उनको २३.४ बिलियन अमेरिकी डलर (२६ खर्ब रुपैयाँ) सम्पत्ति छ ।

सुसेन क्ल्याटेनः

१६.८ बिलियन डलर सम्पत्तिसहित सुसेन जर्मनीकी सर्वाधिक धनी महिला हुन् । उनले जर्मनका उद्योगपति बुवा हर्बर्ट बेर्नर क्वान्डटबाट उक्त सम्पत्ति पाएकी हुन् । उनले नै बीएमडब्लू कारको ब्रान्ड स्थापना गरेका हुन् । उनले छोरी सुसेनलाई उक्त कम्पनी सुम्पिए । अहिले सुसेनको ध्यान फर्मास्यूटिक र केमिकल कम्पनी एट्लान्टा एजीको अपग्रेड गर्नमा केन्द्रीत छ ।

जोहान्ना क्वान्ड्टः

सुसेन क्ल्याटेनकी आमा जोहान्नाले श्रीमान् हर्बर्ट वेर्नर क्वान्डटबाट सम्पत्ति पाएकी हुन् । हर्बर्टकी तेस्री श्रीमती उनी बीएमडब्लूको सुपरभाइजरी बोर्डमा छिन् र खासै चर्चामा रहन चाहन्नन् । उनको बारे खासै त्यति जानकारी छैन । १३.९ बिलियन अमेरिकी डलरकी (१५ खर्ब रुपैयाँ) मालिक उनी ब्याड होमबर्ग भोर देर होइहेमा बस्छिन् । उनले जर्मनको शिक्षा र पत्रकारिताको क्षेत्रमा ठूलो योगदान पुर्याएकी छिन् ।

आइरिस फोन्टबोनाः

आइरिस फोन्टबोनाले एन्ड्रोनोइको लुक्सिकबाट एन्टोफोगास्टा पिएसी कम्पनी पाएकी हुन् । यो कम्पनीसहित आइरिस तामाको खानीकी मालिक हुन् । साथै उनी लण्डन स्टक एक्सचेन्जकी ठूलो लगानीकर्ता हुन् । यसकारण आइरिसको १३.५ बिलियन अमेरिकी डलर (१५ खर्ब रुपैयाँ) सम्पत्ति छ ।

एने कक्स चेम्बर्सः

यो सूचीको सबैभन्दा वृद्धा धनाढ्यको सूचीमा एने कक्स चेम्बर्स हुन् । उनले आफ्नो १७ बिलियन अमेरिकी डलर आफ्नो बुवाबाट पाएकी हुन् जो पत्रिकाका प्रकाशक, संचार उद्यमी र अनलाइन कार सेल्सम्यान थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप