पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतले बालुवाटारमा खैलाबैला
काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ ।
प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले तरङ्ग ल्याएको छ ।
गीतमा प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ । काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेकाे जस्ता शब्द गीतमा प्रयाेग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे छलफल चलेकाे स्रोतले बतायो । यो गीतका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल भएको स्रोतले बतायो ।
गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको जिम्मेवारी सम्हालेको १ बर्ष पुगेकै आसपासमा गायक शर्माले ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतको सुरुमै गायक शर्माले भनेका छन् –‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही.... त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’
पछिल्लो समय सुशासन कायम गर्ने मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै घुस आतंक मच्चिनु, मातपोत, भन्सार लगायतका जनताले दैनिक सेवा लिने सरकारी निकायहरुमा हुने घुस र भ्रष्टाचार आंतक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खान्छ ।
शुक्रबार मात्रै अख्तियारका आयुक्त राजनारायण पाठकले घुस लिएको प्रमाण सार्वजनिक भएपछि पदबाट राजीनामा दिन बाध्य भएका थिए । कतिपयले नेताहरुकै सुझावमा कारबाहीबाट बच्न पाठकले राजीनामा दिएको भन्दै आलोचना समेत गरिरहेका छन् ।
शर्माको गीतमा यसअघि भ्रष्टाचारको आशंका गरिएको वाइडवडी काण्ड, ३३ किलो सुन काण्ड लगायतका विषयलाई समेत व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।
गीतमा राजधानी सहित देशभर विकासका आयोजना अलपत्र परेको, जता–ततै लुटतन्त्रले राज गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने हेलिकप्टरको प्रसंग पनि जोडिएको छ ।
‘जनताको मुटुभित्र काँडा कति–कति, डेढ अर्बको हेलिकप्टर चड्छिन् राष्ट्रपति । लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ गीतमा भनिएको छ ।
गत विहीबारबाट बजारमा आएको उक्त गीतले वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार काण्डदेखि विकास निर्माणमा हुने बदमासीलाई चित्रण गरेको छ ।
गीतको अभिनयमा गायक शर्मा, प्रज्ज्वल भण्डारी र मञ्जु विक देखिका छन् । युट्युवमा अपलोड गरिएको २ दिनकै बीचमा भिडियो १३ औँ ट्रेन्डिङमा रहेको छ । यो समाचार तयार पार्दासम्म भिडियाेले करीब तीन लाख भ्यूज पाइसकेको छ ।
भिडियाे हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण