मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौँमा  कोठाभाडा : नीतिगत व्यवस्थाको खाँचो

सोमबार, १६ साउन २०७४, १२ : ४०
सोमबार, १६ साउन २०७४

काठमाडौँ, नेपालको राजधानी सहर, जहाँ हरेक जिल्लाका मान्छे आफ्नो उच्च शिक्षादेखि भविष्य निर्माण जस्ता महत्वाकाङ्क्षी योजना र केही बाध्यात्मक परिस्थितिले आएका छन् । काठमाडौँमा आधुनिक घरहरू बनाउने प्रवृत्ति बढ्दो छ ।

यहाँ सुविधा सम्पन्न फ्ल्याट त बन्छन् तर निम्न मध्यम वर्गीय आय भएका र भर्खरै गृह जिल्लाबाट काठमाडौँ आएकाहरूलाई यस्ता ठूला र महँगा फ्ल्याटहरूमा बस्नु ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ हुन्छ । यसले गर्दा त्यस्ता निम्न–मध्यम वर्गीय व्यक्तिहरूका लागि काठमाडौँमा आवास एउटा चुनौती बन्दै गएको छ । 


केन्द्रमा जनसङ्ख्याको चाप बढी हुनु नेपाल जस्तो विकासशील मुलुकको राष्ट्रिय समस्या हो । काठमाडौँलाई नियाल्दा कोठा खोज्ने विभिन्न व्यक्ति तथा संस्थाहरू त भेटिन्छन् तर पछिल्लो समयमा ती संस्था तथा व्यक्तिबाट पनि सोचेजस्तो काम भइरहेको छैन । बर्सेनि बढ्ने घरभाडाले पनि बाहिरी जिल्लाबाट आउने मानिसलाई बस्न धौधौ बनाएको छ । यससँग सम्बन्धित फितलो कानुन पनि खास प्रयोगमा आएको देखिँदैन त्यसैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दुवै घरबेटी र भाडादार मर्कामा छन् । यहाँ कोठा खोज्नका लागि हप्तौँसम्म गल्लीगल्ली चहार्नुपरेको मानिसहरू बताउँछन् ।

हुन त काठमाडौँमा कोठाको प्रकृति छुट्याएर फ्याटमा बस्ने यति जनसङ्ख्या र कोठामा बस्ने जनसङ्ख्या यति भनेर निक्र्याेल गर्न सकिने एकिन तथ्याङ्क त छैन तथापि महँगो फ्ल्याटहरू पाउने तर सामान्य कोठा नपाउने अहिलेको जल्दोबल्दो समस्याका रूपमा रहेको छ । विशेषगरी, उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आउने विद्यार्थीहरू कोठा नभेटिने समस्याबाट बढी प्रभावित छन् । बाहिरबाट आएर यहाँ बसेर पढ्ने पढ्ने विद्यार्थी बसाइ व्यवस्थापन नमिल्नाले कठिनाइ भोगिरहेका छन् ।


आवास व्यक्तिको न्यूनतम आवश्यकता हो ।  सरकारी आँखीझ्यालबाट पनि यस क्षेत्रमा अध्ययन हुन जरुरी छ । व्यवस्थित सहरीकरण र आवास आजको आवश्यकता हो । कोठाभाडा दर निर्धारण र भाडा वृद्घिसम्बन्धी न्यूनतम परिधि बनाउन सरोकारवाला निकायले समयमै ध्यान पुर्याउनु जरुरी छ । घरधनीले पनि बर्सेनि बिनाकारण घरभाडा बढाउने र अनावश्यक चर्को भाडादर कायम राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ साथै भाडामा बस्ने व्यक्तिले पनि आफ्नो नैतिकतामा आडिनु आवश्यक देखिन्छ । यसरी तीनै पक्ष अर्थात् घरधनी, भाडादार र अनुगमन पक्षबीच समन्वय र आफ्नो कार्यप्रति आत्ममूल्याङ्कन गर्ने र विवेकशील बन्ने हो भने यस्ता समस्या न्यूनीकरण भएर जान सक्छन् ।


समग्रमा केन्द्रमा मानिस थुप्रिने प्रवृत्तिले काठमाडौँमा नवआगन्तुकका रूपमा आएका नागरिकलाई समस्या पारेको छ । यसका लागि व्यवस्थित प्रणाली बनाएर अगाडि बढ्नुको विकल्प वर्तमान सन्दर्भमा अरू देखिँदैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप