मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले काम थाल्दा केहीलाई छट्पटी चलेको छ : मन्त्री अर्याल

शनिबार, ०४ फागुन २०७५, १८ : १८
शनिबार, ०४ फागुन २०७५

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले काम शुरु गर्दा केही विपक्षीलाई छट्पटी चलेको बताएकी छन् । 

स्याङ्जा जिल्लामा शनिबार आयोजना गरिएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले विकास र समृद्धिका काम गर्दा केही पक्ष अत्तालिएको बताइन् । 

वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले अहिले केही नेताहरूले सरकारलाई कोस्नेगरी दिइएको अभिव्यक्ति त्यसैको उपज भएको बताइन् । 

मन्त्री अर्यालले संघ, प्रदेश र स्थानीय सरकारबीचमा विभिन्न कुरा गरेर फाटो ल्याउने कोशिश समेत भइरहेको बताइन् । 

‘प्रदेशलाई केन्द्रले अधिकार दिएन भनेर फाटो ल्याउन खोज्ने, स्थानीयले काम गर्न सकेनन् भनेर ह्यारेस गर्ने काम भइरहेको छ’, मन्त्री अर्यालले भनिन्, ‘सरकारले अहिले काम शुरु गरेको छ। सरकारले काम शुरु गर्दा केहीलाई छट्पटी भइरहेको छ। अहिलेका केही नेताका अभिव्यक्ति त्यहीँ हो ।’

संघीयता असफल बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय सरकारबीचमा फाटो ल्याउने कोशिश भइरहेको मन्त्री अर्यालको भनाइ थियो । 

मन्त्री अर्यालले कम्युनिष्ट नेतृत्वको सरकार आएपछि त्यसलाई केही शक्तिले पचाउन नसकेको बताए । ‘कम्युनिस्ट सरकार आयो अब त केके हुन्छ भनेर केहीलाई छट्पटी छ । त्यसैले सरकारविरुद्ध जे मन पर्यो तथ्यांक यहीँ बोलेर हिडिरहेका छन्,’ मन्त्री अर्यालले भनिन् । 

मन्त्री अर्यालले कांग्रेसप्रति लक्षित गर्दै अब धेरै हारका पीडा नपोखेर रचनात्मक सहयोग गर्न समेत आग्रह गसन् । 

उनले भनिन्, ‘अब धेरै हारका पीडा पोख्ने होइन प्रतिपक्षीले पनि सरकारले थालेको विकास र समृद्धिको कार्यमा रचनात्मक सहयोग गरेर जानुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको कुरा गर्दा ठूला कुरा गर्ने भनेर खिसिट्युरी गरिएको भन्दै मन्त्री अर्यालले सरकारले ठूलादेखी साना सबै काम गर्दै जाने बताइन् । 

सरकारले रोजगारमुखी कार्यक्रम सञ्चालन गरेको भन्दै मन्त्री अर्यालले अब अन्तर्राष्ट्रिय बजारसँग ब्यापार गर्न पानीजहाज पनि सञ्चालन गरेरै छाड्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप