सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवस मनाउँदा कसैलाई घाटा हुँदैन

बुधबार, ०१ फागुन २०७५, १२ : ३८
बुधबार, ०१ फागुन २०७५

विश्वका सर्वहाराहरुले गरिब किसान तथा उत्पीडित वर्ग समूदायसँग मिलेर सामन्ती पूँजीवादका विरुद्द बल प्रयोगमा आधारित वर्गसंघर्षबाट आफ्नो आजादी प्राप्त गर्न सक्छन् भन्ने माक्र्सवादको निचोड हो । 
पूँजीवादीहरु उत्पीडित वर्ग समूदायका मान्छेहरुलाइ कजाएर आफ्नो स्वर्गको राज्य सधैं चलाइराख्न चाहान्छन् ।

त्यसैले उनीहरु सर्वहारा र शोषित वर्गको हातमा सजिलै अधिकार दिन किमार्थ तयार हुँदैनन्। त्यसैले शोषित वर्गले सम्झौताहीन संघर्षबाट मात्र  आफ्ना अधिकार प्राप्त गर्न सक्छन् । 
 

       यसै सिद्धान्तमा टेकेर मार्क्सले पेरिस कम्युनको स्थापना गरे र थोरै समयका लागि मजदुर वर्गको हातमा अधिकार लिन सफल भए । भलै त्यसलाइ दीर्घकालीन रुपमा टिकाइराख्नमा भएका कमजोरी या  तयारीको समीक्षा गरियो । मार्क्सवाद एक अकाट्य विज्ञान  हो । तर राज्य व्यवस्था परिवर्तन या अधिकार प्राप्तिको सिद्दान्त जड हुँदैन भनिएको छ । अथवा देशकाल र परिस्थितिअनुसार क्रान्तिको नियम परिवर्तनशील हुन्छ ।

यसैमा टेकेर रुसमा लेनिनले मजदूर विद्रोहबाट जारशाहीलाइ परास्त गरे र समाजवादको दरिलो र भरिलो जग बसाले । यसले विश्व पूँजीवादको सातो गयो भने विश्व सर्वहारा र शोषित वर्गको मनोवल उच्च भयो । यसको प्रभाव विश्वभरी पर्ने क्रममा  चीनमा माओले मार्क्सवाद र लेनिनवादलाई विकास गर्दै अर्ध औपनिवेशिक र अर्ध सामन्ती राज्यमा ग्रामीण किसान वर्गलाइ संगठित गरी गाउँबाट शहर घेर्ने सशस्त्र छापामार युद्ध रणनीतिमा आधारित वर्गसंघर्षबाट अधिकार या राज्य सत्ता प्राप्त गर्न सकिने सिद्धान्त प्रतिपादन गरे र आफ्नै जीवनकालमा सफलतापूर्वक लागू गरे ।

      यसको प्रभाव छिमेकी भारत, फिलिपिन्स लगायत हाम्रो देश नेपालमा पनि पर्यो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो ।  मार्क्सवाद परिवर्तनशिल छ भन्ने सिद्दान्तलाई आफूअनुकूल ब्याख्या गर्दै विभिन्न गुट उपगुटमा विभाजन हुने रोग नेपाली कम्युनिस्ट आन्दोलनको सुरुवातीको दुर्भाग्य भयो । एकले अर्कालाई आरोपित गर्ने र आफूलाईमात्र खाँटी कम्युनिस्ट भन्ने कम्युनिस्ट प्रवृत्ति  बन्यो । जसले गर्दा अहिलेसम्म पनि सबै कम्युनिस्ट एक हुन नसकिरहेको अवस्था छ ।  यदी  टुटफुट हुन्थेन भने नेपालमा कम्युनिस्ट  राजनीति प्रतिको जनआकर्षण हेर्दा धेरै पहिले कम्युनिष्ट व्यवस्था प्राप्त हुन सक्ने सम्भावना बलियो थियो।
     

    यसै क्रममा २०२८ सालमा तत्कालीन नेकपा मालेले नेपालको पूर्वीभागबाट  सशस्त्र विद्रोहको सुरुवात गर्यो । तर त्यतिबेला अन्य गुटले ‘अपरिपक्व निर्णय’ भनेर उसलाई आरोपित गरे। त्यतिबेला सशस्त्र विद्रोहको विपक्षमा त कुनै समूह थिएनन् तर समय परिस्थिति नबनेको भनेर उन्मुक्ति लिए। 

खासमा २०२८ सालमा नै सबै कम्युनिष्टहरु एकजुट भएर गरेको भए अहिलेसम्म परिस्थिति धेरै अघि पुगिसक्थ्यो । सानो समूहले सुरु गरेको भएर सामन्तवादी सत्ताले त्यसलाई सिध्यादिन सजिलो मान्यो र महान शहिदहरु रत्न बान्तवा, कृष्ण कुइकेल धिरेन राजबंशी लगायतका कयौं  होनहार युवाहरुलाई हत्या गरिदियो ।

 सुराकी  सहयोगमा केपी ओली लगायतका कयौंं नेतालाइ हिरासतमा लिइयो । र, अन्त्यमा त्यो विद्रोह सिद्दिए जस्तै त भयो तर भित्रभित्र सहिदको रगत उम्लिरह्यो । फलस्वरुप २०४६ सालको जनआन्दोलनमा तत्कालिन वाममोर्चा सबभन्दा ठूलो कम्युनिष्ट पार्टी देखियो ।०४८ सालमा बिभिन्न  समूहको एकताबाट नेकपा एमाले बन्यो ।  तर त्यसले मार्क्सवादको सिर्जनशीलता भन्दै राजासहितको संसदीय व्यवस्थाबाटै राज्य सत्ता प्राप्त गर्न सकिने तर्क अघि सार्यो । जो त्यतिबेलाको नेकपा एकताकेन्द्रपछिको माओवादीले अस्वीकार गर्यो । 

 माओवादीले नेपालजस्तो अर्धसामान्ती र अर्धऔपनिवेशिक मुलुकमा चीनमा जस्तै माओको मोडेलमा क्रान्ति  गन सकिन्छ भन्दै जनयुद्दमा जाने निर्णय  गर्यो । 

त्यसबेलासम्म पनि मोहनबिक्रम सिंहको  नेकपा मसाल परिस्थिति नभएको तर्क गर्दैथियो र उसले एमालेले अबलम्बन गरेको संसदीय व्यवस्थाबाटै सुधार गर्ने कार्यनिति पनि ठिक छैन भन्थ्यो ।  जनयुद्द सुरु गर्न पनि समय नभएको तर्क गथ्र्यो । यहाँ भन्न खोजेको के भने त्यसबेला पनि धेरै समूहमा विभाजित कम्युनिस्ट आन्दोलनको ब्याख्या सबैले आ–आफ्नै अनुकूलतामा गरे र एक हुन सकेनन् । जसले गर्दा न संसदिय व्यवस्थावालाले वर्चश्व बनाउन सके न सशस्त्र संघर्षवाला अथवा जनयुद्दवालाले सत्ता हत्याउन सके। 
 

      यसरी टुटफुट र गुटको दलदलबाट अघि बढेको कम्युनिस्ट राजनीतिमा थोरै संख्याले पनि साहस साहसका साथ झापा विद्रोह  तथा त्यसपछि योजना बद्द तरिकाले सुरु गरि राज्यको अधिकांश भूगोल र प्रशासन समेत कब्जा गर्न सफल भएको जनयुद्द  बहुचर्चित र स्थापित रहे।
 

     अहिले आएर देशकै दुई ठूला कम्युनिस्ट पार्टीहरु तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रलाई देशकाल र परिस्थितिले एकताबद्द हुन प्रेरित गर्यो ।
वस्तुस्थितिको सही मुल्यांकन गर्दै नेताहरुले अवसर र चुनौतीका बीचबाट एकताको प्रारम्भ गरेर टुटफुट र गुटको राजनीतिबाट आजित तर कम्युनिष्ट राज्यव्यवस्था प्रेमी नेपाली जनताले एकतालाई दिलैदेखि अनुमोदन गरे र आम चुनानमा अत्यधिक मतले विजयी बनाए ।
 

     यसक्रममा कसका कति कमजोरी रहे या सवल पक्ष रहे त्यो निस्वार्थ सर्वहारावादी दृष्टिबाट समालोचना गरिनु आवश्यक हुन्छ । तर जब हामी एकतालाई अपरिहार्य  ठान्छौँ तब एक अर्काका कमजोर पक्षलाई बिर्सिन्छौ । सबल र असल पक्षलाइ आत्मसाथ गर्छौं । यो एकता प्रक्रियाको आमनियम नै हो। यदि त्यसो गर्न सकिएन भने एकता प्रक्रियाले भावनात्मक रुपमा पूर्णता पाउन सक्दैन ।
     

  यहाँ चर्चा खोजेको सन्दर्भ केहो भने नेकपाले जनयुद्द दिवस मनाउने विषयमा हो। जब एकताको कुरा उठ्यो तब माओबादी पक्षका आम समर्थकदेखि नेतासम्मलाई जनयुद्ध, त्यसका सहिद र उपलब्धी के हुन्छ भन्ने थियो । जसलाइ पूर्ण  निर्णय नगरी विस्वासका बलमा नेतृत्वले पेलेर लग्यो। कतिपय नेता कार्यकर्ता एकता प्रक्रियामा  सहभागी पनि भएनन् । यदि सुरुमै जनयुद्धका कतिपय कमजोरीको समीक्षा गर्दै ०६२–०६३ को जनआन्दोलनको आधार जनयुद्द थियो र त्यसको उपलब्धिलाई नेकपाले आत्मसाथ गर्ने छ र सहिद,  घाइते अपाङ्ग नेकपाका साझा हुने छन् भनेर दस्तावेजमा लेखिदिएको भए थप अरु माओवादी सायद वैद्य समूह पनि एकतामा आउने सम्भावना बलियो थियो । अहिले दुइतिहाईका लागि उपेन्द्र यादवको सहायता लिन पर्ने थिएन ।
   

   हामीले एकता गरेर पदीए स्वार्थ मात्र हेर्ने, एकपटक सरकार बनाउने बाँडीचुँडी खाने र अर्को पटक देखाजाइगा भन्ने खालले काम गरियो भने न त यो एकता दीर्घकालीन हुन्छ न त देशविकास र समृद्धिमा जान्छ। 

हुन त के पर्छ भने निस्वार्थ भावले पार्टीलाइ एकताबद्ध गर्ने, सरकारमा हुनेहरुले सरकारलाई पूर्ण रुपमा जनमुखी बनाउने, विकास र समृद्धिलाई छिटो उठाउने, पार्टी संचालकहरुले जनतालाई कम्युनिष्ट  बनाउने, कार्यकर्तालाइ निस्वार्थ क्रान्तिकारी  बनाउने र पार्टीलाई सशक्त बनाउने तिर लाग्नुपर्छ ।

 यदि यसो गरिएन भने अर्को चुनावमा काँग्रेस–कम्युनिस्ट  बराबरी, सायद  फेरि पनि सबैको अल्पमत र अस्थायी सरकार बन्ने अवस्था नआउला भन्न सकिन्न ।
       त्यसैले सबभन्दा पहिले पार्टीलाई भावनात्मक रुपमा एकीकृत गर्नु मुख्य काम हो । त्यसो गर्न हिजोको कहाँ थियो, कसले के गर्यो भन्नु भन्दा पनि हिजोका एक पक्षले आत्मसाथ गरेका कुराहरुलाई

सकरात्मक दृष्टिकोणले हेर्ने र साझा रुपमा ग्रहण गर्न संकोच नमान्ने गर्न निकै जरुरी हुन्छ।

 हिजोको झापा विद्रोह र पछिको जनयुद्ध यी चानचुने परिघटना थिएनन् यी परिघटना स्थापित हुनमा अहिलेका नेता कार्यकर्ता र जनताको पनि उत्तीकै हात थियो । तर प्रमुख भूमिका तिनीहरुको थियो, जसले हाँसीहाँसी जीवन दिए । 

जनयुद्ध दिवस मनाउनु भनेको अहिलेका कुनै नेतालाई मान्नु हुँदैहोइन ।

बाँचेकाहरु त आफ्नो प्राप्त उमेर अवधि पार नगरी जस पाउन लायक हुँदैनन्। आफ्नो उमेर अवधिसम्म नचुकेर राम्रो गर्न सके इतिहासले समेट्छ नसके हुत्याइदिन्छ। 

जनयुद्ध या कुनै पनि राजनैतिक परिघटना सम्झिनु या मनाउनु भनेको त्यस परिघटनामा जीवन उत्सर्ग गर्ने सहिदहरुलाई सम्मान गर्नु मुख्य कुरा हुन्छ। सहिदहरु तेरा मेरा हुँदैनन् । देश र जनताका लागि जीवन दिने व्यक्ति सबैका साझा हुन्छन् । जनयुद्दका सहिदहरु भनेका त अझ राज्यका सहिदको रुपमा बाह्रबुँदे सहमतिबाट स्थापित कुरा हो । त्यसबेलाको परिस्थितिमा ती सहिदको महत्व धेरै थियो र कम्युनिष्ट  विरोधी काँग्रेस अथवा गिरिजाप्रसाद कोइरालाले पनि यो कुरा मानेर जनयुद्धमा ज्यान गुमाउने सबैलाई सहिद घोषणा गरिएको थियो । 

 अब त झन् दुई ठूला कम्युनिष्ट पार्टी एकै भइसकेपछि सम्पूर्ण  शक्ति उत्साहका साथ लाग्नु छ । हिजोका तिता र अमिला कुरा सबै बिर्सिनु छ। आन्दोलन हा । सत्ता पक्षा र विद्रोहीबीचको संघर्ष हुँदै गर्दा कतिपय अप्रिय  घटनाजरु त्यतिबेला सत्तामा रहेको पक्षबाट पनि भए । विद्रोहीबाट पनि भए ।

 ती सबैलाइ बिर्सेर हामी धेरै अघि बढिसकेका छौं । भावनात्मक एकताको प्रक्रियामा छौं। त्यसका लागि जनयुद्धलाईसबैले उपलब्धिको पाटोबाट हेरेर उत्साहपूर्ण दिवसको रुपमा मनाउँदा कुनै पनि घाटा हुँदैन बरु आम कार्यकर्तामा उत्साह आउने छ ।  कम्युनिष्ट पार्टी  सशक्त बन्ने छ। सहिद घाइते अपाङ्गका सम्पूर्ण परिवार कम्युनिस्ट पार्टीप्रति विस्वस्त हुनेछन् । ती भनेका कम्युनिष्टका स्थायी शक्ति हुन्, जबकी हिजो ठूलो पार्टी देखेर मन्त्री  पाउने आशमा करोडां चन्दा बुझाइ सांसद बनेका कोही सांसदहरु भोलि परिस्थितिसँगै बदलिन पनि बेर लाउँदैनन् ।

        धेरै भन्दा धेरै जनता समेट्ने, धेरै भन्दा धेरै निस्वार्थ कार्यकर्ता तयार गर्ने र समाजवादका अवयवहरु स्थापित गर्दै अघि बढियो भनेमात्र समाजवादको नाराले सार्थकता पाउन सक्छ। 
 

एकले अर्कालाई विस्थापित गर्ने, जनयुद्द दिवस मनाए  एक पक्ष उफ्रिने नमनाए अर्को पक्ष उफ्रिने गर्न थालियो भने न त जनता आकर्षित हुन्छन् न त कार्यकर्ता उत्साहित हुन्छन्। हिजो जनयुद्धमा नगएका साथीहरुले जनयुद्ध दिवससँगै मनाए हिजोसँगै लडेको साथी भन्दा पनि प्रिय  देखिन्छ । झन् घनिष्ट  भैदिन्छ । तब  त्यस्तो भावनात्मक एकतालाई कसैले तोड्न सक्दैन। हैन भने  खडेरी परेको परालमा आगो झोस्नेहरुले मज्जाको अवसर पाउने छन् र समृद्धि, विकास र समाजवादको नारा पनि एकादेशको कथा हुन सक्छ । त्यसैले सबै मिलेर  पुष्पलाल स्मृति दिवस, मनमोहन, मदन आश्रित स्मृती, झापा विद्रोह दिवस, सुखानीका सहिदको सम्झना, जनयुद्ध दिवस लगायतका कयौं  यस्ता  दिवसलाई एकसाथ मनाइनु पर्छ । 

 आमजनतामा भावनात्मक एकताको सन्देश प्रवाह गरिनुपर्छ । यसो गरिए पार्टीलाई सशक्त र सरकारलाई  पनि प्रभावकारी बनाउन सहयोग पुग्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हर्क सिंह के.सी.
हर्क सिंह के.सी.
लेखकबाट थप