शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिपिएल: काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

बुधबार, ०१ फागुन २०७५, १८ : ५२
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित निकाल्दा धनगढी स्टार्सले भने लगतार तेस्रो हार बेहोरेको छ ।  बुधबार भएको खेलमा काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई सात रनले हरायो । जारी प्रतियोगितामा महेन्द्रनगरको यो दोस्रो हार हो । धनगढीको फाप्ला मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । 

बुधबार पनि कमजोर सुरुवात गरेको काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले १४ रन, मेहबुब आलमले १३ रन बनाए । अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धसतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । अंकितले अविजित ६५ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजित २२ रनको योगदान गरे । बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिएका थिए ।

जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनमा रोकियो । महेन्द्रनगरले पनि सुरुवात राम्रो खेल्न भने सकेन । महेन्द्रनगरले ५० रन पूरा गर्दा चार विकेट गुमाएको थियो । कप्तान शरद भेषावकर पनि २३ रनमा आउट भएका थिए । एकपछि अर्को विकेट गुमाएको महेन्द्रनगरले ८७ रन बनाउँदा सात विकेट गुमाएको थियो ।

त्यसपछि सिद्धान्त लोहनी र अमरसिंह रौटेलाले ४७ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याएका थिए । जसमा अन्तिम ओभरमा जितका लागि महेन्द्रनगरलाई १२ रनको आवश्यकता रहेपनि हारलाई टार्न सकेनन् ।

यस्तै बुधबार नै भएको अर्को खेलमा विराटनगर किंग्ससले घरेलु टिम धनगढी स्टार्सलाई पराजित गरेको थियो । धनगढीको लगातार तेस्रो हार हो भने विराटनगरको पहिलो जित ।

विराटनगरले धनगढीलाई २१ रनले पराजित गर्यो । हारपछि धनगढीको प्लेअफको सम्भावना निकै कठिन भएको छ । फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै १०३ रन बनायो । करण केसीको कप्तानीमा रहेको विराटनगरले निकै खराब सुरुवात गरेको थियो ।

उसले मात्र दुई रनमा ओपनर हरिशंकर शाहलाई गुमायो । त्यसपछि १२ रन हुँदा अर्का खेलाडी कुशल भुर्तेल पनि मात्र ६ रनमा आउट भएका थिए । असाद पठान तीन रनमा आउट भए । त्यसको केही बेरपछि राजेश पुलामी पनि मात्र एक रनमा आउट भएपछि विराटनगर निकै दबाबमा आयो ।

धनगढीको बलिङका अगाडि दबाबमा रहेको विराटनगरका अविनाश यादवले सर्वा्धिक २७ तथा कप्तान करण केसीले २१ रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए । बलिङमा धनगढीका विपीन खत्री र सोमपाल कामीले तीन–तीन विकेट लिए ।

जवाफमा धनगढी १८ ओभर ५ बलमा ८२ रनमा अलआउट भयो । फितलो ब्याटिङ गरेको धनगढीको ब्याटिङ बुधबार पनि कमजोर देखियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप