मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

गुलियो खाँदा किन दाँतमा कीरा लाग्छ ?

बिहीबार, ०२ फागुन २०७५, २२ : ४०
बिहीबार, ०२ फागुन २०७५

हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग दाँत पनि हो । दाँतले हामी खानेकुराहरु चपाउने काम गर्छौं । दाँत नै भएन भने हामीले खानेकुराहरु राम्ररी खान सक्दैनौं । राम्ररी खानेकुरा खान नपाएपछि मानिसको हालत कस्तो होला ? सजिलै अनुमान गर्न सक्छौं ।

दाँतले खानेकुरा चपाउने काम मात्रै गर्दैन, यसले मानिसलाई सुन्दर बनाउने काम पनि गर्छ । मुखमा टम्म र लहर मिलेको दाँत छ भने मानिस त्यसै सुन्दर देखिन्छ । दाँत छैन भने मानिस उमेर नै नपुगिकन पनि बुढो मानिस जस्तो देखिन्छ ।

दाँतलाई स्वस्थ राख्नको लागि नियमित रुपमा यसको हेरविचार गर्नुपर्छ । राम्ररी हेरविचार गरेन भने, दाँतमा कीरा लाग्छ, दाँत बिग्रन सक्छ । अझ गुलियो खाने बानी छ भने त झन चाँडै दाँत बिग्रन्छ ।

गुलियो धेरै खानाले दाँत कसरी बिग्रन्छ ?

स्वस्थ दाँत धेरै बलियो हुन्छ । दाँत बलियो हुनुको कारण यसको बाहिरी भागलाई ढाक्ने कडा बस्तु दाँतलाई बाहिरबाट इनामेल (Enamel) हो । इनामेल सेतो रंगको हुन्छ  । यो नै हाम्रो शरीरको सबैभन्दा कडा बस्तु हो । इनामेलले ढाकेको भन्दा भित्रपट्टिको दाँतको भागलाई डेन्टाइन (Dentine) भनिन्छ । यो भाग चाहिँ इनामेल जस्तो कडा हुँदैन । यो भाग नरम हुने भएकोले मौका पाएमा कीटाणुहरु सजिलै यसमा पस्न सक्दछन् । दाँतको यस भागलाई इनामेलले छोपेर राख्ने हुनाले सजिलै यस भागमा कीटाणु पस्न सक्दैन । डेन्टाइनभन्दा तलको दाँतको भागलाई पप क्याभिटी (Pup Cavity) भनिन्छ । गिजाभन्दा बाहिर निस्केको दाँतको भागलाई क्राउन (Crown) भनिन्छ ।

हाम्रा मुखभित्र लाखौंको संख्यामा कीटाणुहरु हुन्छन् । मुखमा हुने यस्ता कीटाणुहरुलाई ब्याक्टेरिया भनिन्छ । यी ब्याक्टेरियाहरुमध्ये धेरैजसो मानिसका लागि फाइदाजनक हुन्छन् । किनभने, यिनीहरुले खानेकुरालाई टुक्र्याएर, गलाएर मानिसले सजिलै पचाउन सक्ने बनाइदिन्छ । तर साथसाथै, कतिपय ब्याक्टेरियाहरु चाहिँ हानी गर्ने खालका पनि हुन्छन् । मुखमा हुने ब्याक्टेरियाहरुमध्ये एसिड उत्पादन गर्ने ब्याक्टेरियाहरु (Acidogenic bacteria) हरु चाहिँ दाँतका लागि शत्रु नै हुन्छन् ।

इनामेल हाम्रो शरीरकै सबैभन्दा कडा बस्तु हो । तर यस्तो कडा बस्तुलाई पनि अमिलो वा एसिडले खियाइदिने गर्छ । हामीले अमिलो खाँदा दाँत कुडिनुको मुख्य कारण पनि अमिलोले इनामेललाई खियाइदिएकैले हो । वास्तवमा, डेन्टाइन दाँतको अति संवेदनशील भाग हो । हामीले कुडिएको महसूस गर्नुको कारण पनि हामीले खाएको वा पिएको खानेकुराले डेन्टाइनलाई छुन पुग्दा नै हो । रमाइलो कुरा के छ भने, दाँतमा इनामेल बन्ने काम चाहिँ निरन्तर चलिरहेको हुन्छ । त्यसैले अमिलोले खियाइदिएको इनामेलको ठाउँमा केही समयपछि नयाँ इनामेल आउँछ । अनि हाम्रो कुडिएको दाँत पनि ठीक भएर जान्छ ।

सबैले भन्ने गर्छ, धेरै गुलियो कुरा खानु हुँदैन । चिनी, चकलेट धेरै खायो भने दाँतमा कीरा लाग्छ भनेर सबैले भन्ने गर्छ । यो कुरा सही पनि हो । किनभने, हामीले गुलियो वस्तु खाँदा त्यसका केही अंशहरु हाम्रो दाँतमा अड्किएर बसेको हुन्छ । धेरैजसोको गुलियो खाएपछि दाँत ब्रस गरिहाल्ने बानी हुँदैन । गुलियो नखाने मानिसको दाँत पनि नियमित सफा गरेन भने दाँतमा कीरा लाग्ने गर्छ किनभने खानेकुराहरुमा पाइने कार्बोहाइड्रेड पनि गुलियो कै एक रुप हो । यसरी गुलियो खाँदा वा नखाँदा पनि दाँत सफा गरेन भने कीरा लाग्नुको कारण चाहिँ त्यसैले त्यस्तो गुलियो वस्तुहरु वा कार्बोहाइड धेरै बेरसम्म दाँतमा अड्केर बसिबस्नु नै हो । त्यसरी दाँतमा अड्किएको गुलियो वा कार्बोहाइड्रेडलाई मुखमा हुने एक किसिमको व्याक्टेरियाले अमिलो (एसिड)मा बदलिदिन्छ ।  । यसरी दाँतमा अमिलो बन्यो र केहीबेरसम्म त्यत्तिकै रह्यो भने त्यसले इनामेललाई खियाइदिन्छ । धेरै गुलियो खानेहरुको दाँतमा कीरा लाग्नु वा दाँत बिग्रनुको खास कारण नै यही हो । किनभने धेरै गुलियो खानेहरुले सधैं दाँत सफा गरिबस्दैन । सधैं दाँत सफा नगरेपछि उनीहरुको दाँतमा ब्याक्टेरियाले अमिलो बनाइदिइबस्छ ।

यसरी दाँतको इनामेल अमिलोले खियाइदिएपछि दाँतको नरम भाग डेन्टाइनमा सजिलै अरु हानिकारक व्याक्टेरियाहरु पस्न पाउँछ । त्यसरी डेन्टाइनमा पसेको व्याक्टेरियाले गर्दा हाम्रो दाँत अति नै दुख्ने गर्छ भने दाँतमा कालो कालो प्वाल नै पर्न पनि सक्छ । दाँतमा परेका त्यस्ता प्वालहरुलाई हामी कीरा लागेको भन्ने गर्छौं । दाँतमा लागेको कीरालाई बेलैमा उपचार गरिएन भने ब्याक्टेरियाको आक्रमणले दाँतको अझ भित्री भागहरुमा, जराहरुमा र दाँतसम्म आएका नसाहरुमा घाउ बनाइदिन सक्छ ।

दाँतको इनामेल नयाँ निर्माण भइरहेको हुन्छ तर पूरै दाँत आफैं पुनर्निर्माण हुन सक्दैन । त्यसैले दाँतमा कीरा लागिहाल्यो भने दाँतको डाक्टरलाई देखाइहाल्नुपर्छ ।

–स्रोतः एम.एस. इन्कार्टा, बालविज्ञान प्रश्नोत्तर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप