मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मदन पुरस्कार विजेता राधा पौडेलको दोस्रो कृति ‘अपवित्र रगत’ सार्वजनिक

मङ्गलबार, २९ माघ २०७५, १९ : २२
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं–मदन पुरस्कार विजेता लेखक राधा पौडेलको दोस्रो कृति ’अपवित्र रगत’ मंगलबार राजधानीमा विमोचन भएको छ । सामाजिक अभियन्ता राधा पेशाले नर्स हुन् । 

आफुले भोगेका र समाजमा देखिएका पीडालाई लेखक पौडेलले ‘अपवित्र रगत’ मा समावेश गरेकी छिन् । विगत लामो समयदेखि महिनावारीबारे जनचेतना फैलाउँदै समाज परिवर्तनको बाटोमा अग्रसर पौडेलले महिनावारीको रगत पवित्र भएको बारे सवैले जान्नु पर्ने बताईन् । 

पौडेलले भनिन् ‘यो केटी कर्णालीतिर डुल्छे क्यार ! कर्णालीका दुःख त लेखेकी होला भन्ने कुनै पूर्वाग्रहका साथ पुस्तक नपढिदिनुहोला, यो किताबमा हाम्रा हरेक छोरीचेलीको कथा छ । सुन्दा सामान्य लाग्ने तर समाजको जटिल समस्या हो यो ।’

‘अपवित्र रगत’ बारे टिप्पणी दिँदै पूर्वन्यायाधीश अनुपराज शर्माले ’आफ्नो पीडा पीडितले नै लेख्नुपर्छ’ भन्ने किताबले उदाहरण दिएको बताए। ‘यो किताब पढ्दा राधा पौडेल एक विद्रोहीको रुपमा देखिन्छ। समाजमा भएको रुढीवादीमाथि उनले विद्रोह गरेकी छन्,’ उनले भने।

पुस्तकका बारेमा बोल्दै पूर्व प्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलाको शरीरको अधिकार उनीहरुलाई नै हुने बताए । आफ्नो पीडा पीडितले नै लेख्नु पर्ने भन्दै शर्माले परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताए ।

किताब पढ्दा राधा पौडेल एक विद्रोहीको रुपमा आफूले पाएको र समाजमा जरो गाडेर बसेको रुढीवादलाई न्यूनीकरण गर्न यो कितावले सहयोग गर्ने विश्वास शर्माले व्यक्त गरे । शर्माले परिवर्तनको लागि कुनै हुलको जरुरी नहुने र एक्लो बृहस्पतिले पनि काम गर्न सक्ने बताए ।

शर्माले भने, ‘विश्वविद्यालयको डिग्रीले मात्रै हुँदैन, तपाईंको सोच परिवर्तनकारी छ कि छैन भन्ने कुराले महत्व राख्दछ । छाउ हुनुलाई अभिभावकले सामान्य र प्राकृतिक हो भनेर आफ्ना छोरीहरुलाई जानकारी दिनुपर्छ ।’

राधाले अनुसन्धानका क्रममा विभिन्न ठाउँमा भेटिएका महिनावारीका कथालाई समेटेर किताब तयार पारेकी हुन् । पौडेलले संचालनमा ल्याएको संस्था ‘मितेरी जैविक स्यानिटरी प्याड’ ले जैविक स्यानिटरी प्याड उत्पादन गर्दै आएको छ । हाल यो स्यानिटरी प्याड परीक्षणकै क्रममा छ । 

नेपालमा महिनावारीलाई ’पाप’ को संज्ञा दिनेको कमी छैन । नेपालका केही भेगमा महिनावारीको समय छाउ गोठमा बस्ने चलनले गर्दा धेरै महिलाले ज्यान समेत गुमाएका छन् । विभिन्न ठाउँका महिनावारीका कथाहरु समेटेर राधाले आफ्नो दोस्रो कृति  सार्वजनिक गरेकी हुन् । 

‘अपवित्र रगत’लाई काठमाण्डौ पब्लिकेशनले प्रकाशित गरेको छ, जसको मूल्य ३५० रुपैयाँ रहेको छ । राधा पौडेलको पहिलो कृति ‘खलंगामा हमला’ले मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप