बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालकी विनिता राईले जितिन आईएफबीबी प्रो कार्ड, ओलम्पियामा प्रतिस्पर्धा गर्न पाउने

शनिबार, ०४ फागुन २०७५, १९ : २६
शनिबार, ०४ फागुन २०७५

–कुमार चौलागाईं 

काठमाडौँ । नेपालकी विनिता राईले आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी छिन् । आज यहाँ सम्पन्न प्रतिस्पर्धामा उनले आफ्नो स्पर्धा उनले एक मात्र सहभागी बन्दै ‘प्रो कार्ड’ जित्न सफल भएकी हुन् । 

नेपालमा पहिलोपटक आयोजना भएको प्रतियोगितामा स्वर्ण जितेसँगै विनिताले अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउने छिन् । बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन ‘प्रो कार्ड’ आवश्कता पर्छ । 

प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार इभेन्टमा प्रतिस्पर्धा भएको थियो । यस्तै मेन्स बडिबिल्डिङको प्रो कार्ड इङ्ग्ल्यान्डका जानी डो रिगोल जितेका छन् । ‘मेन्स फिजिक’को प्रो कार्ड भारतका सौराम्ती सिंहले जिते । उनले अन्तिम प्रतिस्पर्धामा रहेका तीन खेलाडीलाई पछि पारेका थिए । 

‘मेन्स क्लासिक फिजिकको प्रोकार्ड सिरियाका अमिर हुसेन सैलादिनले हात पारेका छन् । प्रो कार्ड जितेका चार बडिबिल्डरले अब आगामी सेम्टेम्बरमा अमेरिकामा हुने हुने मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन् । 

प्रतियोगितामा नेपालसहित भारत, कतार, सिरिया, साउदी अरेबिया, युएइलगायत मुलुका खेलाडी नेपाल आएका थिए । प्रतियोगिताका ‘गेष्ट पोजर’को विश्व विख्यात बडिबिल्डर रोली विङ्कलर पनि नेपालमै छन् । 

प्रतियोगिताका लागि अमेरिका, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्ड्सका गरी चार जना निर्णायकमण्डल नेपाल आएका थिए । 

च्याम्पियनशिपमा ५० देखि ६० खेलाडीले सहभागिता जनाउन नाम दर्ता गराए पनि सहभागीको सङ्ख्या कम भएको आयोजक संस्थाका अध्यक्ष एवं पूर्व धर्मश्री विजेता सानु गुरुङले जानकारी दिए । 

नेपाल यसअघि यो संस्थामा आबद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ । 

विजेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा राष्ट्रिय खेलकूद परिषद्को सदस्य विचव जगतबहादुर विश्वकर्माले ‘प्रो कार्ड’ प्रदान गरेका थिए । 

थ्रीस्टार सेमिफाइनलमा 

थ्री स्टार क्लब भुटानमा जारी ‘जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । 

आज भएको खेलमा थ्री स्टारले भुटानको उग्येन एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको हो । खेलको निर्धातिर समयमा १–१ गोलको बराबरीमा सकिएको थियो । 

खेलमा उग्येन एकेडेमीले यसी दोर्जेको गोलमार्फत ६०औँ मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । तर, त्यसको पाँच मिनेटपछि थ्री स्टारका मिक्छेन तामाङले बराबरी गोल फर्काएका थिए । त्सपछि खेलमा कुनै पक्षबाट गोल हुन सकेन र पेनाल्टी सुटआउनमा पुगेको थियो । 

नेपालबाट थ्री स्टार र आर्मी प्रतियोगितामा सहभागी छन् । थ्री स्टारले सेमिफाइलनमा युनाइटेड ब्रदर्स र रोयल फुटबल क्लब भारतबीचको विजेतासँग आइतबार खेल्नेछ । 

यसअघि आर्मीले शुक्रबार भुटानको थिम्पु सिटीलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । प्रतियोगितामा नेपालका दुई क्लब, भारतका चार क्लबसहित १२ क्लब सहभागी छन् । 

नेपाली राष्ट्रिय महिला टोली थाइल्याण्ड प्रस्थान 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइिसिसी) महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । 

यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको शुक्रबार घोषणा गरिएको थियो । 

नेपाली टोलीमा रुबिनासहित सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी र विन्दु रावल छन् । 

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय थाइल्याण्ड प्रस्थान गरेका छन् । 

सात टोली सहभागी उक्त छनोट प्रतियोगितको आफ्नो पहिलो खेल नेपालले यही फागुन ७ गते मलेशियासँग खेल्नेछ । दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएइ), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । 

राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । 

नेपाली टोलीलाई आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र पुरुष क्रिकेट टोलीका प्रशिक्षक जगट टमाटालगायतले जितको शुभकामनासहित बिदाइ गरे । 

सो अवसरमा सदस्य सचिव कुमार विष्टले महिला क्रिकेट खेलाडीको तलब भत्ताका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीसँग प्रस्ताव गर्ने बताए। ‘महिला क्रिकेटरको तलब सुविधाका लागि आइसिसीसँग यसै साता कुरा गर्नेछु’, उनले भने । 

महिला फुटबलले प्राप्त गरेको नतिजाको उदाहरण दिँदै उनले छनोट खेलमा उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गरे । 

कार्यक्रममा महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद दास र कप्तान रुविना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको लक्ष्य छनोट हुने रहेको बताए । 

फुटसल सङ्घमा पुन : अधिकारी 

नेपाल फुटसल सङ्घको आज यहाँ सम्पन्न सम्पन्न पहिलो साधारणसभाले देवकुमार अधिकारी (बद्री) लाई निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । 

साधारणसभाले चार उपाध्यक्षमा सन्तोष पराजुली, सन्तोष खतिवडा, नारायणकृष्ण महर्जन र मदन कोइराला रहेका छन् । 

बटुककृष्ण थापा महासचिव, असिम आचार्य सचिव, अजितकुमार लामा सहसचिव र ओमनाथ न्यौपाने कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

त्यसैगरी सदस्यमा सीताकुमारी खत्री, गणेश गुरागाईं, नगेन्द्र सिंह, अङ्कित सुवेदी, गोविन्दप्रसाद पौड्याल, सञ्जय लिगल, निशान्त केडिया र शलिना भट्टराई चयन भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । 

साधारणसभाको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकूद विकास विभागका प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत चन्द्रकुमार राईले प्रमाणपत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए । 

साधारणसभामा केन्द्रीय कार्यसमिति, १२ जिल्ला र फुटसल व्यवसायी महासङ्घका प्रतिनिधि गरी ४० प्रतिनिधि उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप