शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउसी खेलेर गाउँमा फार्मेसी र ल्याव सेवा

आइतबार, ०५ फागुन २०७५, १० : ४६
आइतबार, ०५ फागुन २०७५

दुई सय रुपैयाँको औषधी किन्न तीन सय रुपैयाँ गाडी भाडा तिरेर जानु पर्ने समस्या भएपछि गुल्मीको विकट गाउँ भार्सेका वासिन्दाले देउसीभैलो खेलेर संंकलन गरेको रकमले गाउँकै स्वास्थ्य चौकीमा फर्मेसी तथा ल्याव सेवा सञ्चालन गरेका छन् ।

सत्यवती गाउँपालिका वडा–८ भार्से स्वास्थ्य चौकीमा फार्मेसी र ल्याव सेवा सञ्चालन गरेका हुन् । उक्त सेवाको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले उद्घाटन गरे । 

उद्घाटन समारोहलाई सम्वधोन गर्दै अध्यक्ष ढकालले भार्सेवासीको पहलको प्रशंसा गरे । उनले त्यस वडाका वडाध्यक्ष  तथा भार्से स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार थापा र स्वास्थ्य चौकी इञ्चार्ज युवराज दिशा मगर विशेष धन्यवादको पात्र भएको बताए । उनले भार्से स्वास्थ्य चौकीमा डाक्टरको पहुँच पुर्याउन गाउँपालिका लागिपरेको बताए । सेवा सञ्चालनका लागि गाउँपालिकाले पनि १ लाख ८४ हजार रुपैयाँ प्रदान गरेको जानकारी समेत उनले दिए ।

सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शुवर्ण शाही शेरचनले महिलाहरु स्वास्थ्य प्रति सचेत हुनु पर्ने कुरामा जोड दिदै स्वयम सेवीकाको समस्या राज्यले बुझेर सम्वोधन गर्नु पर्नेमा जोड दिईन ।  

भार्से थाप्ले युवा क्लब, फ्रेन्डसीप युवा क्लब, कृष्ण चरित्र भैलो समुह, भार्सेकै सोरेठी भैलो समुह, त्यस्तै साविक वडा  १ को सगरमाथा आमा समुह, वडा नम्वर २ को सरस्वती आमा समुह, वडा नम्वर ३ को  कलापुन आमा समुह, वडा नम्वर ४ को रानीवन आमा समुहले फार्मेसी सञ्चालनका रकम प्रदान गरेका थिए ।

त्यस्तै, वडा नम्वर ६ को ठुलोपोखरी आमा समुह, वडा नम्वर ७ को मिलनसार आमा समुह, वडा नम्वर ८ को देवि देउराली आमा समुह, वडा नम्वर ९ को शिव पार्वती आमा समुह र ईन्द्र गलामीले पनि सहयोग गरेका थिए ।

गाउँवासीबाट  कुल १ लाख ९३ हजार ८ सय ७० रुपैयाँ संकलन भएको स्वास्थ्य चौकी ईञ्चार्ज युवराज दिशा मगरले जानकारी दिए । 

अब सरकारबाट  प्राप्त हुने ३५ थरीका निःशुल्क औषधीका साथै बाहिर किन्नु पर्ने अन्य सबै खाले औषधी भार्सेवासीले गाउँ मै खरिद गर्न पाउने भएका छन् ।

यस अघि बुटवलसम्म चार पाँच सय रुपैयाँ भाडा तिरेर ५० रुपैयाँ सम्मको औषधी किन्न जानु पर्ने अवस्था थियो । अब भने उक्त सुविधा गाउँ मै उपलब्ध हुने भए पछि आफुहरुलाई खुशी लागेको भार्सेवासीले बताए ।

सोही चौकी मै सुत्केरी सेवा र नवजात शिशुलाई तातोमा राख्ने मेशिनसमेत उपलब्ध गराइएको छ । गाउँको स्वास्थ्य अवस्था बुझ्न महिला स्वयम सेवीकालाई मासिक २ सय ५० रुपैयाँ रिचार्ज  उपलव्ध गराउँदै आएको छ । त्यस्तै केन्द्र सरकारले उपलव्ध गराउने सुत्केरी भत्ताका अलवा  त्यस वडाले सुत्केरीहरुलाई ५ सय रुपैयाँ प्रोत्साहन भत्ता समेत दिदै आएको छ ।

बेला बेलामा स्वास्थ्य शिविर, घुम्ती सेवा सञ्चालन, सुगर र प्रेशरका विरामीहरुलाई निशुल्क स्वास्थ्य जाँच लगायत सेवा प्रदान गरिर्दै आएको सत्यवती गाउँपालिकाका स्वास्थ्य शाखा सञ्योजक सूर्यबहादुर रानाले बताए ।

जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रका डाक्टर नुपेन्द्र श्रेष्ठले ल्याव विना सही विमार पत्ता लगाउन नसकिने भएकोले  भार्से गाउँमै उक्त सेवा प्रदान गरिएकोमा निरन्तरताको आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा  जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियन खिमलाल पाण्डे, स्वास्थ्य  चौकीका पूर्व इञ्चार्ज पूर्णबहादुर शाही, वडा सचिव होमलाल भण्डारी, वडा नम्वर ७ का जनप्रतिनिधी मेघराज वञ्जाडे लगायतले मन्तव्य राखेका थिए ।

त्यस स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष सन्तकुमार थापको अध्यक्षता रहेको कार्यक्रममा अनमी राधा काउछाको स्वागत मन्तव्य रहेको थियो वडा सहायक सचिव विजय पुनले कार्यक्रमको सञ्चालन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप