गुण्डुमा आइपुग्यो सिंहदरबार
भक्तपुर । गतवर्ष सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल नेकपाको चुनावी घोषणापत्रको एक मुख्य नारा थियो ‘गाउँ गाउँमा सिंहदरबार ।’
भक्तपुर सुर्यविनायक नगरपालिका – ७ कार्यालय वरपरको आजको दृश्य हेर्दा त्यती बेलाको घोषणापत्रको सोही नारा अनुरुप जनताको मन जित्न भक्तपुरका जनप्रतिनिधीहरु सक्रियतापूर्वक लागिरहेका थिए ।
जिल्ला सदरमुकामका सम्पूर्ण सरकारी निकायका सेवाप्रदायक कार्यलयहरु कर्मचारी, फाईल, काजजातसहित देखिन्थे भने अस्पातल र अन्य स्वास्थ्य संस्थाहरु उपकरण र स्वास्थ्यकर्मीसहित देखिन्थे । सयौं नागरिकहरु आफ्नै गाउँटोलमा आइपुगेको यो शिविरबाट लाभ लिन तल्लिन देखिन्थे ।
सेना, प्रहरीलगायत अन्य सरकारी निकायहरु विभिन्न स्टलमार्फत जनचेतनामुलक कार्यक्रम सञ्चालनमा व्यस्त देखिन्थे । रक्तदान, स्वास्थ्य शिविरलगायतका स्टलहरुमा गाउँलेहरुको उल्लेखिय भीड देखिन्थ्यो ।
आफूलाई आवश्यक सम्पूर्ण सेवाहरु लिइसकेपछि घर फर्किने बेला गाउँलेहरुको ‘रिफ्रेसमेण्ट’का लागि चियापान, सांस्कृतिक तथा मनोरन्जनात्मक गतिविधीहरु सँगैको मैदानमा आयोजना गरिएको थियो । सिंगो गाउँ, टोलभरी स्थानीयहरुको बाक्लो चहलपहल देखिन्थ्यो ।
यो दृश्य आज भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ स्थित सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको हो ।
पूर्व उद्योगमन्त्री तथा भक्तपुर प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलकदमी र नेपाली सेनाको वीरदल गणको व्यवस्थापनमा आजदेखि शुरु भएको ‘एकीकृत घुम्ती सेवा’मा हजारौं जनताको स्वतस्फुर्त सहभागिता रहेको आयोजकको दाबी छ ।
सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुति दिलाउनु यस अभियानको मुख्य उद्देश्य रहेको सांसद बस्नेतले बताए । राज्यका तिनै तहका प्रतिनिधिहरुको सहभागिता रहने उक्त अभियानको प्रसाशनिक सेवाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले नै गर्ने र हरेक महिनाको पहिलो शुक्रबार फरक फरक वडामा यस कार्यक्रम सञ्चालन हुने जानकारी बस्नेतले दिए ।
जनता र जनप्रतिनिधीहरुकै बीचमा पारदर्शी हिसाबले सेवा प्रदान गर्ने उपयुक्त वातावरण निर्माणको कारण जनताले भोग्नु परिरहेको प्रसाशनिक झमेला, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न यो अभियान प्रभावकारी रहने दाबी समेत सांसद बस्नेतले गरे ।
‘घरको सानो सिफारिस र अंश बण्डाको लफडा थियो । काम अल्झिराको थियो । आज गाउँटोलमै सिडियोसाप, हाकिमसापहरु आफैँ आएर हाँसीहाँसी काम गर्दिनुभो । खुसी लाग्यो’ शिविरमा सहभागी ६० वर्षीया एक महिलाले भनिन् ।
गाउँकै एक व्यक्तिलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परिक्षण गराउँदै शिविरको उद्घाटन सांसद बस्नेतले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल