शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन ४ गते : प्रदेश ५ हेडलाइन, कहाँ के भयो ?

शनिबार, ०४ फागुन २०७५, १९ : ११
शनिबार, ०४ फागुन २०७५

ऐतिहासिक तिलोत्तमा गोल्डकप बुटवलमा सुरु

यस क्षेत्रको पूरानो इतिहास बोकेको प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २१ औँ संस्करण आज (शनिबार)देखि सुरु भएको छ । बुटवलको देविनगरस्थित रंगशालामा सुरु भएको २१ औँ संस्करणमा भारत र क्यामरुनका क्लबसहित १० वटा टीम सहभागी हुँदैछन् । 

प्रतियोगितामा एपीएफ क्लब, झापा ११, दाफिन्स एफसी क्यामरुन, सुनसरी ११, लाली रुपन्देही ११, च्यासल युथ क्लब, सिएमजी संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब र भारतको दार्जिलिङ युनाइटेड क्लब सहभागी हुनेछन् ।

कार्यक्रम उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरपालिकाले ३ बर्षभित्रमा स्तरीय रंगशाला निर्माण गर्ने र देशमै उत्कृष्ट खेलकुद खेलाउन सक्ने उल्लेख गरे । 

मेयर सुवेदीले नगरको विकासको लागि खेलको विकास अनिवार्य रहेकोमा जोड दिँदै युवाहरुलाई पलायनताबाट राक्न र देशमा सभ्भावना देखाउन खेलकुदले ठूलो सहयोग गरेको बताए ।

बुटवल उपमहानगर संरक्षक रहेको पश्चिम क्षेत्रकै पूरानो र प्रतिष्ठित मानिने तिलोत्तमा गोल्डकप २०३१ सालमा स्थापना भएर ०३३ सालदेखि आयोजना सुरु भएको तिलोत्तमा गोल्डकप अहिलेपनि बुटवलबासीका लागि उत्सव नै हो । 

प्रतियोगितामा प्रथम हुनेले ८ लाख ८० हजार, द्वितिया हुनेले ५ लाख ५० हजार पुरस्कार र शिल्ड पाउने जिल्ला फुटवल संघले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीले एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले २५–२५ हजार रुपैयाँ र शिल्ड पाउने छन् ।

उद्घाटन खेलमा झापा–११ विजयी
यस्तै आजै भएको उद्घाटन खेलमा झापा– ११ विजयी भएको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले हराउँदै पहिलो खेल आफ्नो पक्षमा पारेको हो । 

झापाको तर्फबाट टिम क्याप्टेन कर्ण लिम्बुले पहिलो हापको ११औं मिनेटमा १ गोल गरे भने दोस्रो हाफको ५ मिनेटमा बुद्धबल तामाङ्गले दोस्रो गोल गरेका थिए । 

यसँसँगै भोलीको खेल लाली रुपन्देही ११ र सुनसरी ११को रहनेछ ।

अवैध सुर्तीसहित २ जना पक्राउ

लुम्बिनी  सडकखण्ड अन्तर्गत मायादेवी गाउपालिका–१ बर्रोहियामा भारतबाट अवैध रुपमा भित्र्याइएको ८ सय २० केजी सुर्तीसहित २ जनालाई पक्राउ गरिएको  छ । 

प्रदेश नम्बर ५ दाङबाट खटिएको बिशेष टोलीले लु१च ५२२६ नम्बरको बलेरो जीपमा राखिएको अवस्थामा सो सुर्तीसहित २ जनालाई नियन्त्रण्मा लिएको जनाएको छ । 

प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टिकाबहादुर कार्र्की अनुसार बरामद सुर्ती पकडी बजारदेखि सो बलेरो गाडीमा लोड गरी तौलिहवा तर्फ जाँदै थियो । बरादम सुर्तीको अन्दाजी मुल्य २ लाख नौ सय रुपैयाँ रहेको छ । 

सो गाडीका चालक रुपन्देही गैडहवा गाउपालिका– २ का सफिकुल रहमान, कपिलवस्तुका मायादेबी गाउपालिका– ६ का बिनोद हरिजनलाई समेत नियन्त्रणमा लिइएको छ । सुर्तीसहित गाडी र पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय पकडीमा बुझाइएको प्रहरी निरीक्षक बोधराज रेग्मीले बताए । 

नयाँ शक्ती पार्टी रुपन्देहीमा नेपाल युवा किसान पार्टीको समायोजन

नयाँ शक्ती पार्टी रुपन्देहीमा नेपाल युवा किसान पार्टीका अध्यक्षसहित २१ जनसमायोजन भएका छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नेपाल युवा किसान पार्टीका अध्यक्ष सफि उल्लाह मुसलमानसहित २१ जना नयाँ शक्ति पार्टीमा समायोजन भएका हुन् । 

उनीहरुको जिल्ला कार्यसमिति नयाँ शक्तिको जिल्ला कार्यसमितिमा प्रवेश गरेको छ । सो कार्यक्रममा उपाध्यक्ष चन्द्र हरिजन लेनी, सचिव रामनारायण प्रसाद लोधसहित प्रवेश गर्दै नयाँ शक्ति पार्टीले लिएको निति आफूलाई उपयुक्त लागेकाले समायोजन गरेको अध्यक्ष सफिले बताए । 

सोही कार्यक्रममा बहुजन शक्ति पार्टीका जिल्ला सदस्य इन्द्रजित हरीजन पनि नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमा नयाँ शक्ति पार्टीका जिल्ला संयोजक किस्मत विकको अध्यक्षता भएको थियो । नयाँ शक्तिका प्रदेश संयोजक कमल खनालले पार्टीका नवप्रवेशीहरुलाई क्षमताको हिसाबले जिम्मेवारी प्रदान गरिने बताए ।

खेलकुद क्षेत्रमा सोचेजती विकास हुन सकेन – सदस्यसचिव विष्ट

देश गरिब र नेताहरुलाई खेलको विषयमा बुझाई नहुँदा नेपाली खेल जागरण र विकास हुन नसकेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले दुखेसो गरेका छन् ।

युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले बुटवलमा शुक्रबार साँझ गरेको अनटिएफ अवार्ड वितरण कार्यक्रममा बोल्दै खेलकुद क्षेत्रमा समस्या हुँदाहुँदै पनि धेरै उपलब्धिहरु हाासिल गर्न सफल भएको बताए । 

नेपाल सरकारले ६ अर्ब रुपैयाँ बजेट खेल क्षेत्रमा छुटाउने काम भएको भन्दै यो न्यून रकम रहेको बताए । अहिलेको पूर्वाधार पुरा गर्न १५ अर्ब बढी आवश्यक रहेको उनले बताए ।

अवार्ड अन्र्तगत तेक्वान्दो खेल प्रदर्शन विद्यापुरुषतर्फ कमल श्रेष्ठ, महिलातर्फ सिना मादेन लिम्बु, यसैगरी फाईट पुरुष विधातर्फ वीर बहादुर महरा तथा महिला अस्मिता खड्का तथा उत्कृष्ट प्रशिक्षकको अवार्ड नेपाल तेक्वान्दो संघका केन्द्रिय सचिव नविन कुमार श्रेष्ठलाई कपसहित नगद जनही २० हजारका दरले पुरस्कृत गरिएको छ ।

तरुण दल भैरहवाद्वारा न्यानो माया प्रदान

भैरहवा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सिद्धार्थनगर समितिले नगरका विपन्न वर्गलाई सिरक र डसना वितरण गरेको छ ।

तरुण दलद्धारा न्यानोमाया प्रदान कार्यक्रम नाम दिएर नगरका सबै वडामा रहेका ६६ परिवारलाई सिरक र डसना पितरण गरिएको कार्यक्रम संयोजक कोशिश खड्काले जानकारी दिए ।

न्यानो माया प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेस सँधै विपी कोइरालाले देखाएको समाजवादको बाटोमा हिँड्ने बताए । उनले विपीले सधै विपन्न वर्गको सहयोगको लागि आव्हान गरेकै बाटोमा कांग्रेस हिँडेको बताए ।

फरक प्रसंगमा बोल्दै रज्जाकले अहिले दुई तिहाईको सरकार अराजकतातर्फ उन्मुख भएको हुँदा तरुणहरुलाई त्यसको प्रतिकारमा उत्रन आव्हान गरे । सरकारले जनतालाई कर, महंगी, बढाउनुको साथै जनतालाई सुरक्षाको प्रत्याभुति समेत गराउन नसकेको आरोप लगाए । 

रुपन्देहीको देवदह मेलामा स्टल बुकिङ्ग तथा स्थल निर्माणको कार्य तिब्र

रुपन्देहीको देवदहमा लाग्न थालेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवका लागि स्टल बुकिङ्ग तथा स्थल निर्माण कार्यलाई तिब्र पारिएको छ । फागुनको १६ गतेदेखि २७ गतेसम्म लाग्ने मेला सफल बनाउनका लागि मेला प्रदर्शनी स्थल निर्माणको काम अहिले भईरहेको छ भने स्टल बुकिङ्गलाई आयोजकले तिब्र पारेका हुन् । 

देवदह उद्योग बाणिज्य संघको अयोजनामा हुन थालेको मेलाका लागि अहिले प्रदर्शनी स्थल सम्याउने, सरसफाई गर्ने तथा स्टल राख्नका लागि पुर्वाधार निर्माणको काम भईरहेको बाणिज्य संघका अध्यक्ष गोपाल ढकालले जानकारी दिए । 

उनले मेलालाई सब्य र भब्य बनाउनका लागि पुर्वाधार निर्माणलाई व्यवस्थित बनाउन संघले गृहकार्य गरिरहेको बताए । मेलामा अत्याधिक दर्शकको उपस्थितीका लागि मेलाका आकर्षकहरु पहिलेभन्दा बेग्लै राख्ने र दर्शकलाई उत्साह थप्ने मेला बनाउनेतर्फ आयोजकले विभिन्न चरणमा छलफल र गोष्ठिहरु गर्दै आएको ढकालले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप