शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साङ्गीतिक फाँटका सदाबहार जोडी भन्छन् : हाम्रो जीवन जहिले पनि भ्यालेन्टाइन

बुढाले ‘केटीसँग फोटो खिच्दा’ रिस उठ्ने, प्रोग्रामको पैसाले पार्टी गर्ने मनिला–उदयको लोभलाग्दो जीवन
बिहीबार, ०२ फागुन २०७५, १२ : १९
बिहीबार, ०२ फागुन २०७५

नेपाली संगीत क्षेत्रमा एउटा यस्तो जोडी पनि छ, जो संगीतको लागि मात्र नभई आदर्श प्रेम जोडीको रुपमा पनि परिचित छ । आफ्नो सफलताको जस दुवैले एकअर्कालाई दिन्छन् । जीवनका उकाली सङ्गै चढ्ने, ओराली सङ्ग सङ्गै झर्ने, एक अर्काका लागि मर्न पनि तयार हुने– यो जोडीको जीवनकथा हामी सबैको लागि प्रेरणा बन्न सक्छ । यो जोडीको जीवनका पलहरु केही संघर्षका कथा, केही प्रेमका मिठा अनुभूति र केही हास्य रसले भरिएका– बडो रोचक र रमाइला छन् । मायाले नाप तौल गर्दैन मायाले दिने मात्र रहेछ । यही कारण त उनीहरुको उपलब्धि नै मनिला र उदय सोताङ रह्यो ।

मनिलाको रिस पाँच/दश मिनेट भन्दा धेरै टिकेको छैन आजसम्म । तर, उदयको भने एक हप्तासम्म रिस नै जाँदैन । उनी रिसाएको बेला मनिला र छोराछोरी समेत नजिक जान डराउँछन् ।

हरेक दिन भ्यालेन्टाइन

भ्यालेन्टाइन फेब्रुअरी चौधमा नै मनाउनुपर्छ भन्ने छैन । मनिला उदयलाई बर्थ डे र भ्यालेन्टाइनमा गुलाफ दिने गर्छिन् । तर, उदयलाई कसैको बर्थ डे सम्झना नै हुँदैन । मनिला भन्छिन् ‘हाम्रो जीवन जहिले पनि भ्यालेन्टाइन नै हो । हामी खुसी छौँ ।’

उपहारमा चुरोट

विवाहभन्दा अघि पनि उनीहरुले भ्यालेन्टाइन मनाउने गर्दथे । उपहारमा मनिलाले पैसा र मिठाई पठाइदिने गर्दथिन् । कलेजको समयमा उदयले चुरोट तान्ने गर्दथे । मनिलाले चुरोट पनि पठाइदिने गर्दथिन् ।

गीत गाउँदा गाउँदै भेट

मनिला उदयको फ्यान हुन् पहिलेबाटै । एकदिन कन्सर्टमा मनिलाले उदयलाई देखिन् र भेट्न चाहिन् । एकअर्कासँग माया बस्यो । काममा पनि सङ्गै जान थाले । प्रोगाममा सङ्गै जाने । अभ्यास सङ्गै गर्ने । यसैकारण डेटिङ्ग जाने मतलब नै रहेन । विवाहभन्दा मायालु, आत्मीय, मित्रवत र विश्वासिलो सम्बन्ध अरु के होला र ? उनीहरु विवाह बन्धनमा बाँधिए । उदयबाट मनिलाले धेरै माया भने विवाहपछि नै प्राप्त गरिन् । त्यतिवेला उदय बल्ल एघार सक्दै थिए मनिला भने एस.एल. सी सकेकी थिइन् ।

एकअर्काको बानीसङ्ग रगरगमा परिचित

उदय भन्छन्– हामी एकअर्काको बानीसँग ‘रगरग’मा परिचित छौँ । उदयलाई मनिलाको एकाध बानीबाहेक सबै मनपर्छ । ‘ऊ मोटी छे, एक्सरसाइज गर्नै मान्दैन । रियाज गर्न पनि समय दिन्नन् । यो बानी मलाई मन पर्दैन’, उदय भन्छन् ।

मनिला हाँस्दै भन्छिन् ‘कहिले सिकाउने भए पो गर्नु । उहाँले मलाई कहिले सिकाउनु त हँुदैन ।’

मनिलाको केयरिङ, मायालु बानी, हतपत नरिसाउने स्वभावको फ्यान हुन् उदय । मनिलाको रिस पाँच/दश मिनेट भन्दा धेरै टिकेको छैन आजसम्म । तर, उदयको भने एक हप्तासम्म रिस नै जाँदैन । उनी रिसाएको बेला मनिला र छोराछोरी समेत नजिक जान डराउँछन् । कहिलेकाँही साथी भेटेपछि उदय घर आउनै भुलिदिन्छन् । यो बानी मनिलालाई पटक्कै मन पर्दैन । ‘घरबाट निस्केपछि आउदिनँ भन्न फोन गर्नुहुन्छ । म रिसाउँछु भन्ने लागेपछि साथीलाई फोन दिइहाल्नुहुन्छ । उहाँको साथीले भन्नुहुन्छ भाउजु आज दाइ हामीसँग हुनुहुन्छ नरिसाउनु है । त्यसपछि म राम्रोसँग रिसाउन पनि पाउदिनँ ।’

घरमा प्रेमिल वातावरण

राम्रो पक्षलाई मात्र लिने र नराम्रो पक्षलाई नलिने संस्कार सिकाएका छन् छोराछोरीलाई पनि । कुनै काम गर्नु अगाडि सबैलाई सँगै राखेर सल्लाह लिने गर्छन उदय ।

घरको माहोल नै साङ्गीतिक छ । छोराछोरीसँग सङ्गीतसँग जोडिएका मीठामीठा कुरा गर्ने गर्छन् । उनीहरु अरुका र नेगेटिभ कुरा प्राय गर्दैनन् । कुनै पनि मानिसको राम्रो र नराम्रो पक्ष त हुन्छ नै  । राम्रो पक्षलाई मात्र लिने र नराम्रो पक्षलाई नलिने संस्कार सिकाएका छन् छोराछोरीलाई पनि । कुनै काम गर्नु अगाडि सबैलाई सँगै राखेर सल्लाह लिने गर्छन उदय । सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, जुनसुकै परिस्थितिमा पनि एक अर्कालाई साथ दिने हो । त्यसैकारण होला उदयको हरेक काममा छायाँ बनेर मनिलाले साथ दिन्छिन् ।

रोजाइ उदयको, पकाइ मनिलाको

भान्साको काममा मनिलालाई नै बढी रुची लाग्छ । उदयलाई मनिला नै पकाएको खाना धेरै मन पर्छ । मनिलाले सधैं उनकै रोजाइमा खाना पकाउँछिन् । उदयलाई सबै खानेकुरा पकाउन आउँछ । उनी हाँस्दै भन्छन् ‘भात डढाउदिनँ । तरकारी डढाउदिनँ । नुन ठीक्क राख्छु । भान्सामा मैले खान मात्र हेल्प गर्छु ।’ अहिले मनिलाले उदयले पकाएको खाना मिस मात्र गर्छिन् । उदयलाई दैनिक कामबाट फुर्सद नै छैन ।

मायासँगै इर्ष्या पनि हुन्छ

एक अर्कामा माया मात्र भएर हुँदैन । मायासँगै इर्ष्या भन्ने चिज हुन्छ । त्यो सबैसँग हुन्छ । त्यसलाई अलि कम गर्नुपर्छ । उदयलाई इर्ष्या भएन भने माया कम हुन्छ भन्ने लाग्छ । तर सबैका श्रीमान–श्रीमतीमा जहिले पनि इर्ष्या हुन्छ । इर्ष्या थोरै गर्ने र त्यसलाई क्लियर गर्दै अगाडि बढ्नुपर्छ । उदयले जहिले पनि मनिलासँग कुरा स्पष्ट रुपमा राख्छन् । त्यसैले ठूलो झगडा भएकै छैन । दुवै विवाह गर्दाबाटै नै सङ्गै काम गरे । जीवन भोग्दै आए । मनिलालाई सुरु सुरुमा उदयसँग केटीहरु फोटो खिच्न आउँदा रिस उठ्थ्यो । उनी एउटा कलाकार हुन् । कलाकारलाई जसले पनि मन पराउँछन भन्ने आत्मानुभूति पछि उनलाई भयो  ।  विश्वास, प्रेम, बुझाइ हुनुपर्छ । त्यति भएन भने संगै अगाडि बढ्न गाह्रो हुन्छ भन्ने उदयलाई लाग्छ ।

जोक गर्ने बानी

मनिला भन्छिन् ‘म स्कुलबाटै गाउँदै आएँ । उहाँ पनि स्कुलबाटै गाउँदै आउनुभयो ।’

मनिला बोल्दा बोल्दै उदयले बीचमै जोक भन्न थाले ।

एउटा इन्स्पेक्टर गाउँमा गयो । गाउँमा दुईओटा काला र सेता बाख्रा देखेछ । इन्स्पेक्टरले बाख्रा मालिकलाई सोधेछ । यी बाख्रालाई के खान दिनुहुन्छ ? बाख्रा मालिकले भनेछ कालोलाई कि सेतोलाई ? इन्स्पेक्टरले भनेछ सेतोलाई । बाख्रा मालिक भनेछ, हामीले खाएर बाँकी रहेको भात र दाना दिन्छु । इन्स्पेक्टरले सोध्यो– कालोलाई नि ? अनि कालोलाई पनि बाँकी रहेको भात र दाना दिन्छु भनेछ । इन्स्पेक्टरले भनेछ– तपाईले यसलाई कहाँ चराउन लिएर जानुहुन्छ ? बाख्रा मालिकले भनेछ कालोलाई कि सेतोलाई ? इन्स्पेक्टरले भनेछ– कालोलाई । बाख्रा मालिकले उत्तर दिएछ– चौरमा । अनि इन्स्पेक्टरले फेरि सोध्यो– सेतोलाई ? सेतोलाई पनि त्यही चौरमा ।

उदय यो जोक भन्दै हाँस्छन् र भन्छन् ‘मनिलाले जोक जस्तै गरी भनिन्– म स्कुलमा गाउँदै आएँ, उहाँ पनि स्कुलबाटै गाउँदै आउनुभयो ।’

मनिलालाई सुरु सुरुमा उदयसँग केटीहरु फोटो खिच्न आउँदा रिस उठ्थ्यो । उनी एउटा कलाकार हुन् । कलाकारलाई जसले पनि मन पराउँछन भन्ने आत्मानुभूति पछि उनलाई भयो ।

संगीतलाई नै जीवन

उनीहरुले संघर्षको साथसाथै  संगीतलाई नै जीवन बनाए । अहिले पनि सँगै गाउँछन् । उदय भन्छन्, ‘हामी संगीतभन्दा बाहिर जानै सक्दैनौँ ।’ संगीतमा नै उनीहरुले पूरा जीवन बिताएका छन् – सिकेर होस्, सिकाएर होस्, गाएर होस वा पेशा बनाएर होस् ।

उदय मनिला अब एउटा नाम मात्र नभएर युगल गायनको प्रतिक बनेर बसेका छन् स्रोता र दर्शक माझ ।

अरुसँग विवाह भएको भए यहाँसम्म आउन सक्दैनथ्यौं

उदयलाई अरुसँग विवाह भएको भए यहाँसम्म आउँदैनथ्यौं होला भन्ने लाग्छ । पे्ररित हुने भनेको एक अर्काअर्काको साथ हो । साङ्गीतिक यात्रामा जसरी साथ हिँड्ने मौका पाए, त्यही नै उनीहरुको लागि प्रेरणा पनि बन्यो । मनिलालाई पनि अन्तै विवाह भएको भए ‘हाउसवाईफमा सिमित हुन्थें कि’ भन्ने लाग्छ । सुरुमा उनीहरुले रेडियोबाट गीत सुनेर गीत सिके । रेडियो पनि घरमा थिएन । अरुको घरमा गएर सुन्नुपर्ने अवस्था थियो । एकदिन सिक्यो, अर्को दिन कपीमा सार्यो, तेस्रो दिन सिक्यो । आफ्ना दाइ, गाउँको माहोल र गायक गोपाल योञ्जन उदयको अर्को प्रेरणाको स्रोत हुन् । उनलाई गोपाल योञ्जनको पदचापमा हिँड्न मनपर्थ्यो ।  योञ्जनको दक्षताले उनलाई आकर्षण गर्यो । मनिलाले भने काकाबाट संगीत सिकिन्  । काका एकदम राम्रो गाउने । विवाह भएपछि उदयसँगै थप सिकिन्, आफ्नो गायनकलालाई परिष्कृत र परिमार्जन गरिन् । उदयले नै उनलाई सबै सिकाइदिए । संघर्ष पनि त्यति बेसी गर्नु परेन उनलाई । अहिले घरमा पकाएर खाना तयार मनिलालले गरिदिन्छिन् भने संगीतको क्षेत्रमा वातावरण तयार गरिदिने काम उदयले गर्छन् ।

झझल्को झझल्को नै बनेर रह्यो

सुरुमा काठमाडौँ आएपछि निकालेको एल्बम ‘झझल्को’ हो । त्यो झझल्को नै भएर गयो । जुन कम्पनीमा रेकर्ड गरेका थिए, त्यो कम्पनी नै कोल्याप्स भयो । दोस्रो ‘दर्पण छायाँ’ हो । नेपालको पहिलो सिडि नै त्यही थियो । भोकल हालेर गरेको पहिलो सिडी थियो त्यो । दुवै चलेन । त्यो सकेपछि तेस्रो एल्बममा ‘मुस्कान’ जुनमा अधिबाटो, माया नमार, कहाँ पोखिन्छ आशुँ आदि गीतहरु थिए । जुन गीतलाई दर्शकले अत्यधिक मन पराए ।  दुवैजनाको जोड्दा एघार ओटा एल्बम निक्ल्यो । त्यसपछि मनिलाले तीस र उदयले डेढ सय जति गीत रेकर्ड गराए ।

बाबुको गुण छोरीमा

छोराछोरीमा बाबुको पनि गुण छन् । आमाको पनि अवगुणहरु रहेका छन् । छोरी श्रेयामा मनिलाको गुण छ । विरासतमा पाएको गुण । छोरीको अवगुण भनेको उनले पनि आमाले जस्तै अभ्यास गर्दिनन् । छोराको बानी उदयको जस्तो छ । एउटा कुरामा लागेपछि दिनभरि लाग्ने, दुवैलाई सिक्नुपर्ने, अभ्यास गर्नुपर्ने । भएको कलालाई अझ माझेर परिष्कृत पार्नुपर्ने । । मनिलाको छोरामा सरेको गुण कसैलाई मन दुखाउन नचाहनु हो । छोरा कसैलाई  नाइ भन्न नसक्ने । छोरीको बानी उदयसँग मिल्ने । छोरी हँुदैन भनेपछि हुँदैनमा अडिग रहन्छिन्  ।

जे गर्नुछ आजै गर्नुहोस्

उदय वर्तमानमा रमाउँछन् । जे गर्नुछ आजै गर्नुपर्छ भन्ने सोच राख्छन् । भोलि कसले देखेको छ ? के थाहा भोलि म हुन्छु वा हँुदिन ? जे गर्नुछ आजै गर्नुहोस् भविष्यको चिन्ता नलिनुहोस् भन्छन् उदय ।

प्रोग्रामबाट आएको पैसाले पार्टी गर्छौं

उदय भन्छन्– 'जिन्दगी सुखदुख चलिरहेको छ । विजनेसम्यान होइनौँ हामी । कहिलेकाहीँ ऋण लिएर काम गर्छौं ।' समय समयमा प्रोगामबाट पैसा आउँदा खुसी भएर पार्टी पनि गर्छन उनीहरु । गर्जो पर्दा साथीभाइसँग मागेर पनि  काम चलाउँछन् ।

इन्टरनेटलाई पनि गुरु बनाउन सकिने

उदयको समयमा अहिले जस्तो इन्टरनेट थिएन । स्कुल थिएन । मोवाइल थिएन ।  तर अहिले समय बदलिएको छ । उदय भन्छन्–  ज्ञानआर्जन गर्ने धेरै विकल्प छन् । हिजो हामीले गरेजस्तो धेरै मिहिनेत गर्नुपर्दैन । अबको पुस्ता समयअनुसार चल्नुपर्छ ।’ ‘संगीतमा लाग्नेले संगीतको ज्ञान पनि लिनुपर्छ’ भन्ने विचार राख्ने उदय उदाहरण दिँदै भन्छन्– ‘छिमेकी राष्ट्रका बच्चाहरुले पनि राम्रो गीत गाउँछन् । किनभने उनीहरु ट्रेनिङ लिन्छन् । त्यहाँका बाबुआमा पनि सजग छन् । त्यो प्रवृत्ति हामीले पनि बसाल्नुपर्छ ।’

‘रहरले मात्र गीत सङ्गीतमा पोख्त हुन नसकिने’ बताउँदै उदय भन्छन्– ‘अलिकति शिक्षाको वातावरण बनाउनुपर्छ । त्यत्तिकै गीत गाउँछु भनी रहर गरेर मात्र हुँदैन । गीत गाउनु अगाडि त्यसका आधारभूत कुराहरु जान्नुपर्यो । सुरताल थाहा हुनुपर्यो । संगीत के हो थाहा हुनुपर्यो । यी कुराहरुले धेरै फरक पर्छ ।’ नयाँ आउने पुस्तालाई उदयको सल्लाह छ, ‘शिक्षा लिनुस् । आफूलाई अगाडि बढाउन सजिलो हुन्छ । अहिले शिक्षा लिन सजिलो छ । इन्टरनेटलाई पनि गुरु बनाएर केही हदसम्म सिक्न सक्छौँ ।’’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता न्यौपाने
सुनिता न्यौपाने
लेखकबाट थप