शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्रीकाे शब्द मिठाे छ, तर कन्टेन्ट मिठाे भएन’

बिहीबार, ०२ फागुन २०७५, १९ : ३४
बिहीबार, ०२ फागुन २०७५

काठमाडौँँ  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीका नाममा गरिएको सम्बोधन सन्देशमुलक नभएको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीसँगको कुराकानीमा प्रधानमन्त्रीको सम्बोधन मिठो रहेपनि सारमा सन्देशमुलक नरहेको बताए । 

उनले भने, ‘शब्दमा प्रधानमन्त्रीको सुन्दर अभिव्यक्ति छ । सारमा उहाँले देशलाई जुन सन्देश दिनुपथ्र्यो त्यो दिन सक्नुभएन । कुल गार्हस्थ उत्पादनमा प्रभाव पार्ने कुनै काम नभएको देखियो । साथै शान्तिसुरक्षा र अन्य कुराले पनि सरकारको एक वर्षको काम कारबाही कस्तो भयो भनेर संकेत गरेको छ ।’

प्रधानमन्त्री ओलीले देशमा लगानीको राम्रो वातावरण रहेको बताएको भन्दै प्रवक्ता शर्माले पहिलेको भन्दा अहिले राम्रो छ भन्नु गफ मात्र भएको दाबी गरे । 

‘विश्व बैंकले भनेको छ – नेपालमा लगानी पहिलोको भन्दा खस्किएको छ । साथै भ्रष्टाचारमा पनि नेपालको अवस्था विकराल बन्दै गएको छ । अघिल्लो आर्थिक वर्ष र यो वर्षलाई तुलना गर्दा व्यापार घाटा पनि बढेको छ । यी यस्ता विषयले पनि सरकारको एक वर्षको कार्यकालको प्रष्ट संकेत गर्दछ । प्रधानमन्त्रीले गरेको सम्बोधन शब्दमा मात्र मिठो भएर भएन । कन्टेन्टमा पनि मिठो हुनपर्यो ।’ प्रवक्ता शर्माको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सम्बोधनको शुरुवातमै कांग्रेसमाथि तिखो प्रहार गरे । ओलीले भने, ‘जनमतले तिम्रो मिति पुग्यो भनेकाहरु सरकारमै थिए । सरकार छाड्न खोजिरहेका थिएनन । बहाना गरेर यो या त्यो नाममा सरकारमा टाँसिरहन खोजेका थिए ।’ 

प्रधानमन्त्रीले जनतालाई भुल्याउन मिठो शब्दमा कांग्रेसको आलोचनामा समय खर्चेको शर्माको भनाइ छ । प्रवक्ता शर्माले कांग्रेसमाथिको प्रहार कुनै व्यक्तिले अपनाउने संस्कारका रुपमा लिनुपर्ने बताए ।

यस्तै काँग्रेस नेता अर्जुननरसिंह केसीले सरकारको एक वर्षको फेहरिस्त सुन्दा उपलब्धि शब्दमा मात्र सीमित रहेको बताए । उनले भने, ‘बिहानीले दिउँसोको संकेत गर्छ भने जस्तै एक वर्षको कार्य र गतिविधिलाई राम्रोसँग विश्लेषण र समीक्षा गरेर हेर्दा सरकारमा राष्ट्रिय चिन्तन भन्दा गफैगफ र हावादारी सपना देख्न आफ्नो सम्पूर्ण प्रयास केन्द्रीत गरेको देखियो ।’

एक वर्षको अवधिमा सरकरले भूकम्पपीडितको घाउमा मलम लगाउन समेत नसकेको उनको आरोप थियो । देशमा बढ्दो हत्याहिंसा र बलात्कारले जनता आजित भएको अवस्थामा प्रधानमन्त्रीले शान्तिसुरक्षा राम्रो छ भन्नु लज्जाको विषय भएको उनले तर्क गरे । 

‘प्रधानमन्त्रीले सुशासनमा सरकार एक कदम अगाडि रहेको सम्बोधनका क्रममा बताउनुभयो,’ केसीले भने, ‘सरकार सुशासनमा पूर्ण असफल देखिन्छ । जताततै काण्डैकाण्ड मच्चिरहेको छ । तर, प्रधानमन्त्री बनावटी कुरा गर्न खप्पिस हुनुहन्छ । बोलेर मात्र भएन नि ।’

यस्तै कांग्रेस नेता डा. चन्द्र भण्डारीले ओली नेतत्वको सरकारबाट भ्रष्टाचार, हत्याहिंसा, बलात्कार जस्ता वेथितीलाई निर्मुल पार्ने आशा जनतामा रहेपनि त्यो गर्न नसकेको बताए । 

उनले भने, ‘यतिबेला सरकार के कारणले विभिन्न वेथितीहरु रोक्न सकिएन भनेर सोच्नुपर्ने थियो । जनताई सुनाउनुपर्ने थिएन । सुनाउने कुनै के काम गरेको छ ? सबै राजनीतिक दलसँग छलफलर परामर्श गरेर देशलाई कसरी सफल बनाउनुपर्छ भन्नेतिर लाग्नुपर्ने हो । प्रधानमन्त्रीले सम्बोधनमा जनतामा आशा जगाउने काम गरेको छु भन्नुभयो तर, जनतालाई आशा जगाउने एउटा पनि काम गरेको देखिँदैन् ।’

प्रधानमन्त्री बोलीमै रामाउनुभन्दा पनि काम हुन सक्नुको कारण खोज्नतिर लाग्दा आगामी दिन राम्रो हुने नेता भण्डारीको बुझाई छ ।

‘हिजोका दिनमा भ्रष्टाचार दुई÷चार जनाको बीचमा हुन्थ्यो । आज वडा अध्यक्षदेखि संघीय मन्त्रिपरिषदमा भ्रष्टाचारले जरो गाडेको छ । वडाअध्यक्ष डोजरमा काण्डमा फसेका छन् भने मन्त्री वाइडबडी काण्डमा मुछिएका छन् । यसलाई कसरी रोक्ने भन्नेतिर प्रधानमन्त्रीको ध्यान जानुपर्ने थियो । तर उहाँ त यो गरेँ त्यो गरेँ भन्दैमा सुन्दर समय खेर फालिरहेका छन् ।’ उनले भने ।

सरकारको एक वर्षको कामकारबाहीलाई कांग्रेसले फागुन ५ गते पत्रकार सम्मेल गर्दै पूर्ण रुपमा जानकारी दिने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप