बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा बच्चाको नजिक जान प्रतिबन्ध,

नेपालमा भने बेफिक्री बाल यौन दूराचार !

शुक्रबार, ०३ फागुन २०७५, १२ : ५०
शुक्रबार, ०३ फागुन २०७५

माघ ५ गते बिहान (राती) ३ बजे एकजना बेलायती नागरिकसहित ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले रविभवनबाट नियन्त्रणमा लियो । बेलायतका ५० वर्षीय इयान रोबर्ट कोलसहित भारतीय नागरिक अजय पोद्धार, नेपाली नागरिक कुमार रोक्का र ३ जना बालकहरुलाई नियन्त्रणमा लियो । आरोप थियो, बेलायती नागरिक इयान रोबर्ट कोलले नेपाली बालकमाथि यौन दूराचार गरिरहेका छन् ।

तिनै रोबर्ट कोललाई बिहिबार मात्रै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । नेपाली प्रहरीको सिआइबी टोलीले २४ दिन लामो अनुसन्धान गरिसकेपछि सोमबारबाट कोलसहित अजय पोद्धार र कुमार रोक्काबिरुद्ध बाल यौन दूराचार तथा मतियारको रुपमा काम गरेको भन्दै थुनछेक बहस सुरु भएको थियो ।

त्यसपछि बिहिबार जिल्ला अदालत काठमाडौँले बेलायती नागरिक इयान रोबर्ट कोल र मतियारको आरोपमा नेपाली नागरिक कुमार रोक्कालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने भारतीय नागरिक अजय पोद्धारलाई धरौटीमा छाड्ने आदेश दिएको छ । 

यसरी पक्राउ गरेको थियो सिआइबीले कोललाई

केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् सिआइबीको पिल्लर ३ ले बाल यौन दूराचारसम्बन्धि घटना र मुद्दा हेर्छ । सिआइबीले आफ्ना अफिसरहरुलाई पर्यटक बढी आउने स्थानमाहरुमा अनुसन्धान र सुराकीको लागि खटाएको थियो । 

यसै क्रममा एकजना गोरो छाला भएको व्यक्ति केही बालकसित घुलमिल भइरहेको देख्छ । ती नागरिकले बालकलाई खाद्यान्न तथा सामान किनिरहेको सिआइबीले देख्छ । विदेशी नागरिकले संकास्पद गतिविधि देखाएपछि सिआइबीका अफिसरहरुले ती नागरिकको पिछा गर्न थाल्छन् । 


पिछा गर्दै जाँदा ती विदेशी नागरिक रविभवनस्थित एक अपार्टमेण्टमा पुग्छन् । बालकसँगै ती व्यक्ति अपार्टमेण्ट पुगेपछि सिआइबी टोलीलाई कतै यो बाल यौन दूराचारी त होइन भन्ने आभाष हुन्छ । तर प्रहरीसँग कुनै तथ्य र प्रमाण नभएपछि सिआइबी टोली ‘रेकी’ मात्रै गरेर फर्कन्छ । 

त्यसपछि सिआइबीको पिल्लर ३ को एक टोलीको काम सँधैजसो उक्त विदेशी नागरिकको पिछा गर्नु हुन्छ । विदेशी नागरिकले कतै बुझाएको पासपोर्टको फोटोकपी पाएपछि सिआइबी टोलीलाई उक्त व्यक्तिको नाम इयान रोबर्ट कोल, उमेर ५० वर्ष र देश बेलायत रहेको थाहा हुन्छ ।

पहिले बालकसँगै एकजना मात्रै विदेशी नागरिक देखेको सिआइबी टोलीले पछि अर्का वृद्ध विदेशी नागरिक पनि इयानसँगै देख्छ । त्यसपछि सिआइबी टोलीले यी दुवै व्यक्तिको पिछा सुरु गर्छ । 
गत पुसको दोस्रो साताबाट रेकी गरेको सिआइबी टोलीलाई चक्मा दिँदै यी विदेशी नागरिकहरु एकाएक गायब हुन्छन् । पुसको २२ गते यी विदेशी नागरिकहरु एकाएक भाडामा लिइएको फ्ल्याटबाट गायब हुन्छन् । यद्यपि सिआइबी टोलीले उनीहरुको खोजी गरिरहेको हुन्छ । 
त्यसको करिब एक सातापछि मात्रै यी विदेशी नागरिकहरु फेरि यही क्षेत्रमा देखापर्छन् । त्यस समयमा कहिले भारतीय युवक त कहिले नेपाली युवकहरु देखिइरहन्छन् । 

जब सिआइबीले रोबर्ट कोलको हिस्ट्री हेर्यो ...
यता पासपोर्टको कपीका आधारमा सिआइबी टोलीले इयान रोबर्ट कोलबारे जानकारी बटुल्न थाल्छ । तर सिआइबी टोली त्यतिबेला छक्क पर्छ, जब इयान रोबर्ट कोलको बारेमा सिआइबीकै डाटा सेन्टरमा प्रशस्त जानकारी रहेछ । 

कोल त बाल यौन दूराचारी पो रहेछ । सिआइबीले पहिले नै खोजी गरिएको व्यक्ति थिए इयान रोबर्ट कोल । यसअघि नै नेपालमा बाल यौन दूराचार गरी बेलायत फर्कँदै गर्दा बेलायतको एअरपोर्टबाटै पक्राउ परेका व्यक्ति थिए उनी । तर सिआइबीलाई अर्को व्यक्तिबारे जानकारी थिएन । प्रहरी अर्को व्यक्तिको बारेमा पनि जानकारी बटुलिरहेको थियो । 

यही बीचमा अर्को व्यक्ति भने बेलायत फर्किए । तर इयान रोबर्ट कोल भने अझै पनि भाडामा लिइएको फ्ल्याटमै थिए । 

मिति : २०७५ माघ ४ गते
समय : दिनको २ बजे
स्थान : विभिन्न 

माघ ४ गते इयान रोबर्ट र केही नेपाली बालकहरुको भेट हुन्छ । उनीहरु साइकल किन्नको लागि बजारमा पुग्छन् । साइकल, केही कपडा र खानेकुरा किनेर उनीहरु फ्ल्याटमा फर्कन्छन् । 

मिति : २०७५ माघ ४ गते
समय : दिनको ५ बजे
स्थान : रविभवन, कालीमाटी

बजारबाट साइकल र कपडा किनी फ्ल्याटमा फर्किएका उनीहरु फेरि बाहिर निस्कन्छन् । यतिबेला उनीहरुको सङ्ख्या ४ जना रहेको हुन्छ । तीनजना नेपाली बालक, एकजना भारतीय युवक र इयान रोबर्ट कोल । 

केही समय उनीहरु बाहिरिन्छन् र पुनः फ्ल्याटमा आउँछन् । 

मिति : २०७५ माघ ४ गते
समय : दिनको ५ बजे
स्थान : रविभवन, कालीमाटी

माघ ४ गते साँझ उनीहरु सबै रोबर्टले भाडामा लिएको फ्ल्याटमा पुगे । कोल बाल यौन दूराचारी भएको थाहा पाइसकेको सिआइबी टोलीले अब भने पक्राउ गर्ने र बालकको उद्धार गर्ने योजना बनायो ।
फिल्डमा रहेका सिआइबीका अफिसरहरुले पिल्लर ३ का इञ्चार्ज डिएसपी कवित कटुवाललाई सम्पर्क गर्छन् । त्यसपछि कटुवालको टोलीले त्यही दिन ‘रेड’ गर्ने योजना बनाउँछ र राती १० बजे रविभवनस्थित फ्ल्याटमा पुग्छ ।

१०–११ बजे नै पक्राउ गर्ने योजना बनाएको सिआइबी टोलीलाई अब भने समस्या पर्छ । फ्ल्याटमा रहेका गार्डले सिआइबी टोलीलाई भित्र प्रवेश गर्न अनुमति दिँदैन र बिहान मात्रै आउन भन्छ । सिआइबी टोलीले गार्डलाई कन्भिन्स गर्नै सकेन । ‘राती कसैलाई प्रवेश नदिनु’ भन्ने निर्देशन रहेको भन्दै गार्डले ढोका खोल्न मान्दैनन् । जबरजस्ती गर्दा हल्ला हुने र अभियुक्त सजग हुने डरले सिआइबी टोलीले हल्ला गर्न चाहेन । पछि बल्ल बल्ल गार्डलाई कन्भिन्स गरेर भित्र छिर्दा बिहानको साढे २ बजिसकेको थियो । 

सिआइबीको टोली भाडामा लिइएको फ्ल्याटमा पुगेपनि कोलले ढोका खोल्नै मानेनन् । सिआइबी टोली देख्दा सजग हुने डरले सिआइबीले गार्डलाई नै प्रयोग गरेर ढोका खोल्न लगाएको थियो । बल्ल–बल्ल आधा घण्टापछि बिहान ३ बजे सिआइबी टोली भित्र पस्न पायो र रोबर्ट कोलसहित एक भारतीय नागरिक, एक वयस्क नेपाली नागरिक र ३ जना बालकलाई नियन्त्रणमा लियो । 

यो पनि ....

एक ‘हाइप्रोफाइल’ बाल यौनदुराचारी : जसले प्रहरीलाई नै चकित बनाए

बाल यौन दुराचारीको क्रिडास्थल बन्दै नेपाल, २७ महिनामा समातिए ११ विदेशी नागरिक

बयानमा बालकले भने – ‘सङ्गै नाङ्गै सुताउँथ्यो’
त्यसपछि त्यहीँ सुरु भयो उनीहरुको बयान । बयानमा पीडित बालकहरुले आफूलाई इयानले कसरी बाल यौन दूराचार गरेको छ भनेर सबिस्तार बताए । बयानका क्रममा बालकहरुले इयान तथा यसभन्दा अगाडि आएका अर्का बेलायती नागरिक डेरेक स्कटले कसरी आफूहरुमाथि यौन दूराचार गरे भनेर बताए । उनीहरुले भने ‘हामीलाई नाङ्गै अनि सँगै सुताउँथ्यो अनि .... ।

बालक लिएर पोखरासम्म पुगेका थिए अभियुक्त
पुस २२ गते बिहानै उनीहरु हराएपछि सिआईबी टोलीले उनीहरुको खोजी त गर्यो तर भेट्न सकिरहेको थिएन । अभियुक्तहरु भने धादिङको एक गाउँमा बालक लिन पुगेका थिए । 

मिति : २०७४ पुष २२ गते
स्थान, गल्छी गाउँपालिका, धादिङ

काठमाडौँबाट एउटा कार लिएर बेलायती नागरिकहरु इयान रोबर्ट कोल र डेरेक स्कट तथा अर्का एकजना नेपाली धादिङको गल्छी गाउँपालिकामा पर्ने एक गाउँमा पुग्छन् । गाउँमा पहिले नै चिनेका तथा एकजना नयाँ गरी ३ जना बालकहरुसँग उनीहरुको सामिप्यता बढ्छ । दुई दिन उनीहरु त्यही गाउँमा बस्छन् र बालकहरुलाई पोखरा, फेवाताल घुमाइदिने तथा नयाँ कपडाहरु किनिदिने प्रलोभन दिन्छन् । त्यसपछि बालकहरु उनीहरुसँगै पोखरा जान्छन् ।

मिति : २०७५ पुष २४ गते 
स्थान : लेकसाइड पोखरा

पुष २४ गते इयान रोबर्ट कोल र डेरेक स्कटसहित ३ जना बालक लिएर पोखरा पुग्छन् । पोखरामा डेरेक र स्कटले दुई दुई जना नेपालीलाई आफूसँगै सुताउँछन् र दूराचार गर्छन् । 

मिति : २०७५ पुष २५ गते 
स्थान : लेकसाइड पोखरा

पुषको २५ गते बिहान ११ बजेतिर उनीहरु पोखराको विभिन्न स्थानमा घुम्छन् र साँझ पुनः होटलमा आउँछन् । २५ गते साँझ पनि उनीहरुमाथि त्यही दुष्कर्म हुन्छ । 

बालकहरु स्कुले विद्यार्थी भएकाले उनीहरु चाँडै गाउँ फर्कनुपर्ने हुन्छ । त्यसपछि उनीहरु पुस २६ गते काठमाडौँ फर्कन्छन् । ३ जना बालकहरु मध्ये दुई जना बालकहरु धादिङको खयरघारी भन्ने स्थानमा झर्छन् । एकजना बालक भने काठमाडौँमै आफन्तसँग बस्ने भएकाले उनीहरुसँगै काठमाडौँ फर्कन्छन् । बालकहरु खयरघारीमा झर्दा माघ ३ गते काठमाडौँ आउने भन्दै फर्किएका हुन्छन् । 

तर माघ ३ गते पीडित बालकहरु काठमाडौँ आउन सक्दैनन् । माघ ४ गते काठमाडौँमा आई एकरात उनीहरुसँगै बस्ने सहमति हुन्छ र फर्कदा एक–एक वटा साइकल दिने भनिएको हुन्छ । सहमति बमोजिम आरोपितले साइकल पनि किनिदिएका हुन्छन् ।

तर माघ ४ गते सुतेका उनीहरुलाई माघ ५ को घाम झुल्कन नपाउँदै सिआइबी टोलीले नियन्त्रणमा लिन्छ । प्रहरीले प्रारम्भिक बयान लिएपछि बालकलाई एक संस्थाको जिम्मामा पठाउँछ भने इयान रोबर्ट कोललाई अभियुक्त तथा भारतीय नागरिक अजय पोद्धार र नेपाली नागरिक कुमार रोक्कालाई मतियारको रुपमा आफ्नै कष्टडीमा राख्दै अनुसन्धान गर्छ ।

डेरेक स्कट पनि बेलायतमा पक्राउ
रोबर्ट कोल नेपालमा पक्राउ परेसँगै पीडित बालक तथा रोबर्ट कोलको बयानका आधारमा बेलायतमै डेरेक स्कटलाई पनि पक्राउ गरिएको छ । सिआइबी श्रोतका अनुसार इयान रोबर्ट कोल र पीडित बालकले बयानका क्रममा डेरेकलाई पोलेपछि बेलायत प्रहरीको सहयोगमा डेरेकलाई पक्राउ गरिएको हो । 

इयान र रोबोर्ट थिए समलिङ्गी जोडी
नेपालमा पक्राउ परेका ५० वर्षीय इयान रोबर्ट कोल र बेलायतमा पक्राउ परेका ७५ वर्षीय डेरेक स्कट समलिङ्गी जोडी भएको बेलायतस्थित सरकारी निकायबाट जानकारी आएको छ । उनीहरु बिगत २५ वर्षदेखि लिभिङ पार्टनर रहेको बयान कोलले दिएका छन् । 

रोबर्ट कोल चाइल्ड सेक्स अफेन्डर थिए
नेपालमा पक्राउ परेका इयान रोबर्ट कोल बेलायतमा ‘रजिष्टर्ड चाइल्ड सेक्स अफेन्डर’का रुपमा दर्ज छन् । उनलाई बेलायत सरकारले ३ पटक पक्राउ गरी जेल सजाय दिइसकेको छ भने कोलले बच्चाहरुसँग दूरी कायम गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । बाल यौन दूराचारी ठहर भएको कारण उनी बच्चाहरुसँग नजिक हुन पाउँथैनथे । नजिक भएमा उनलाई प्रहरीले पक्राउ गरी फेरि जेल पठाउन सक्थ्यो । 

इयान रोबर्ट कोललाई सर्वप्रथम ९ जनवरी २००४ बेलायतको एक अदालतले बाल यौन दूराचारमा दोषी ठहर गरेको थियो । त्यसपछि १८ मे २००७ मा पनि कोललाई सोही अदालतले अर्को मुद्दामा दोषी ठहर गर्दै १० वर्षसम्म बाल यौन दूराचारी भएको जानकारी दिनुपर्ने गरी धरौटीमा रहाई गरिएको थियो । 

पछिल्लोपटक २७ जनवरी २०१७ मा पनि कोललाई बाल यौन दूराचारी रहेको ठहर गर्दै १५ महिना जेल सजाय दिँदै १० वर्षसम्म बालबालिकासँग दुरी कायम गर्नुपर्ने फैसला गरेको थियो । 

कोलले उक्त जेल सजाय काटेर केही समय बेलायतमै बिताएपछि २८ डिसेम्बरमा मात्रै नेपाल आएका थिए । बेलायतमा बाल यौन दूराचार गर्न कठिन भएपछि कोल नेपाल आउन थालेका थिए । 

सन् २०१६ मा पनि नेपालमा बाल यौन दूराचार गरेका थिए कोलले
त्यसो त यसअघि सन् २०१६ मा पनि कोलले नेपाली बालकलाई बाल यौन दूराचार गरी फर्किएका थिए । तर त्यतिबेला प्रहरीलाई कुनै जानकारी आएको थिएन । नेपालबाट बेलायत फर्कने क्रममा बेलायत प्रहरीले एअरपोर्टमै समातेर छानबिन गर्दा कोलको मोबाइल तथा ल्यापटपमा नेपाली बालकको नग्न तस्विर तथा यौनजन्य गतिविधिका फोटो तथा भिडियो प्राप्त भएको थियो । 

बेलायत प्रहरीले नेपाली बालकबारे जानकारी मागेपछि सिआइबीले उक्त बालकको बयान नै बेलायत प्रहरीलाई पठाएको थियो । त्यसपछि कोल नेपाल प्रहरीको पनि ‘वाच लिष्ट’मा थिए ।

सिआइबीको अपरेशनमा समातिए ११ विदशी नागरिक
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले विगत २७ महिनामा नेपालमा बाल यौन दूराचारको अभियोगमा ११ जना विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ । त्यसमध्ये ४ जनालाई कैद सजायको फैसला भइसकेको छ भने ७ जना पुर्पक्षका लागि थुनामा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप