कविता : ठुटो
पूर्ण ओली
कविता पिउने लतले उमारेको तलतल छ मेरो
समयको निकोटिनयुक्त धुवाँ स्वाट्ट पिएर
आफ्नै सपनाहरुको खरानी झार्दै
नठोसी फालेको थिएँ पुत्ताइरहेको शब्दको ठूटोश
आफ्नै बारीको पुछारको फोहर फाल्ने थुप्रोमा ।
सल्किएछ आफ्नै भविष्य सुकाइरहेका पत्करमा
समयको हावाले फुकिदिँदा
दनक्कै दन्कियो भावको आगो
टिप्यो अँगालोमा समिपको हरिया सम्भावनाका मुनाहरु
मेरो चारदिवारभित्रका
मनहरु जले
अद्यापि कमाएका आत्मसम्मानहरु जले
होशियारसाथ जोगाएका आशाहरु जले, विश्वासहरु जले
मेरो अवनतिमा तिमी आफ्नै छातिको ढ्याङ्ग्रो ठटाउँदै
एक फड्को हाँसोसहित तुष्टिको छाद ओकल्यौ ।
यतिसम्म ठीकै थियो
तिमीले पनि रातारात सुटुक्क फालेका रहेछौ
मेरै बारीको त्यही फोहोरमा
पदको फित्ता छिनेको चप्पल
प्रतिष्ठाको नाइरो चुँडिएको कट्टू
र अहंकारको भुत्ते चुप्पीले काटेको तिम्रो शिरका जीर्ण रौँहरु
ती सबै भेट्टाएछ दन्किएको आगोले, किन छोड्थ्यो ?
तिम्रो ध्वाँसको गन्धले मेरो बारीमा पुत्ताएको ध्वाँसोसहितको धुवाँ
जब पस्यो तिम्रै झ्यालको कापकापबाट तिमीभित्र
तिमी निसास्सियौ र त्यो आगोमा आफ्ना नजर फाल्यौ
धुवाँ हम्कन हातखुट्टा फाल्यौ, टोपीसँगै शिर फाल्यौ
अनि सल्कियो तिम्रो मन र चेतमै आगो लाग्यो
तिम्रो छिनेका चप्पल जल्दा आफ्नै पाइताला जलेको ठान्यौ
च्यातिएको कट्टु जल्दा गुप्ताङ्गै जलेझैँ जल्कियौ
झरिसकेको रौँ जल्दा शिरनै पुत्ताएझैँ बुर्लुक्बुर्लुक् उफ्रियौ
'ऐया ! आत्थु !!' गर्दै चिच्यायौ,
मलाई तथानाम गाली गर्यौ
र पञ्चायतसम्म छाँद हाल्यौ ।
म के जवाफ दिऊँ तिम्रो पञ्चायतलाई ?
मेरो फोहोरमा तिम्रो फोहोर नमिसाउनु थियो ।
फोहोरमा फोहोर मिसाउन हुन्छ भन्दै तिमीले उक्साएका
गञ्जागोल चीसा शब्दजालको सहायताले
फैसला हान्नेछ उसले मेरो पिउने अधिकारमा धावा बोल्दै ।
तिम्रो नुन खाएको पञ्चायती इन्साफ मैले माने पो ?
कि त नमिसाऊ तिम्रो फोहोर मेरो फोहोरमा
कि सम्हाल तिम्रै कुहिएको मन वा गएगुज्रेको नजर
यो कविताको धुवाँ पिउने तलतल त
म मरे छोड्न सक्दिन !
मैले मेरै फोहोरमा ठूटो फालेको आहारिस गर्छौ भने
त्यता फाल्न छोडेर
फालिदिनेछु तिम्रै भविष्यबारीको गुप्त भण्डारकक्षभित्र
निभाई ननिभ्ने राँकिएका शब्दहरु ।